त्रिशूली बस दुर्घटना: दुई जनाको शव भेटियो, शनिवार साँझ खोजी रोकिँदासम्म बस र अरू यात्रुको अवस्था अज्ञात

नारायणी नदीमा फेला परेको शव
    • Author, ईश्वर जोशी, सिमलताल र अशोक दाहाल, काठमाण्डू
    • Role, बीबीसी न्यूज नेपाली

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस खसेपछि हराएका यात्रुहरूमध्ये शनिवार साँझसम्म दुई जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

ती एकजना भारतीय र एकजना नेपाली रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। अरू यात्रुको अवस्था अज्ञात छ।

सुरुमा एकजना भारतीय यात्रुको शव फेला परेको नारायणी नदीको गोलाघाट दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल अवस्थित छ। गोलाघाटमा राप्ती र नारायणी नदी मिसिने ठाउँनजिकै ती शव फेला परेको र उनको परिवारजनले सनाखत गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

त्यसबाहेक सर्लाही बरहथवाका अर्का यात्रुको शव नवलपरासी पूर्वको गैँडाकोट-७ मा पर्ने नदी छेउमा फेला परेको यादवले बताए।

ती दुवै यात्रु काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको बसमा सवार थिए।

शनिवार साँझ अँध्यारोका कारण खोजकार्य रोकिएको र अब आइतवार बिहान आठ बजेबाट पुन: सुरु हुने यादवले बताए।

"शनिवार नदीको तल्लो तटीय क्षेत्रमा सुरक्षाकर्मीहरू समेत परिचालित थिए। तर त्यसबाट साँझसम्म थप नतिजा हासिल हुन सकेन।"

शुक्रवार विहानै घटेको घटनामा परेका ती बसमा कम्तीमा ५१ जना चढेको बताइएको छ।

सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डूबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए।

देवघाटमा त्रिशूली र कालीगण्डकी मिसिएपछि नदीलाई नारायणी भनिन्छ।

त्रिशूली नदीमा खसेका दुई बसको खोजीकार्यमा संलग्न सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मीहरू संलग्न छन्

सुरक्षाकर्मीहरूले शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही यात्रुका भन्ठानिएका कपडा मात्रै फेला पारेका थिए।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खोजीकार्यमा "सबै सामर्थ्य प्रयोग" गरिएको जनाएका छन्।

"हिजो हामीले ठोस केही फेला पार्न सकेनौँ। आज हामीले केही रणनीति परिवर्तन गरेका छौँ," दुर्घटनास्थल सिमलताल पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने।

“सुरक्षा निकायको तालिम प्राप्त शक्ति र आफूसँग भएका उपकरण र प्रविधिको प्रयोग गरेर खोजी कार्य हुँदै छ। हिजो केही फेला पार्न सकेनौँ। आज हामीले केही रणनीति परिवर्तन गरेर खोजी गर्दै छौँ,” प्रजिअ यादवले भने।

“आज हामीले हिजो खोजिरहेको भन्दा अलिकति तलतिरको भागमा खोजीलाई विस्तार गरेका छौँ। थप निजी स्तरबाट कायक टोलीहरू, फलामे हुक, पानी र आकाशमा प्रयोग हुने ड्रोन पनि प्रयोग गरिरहेका छौँ।”

बस भएको सम्भावित स्थानबारे अनुमान

त्रिशूली नदीमा हराइरहेका बसको खोजीकार्यमा संलग्न प्रहरीहरू

तस्बिर स्रोत, DAO Chitwan

शुक्रवार नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाले ‘र्‍याफ्टिङ बोट’, गोताखोर र पानीभित्र हेर्ने क्षमता भएको ड्रोनसहित विभिन्न उपकरण प्रयोग गरेर त्रिशूली नदीमा खोजी गरेका थिए।

खोजीको क्रममा वीरगन्जबाट काठमाण्डूतिर जाँदै गरेको एन्जल बसको पर्दा र १० वर्षको बच्चाको ट्राउजर फेला परेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

“शुक्रवार जुन प्रकारका उपकरणहरू प्रयोग गरेर खोजी गरिएको थियो आज पनि तिनै उपकरण प्रयोग गरेर खोजी गरिरहेका छौँ,” प्रमुख जिल्ला अधिकारी चन्द्रदेव यादवले भने।

“हाम्रो देशमा नै भएका उपकरण योभन्दा बढी रहेनछन्। भएकै उपकरणहरू प्रयोग गरेका छौँ।”

बसको पर्दा र बच्चाको कपडा फेला परेसँगै नदीमा खसेका बसहरूको सम्भावित स्थान आकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

खोजीकार्यमा कति सुरक्षाकर्मी

त्रिशूली नदीमा हराइरहेका बसको खोजीकार्यमा संलग्नहरू

भुसालले नदीले बगाएको हुन सक्ने आशङ्कामा त्रिशूलीको तल्लो तटीय क्षेत्रमा पनि खोजी कार्य भइरहेको बताए।

“नदीको तल्लो भागमा बगाएर लगेको छ कि भनेर देवघाटसम्मको ठाउँमा खोजी कार्य भइरहेको छ,” भुसालले भने।

खोजी कार्यमा नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी कुल ५० गोताखोर र उनीहरूको सहयोगका लागि थप २०० सुरक्षाकर्मी परिचलान गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

त्रिशूली नदीमा पानीको सतह शुक्रवारभन्दा कम हुँदै गएका कारण अधिकारीहरूले अबको खोजी सहज हुने आकलन गरेका छन्।

नदीमा हराइरहेका बसका यात्रुका आफन्तहरू प्रशासनको सम्पर्कमा आउन सुरु गरेको प्रहरीले जनाएको छ। हराइरहेकाहरूमध्ये कम्तीमा सात जना भारतीय नागरिकहरू रहेको प्रारम्भिक विवरण आएका छन्।

बसमा को थिए

बस सञ्चालकहरूले सार्वजनिक गरेको यात्रुहरूको सूचीमा केही भारतीय नागरिक पनि रहेको देखिन्छ।

अरू यात्रुमध्ये अधिकांश रौतहट र पर्सा जिल्लाका बासिन्दा हुन्।

वीरगन्जबाट काठमाण्डूका लागि हिँडेको बसमा सात भारतीय नागरिकले र काठमाण्डूबाट गौरका लागि हिँडेको बसमा दुई भारतीय नागरिकले टिकट किनेको बताइएको छ।

उनीहरू सबै भारतको बिहार राज्यका हुन्।

गौर र वीरगन्ज दुवै भारतको सीमानजिकै अवस्थित सहर हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।