त्रिशूली नदीमा हराइरहेका केहीको शव भेटियो, आइतवारको खोजी कार्य स्थगित

तस्बिर स्रोत, RSS
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा त्यसमा रहेका यात्रुहरूको खोजी कार्य साँझबाट आइतवारका लागि रोकिएको अधिकारीहरूले बताएका छन्।
ती बसमा रहेका यात्रुमध्ये हालसम्म छजनाको शव फेला परेको चितवनका प्रहरी उपरीक्षक भावेष रिमालले बताएका छन्। अन्य यात्रुहरूको अवस्था भने अज्ञात नै छ।
भेटिएका शवमध्ये एकजनाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ।
त्रिशूली नदीमा बेपत्ता बसका यात्रुमध्ये शनिवार तीनजना र आईतवार थप तीनजनाको फेला परेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत भएकामध्ये दुईजना भारतीय र तीनजना नेपाली नागरिक रहेको पुष्टि भएको छ।
घटनास्थलमा गोताखोर परिचालन गरेर खोजीकार्य गरिएको अधिकारीहरूले बताएका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलदेखि नवलपरासीको त्रिवेणीसम्मको नदी तटीय क्षेत्रमा सुरक्षाकर्मीको विभिन्न टोलीले पैदल, डुङ्गा र दूरबिनको प्रयोग गरेर खोजी गरिएको थियो।
सुरुमा शनिवार नारायणी नदीको गोलाघाटमा एकजना भारतीय यात्रुको शव फेला परेको थियो।
उक्त स्थान दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल अवस्थित छ।
त्यसबाहेक नारायणी नदी आसपास पर्ने सिसवार, मेघौलीको गोलाघाट, नवलपरासीको गैँडाकोट क्षेत्रमा शवहरू भेटिएका थिए।
'खोजी कार्य जारी'

तस्बिर स्रोत, RSS
स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरूले हराइरहेका बस तथा यात्रुको खोजी कार्य अब सोमवार बिहान ७ बजेबाट पुन: सुरु गरिने जनाएका छन्।
त्यसका लागि सुरक्षा निकायहरूका गोताखोरहरू खटिएको बताइएको छ।
खोजी कार्यमा सुरक्षाकर्मीहरूले र्याफ्टिङमा प्रयोग हुने डुङ्गा तथा पानीभित्र हेर्न मिल्ने क्यामेराको पनि प्रयोग गरिरहेको अधिकारीहरूले बताए।
त्रिशूली नदीको बाढीले बगाएर तल्लो तटीय क्षेत्रतर्फ लगेको हुन सक्ने भएकाले अधिकारीहरूले आइतवारदेखि त्यस क्षेत्रमा पनि खोजी कार्य तीव्र पारेको बताएका छन्।
प्रमुख जिल्ला अधिकारी यादवले खोजी कार्यमा ड्रोनको पनि प्रयोग गरिएको जानकारी दिए।
आफन्त चिन्तित

उक्त दुर्घटनामा हराइरहेका व्यक्तिका परिवारजनले खोजी कार्यमा ढिलाइ भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनीहरूले खोजी कार्यमा तीव्रता दिन सरकारसँग माग गरेका छन्।
शनिवार पनि दिनभरि नै आफन्तहरूको सिमताल क्षेत्रमा घुइचो लागेको थियो।
अधिकारीहरूले भने आइतवारदेखि घटनास्थलभन्दा एक किलोमिटर तलबाट खोजी कार्य सुरु गरिएको बताएका छन्।
त्यसका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको उनीहरूको भनाइ छ।

तस्बिर स्रोत, DAO CHITWAN
कति यात्रु हराइरहेका छन्?
शुक्रवार विहानै घटेको घटनामा परेका ती बसमा कम्तीमा ६५ जना चढेको बताइएको छ। यसअघि अधिकारीहरूले कम्तीमा ५१ जना यात्रु रहेको बताएका थिए।
तर यात्रुका आफन्तहरूले दिएको पछिल्लो जानकारी अनुसार यात्रु सङ्ख्या बढी रहेको देखिएको चितवनका प्रजिअ यादवले बताए।
बस सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डूबाट गौर जाँदै गरेको बसका तीन यात्रु बाँच्न सफल भएका थिए।
अधिकारीहरूले सुरुमा पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा २३ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु भएको बुझिएको अधिकारीहरूले बताएका थिए।

तर आइतवार उनीहरूले उक्त विवरण फरक परेको देखिएको जनाएका छन्।
प्रजिअ यादवका अनुसार काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको बसमा सुरुमा कुल २७ जना यात्रुहरू रहेको भनिएको थियो।
तर अहिले हराएका व्यक्तिका आफन्तले दिएको जानकारी अनुसार उक्त बसमा थप ११ जना पनि रहेको पाइएको उनले बीबीसीलाई बताए।
त्यसैगरी काठमाण्डूबाट वीरगन्जतर्फ जाँदै गरेको बसमा सुरुमा कुल २३ जना यात्रुहरू रहेको विवरण आएको तर अहिले थप चार जना पनि रहेको आफन्तहरूले बताएको उनले जानकारी दिए।
विभिन्न स्थानबाट आफन्तहरू आएर दिएको जानकारीका आधारमा पछिल्लो विवरण आएको र दुई बसमा गरेर कुल ६५ जना यात्रुहरू यात्रा गरिरहेको पाइएको यादवको भनाइ छ।
देवघाटमा त्रिशूली र कालीगण्डकी मिसिएपछि नदीलाई नारायणी भनिन्छ।
सुरक्षाकर्मीहरूले शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही यात्रुका भन्ठानिएका कपडा मात्रै फेला पारेका थिए।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खोजीकार्यमा "सबै सामर्थ्य प्रयोग" गरिएको जनाएका छन्।
"हिजो हामीले ठोस केही फेला पार्न सकेनौँ। आज हामीले केही रणनीति परिवर्तन गरेका छौँ," दुर्घटनास्थल सिमलताल पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिवार भनेका थिए।
“सुरक्षा निकायको तालिम प्राप्त शक्ति र आफूसँग भएका उपकरण र प्रविधिको प्रयोग गरेर खोजी कार्य हुँदै छ। हिजो केही फेला पार्न सकेनौँ। आज हामीले केही रणनीति परिवर्तन गरेर खोजी गर्दै छौँ,” प्रजिअ यादवले भने।
“आज हामीले हिजो खोजिरहेको भन्दा अलिकति तलतिरको भागमा खोजीलाई विस्तार गरेका छौँ। थप निजी स्तरबाट कायक टोलीहरू, फलामे हुक, पानी र आकाशमा प्रयोग हुने ड्रोन पनि प्रयोग गरिरहेका छौँ।”
कति सुरक्षाकर्मी परिचालन गरिएको छ?

खोजी कार्यमा नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी कुल ५० गोताखोर र उनीहरूको सहयोगका लागि थप २०० सुरक्षाकर्मी परिचलान गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
त्रिशूली नदीमा पानीको सतह शुक्रवारभन्दा कम हुँदै गएका कारण अधिकारीहरूले अबको खोजी सहज हुने आकलन गरेका छन्।
नदीमा हराइरहेका बसका यात्रुका आफन्तहरू प्रशासनको सम्पर्कमा आउन सुरु गरेको प्रहरीले जनाएको छ। हराइरहेकाहरूमध्ये कम्तीमा सात जना भारतीय नागरिकहरू रहेको प्रारम्भिक विवरण आएका छन्।
बस सञ्चालकहरूले सार्वजनिक गरेको यात्रुहरूको सूचीमा केही भारतीय नागरिक पनि रहेको देखिन्छ।
अरू यात्रुमध्ये अधिकांश रौतहट र पर्सा जिल्लाका बासिन्दा हुन्।
वीरगन्जबाट काठमाण्डूका लागि हिँडेको बसमा सात भारतीय नागरिकले र काठमाण्डूबाट गौरका लागि हिँडेको बसमा दुई भारतीय नागरिकले टिकट किनेको बताइएको छ।
उनीहरू सबै भारतको बिहार राज्यका हुन्।
गौर र वीरगन्ज दुवै भारतको सीमानजिकै अवस्थित सहर हुन्।
किन भइरहेको छ ढिलाइ?

तस्बिर स्रोत, RSS
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारले हराइरहेका बस तथा यात्रुहरूको खोजीका लागि "सम्पूर्ण सामर्थ्य" लगाएको बीबीसीलाई बताए।
उनले भने, "हामीले हालसम्म उपलब्ध सबै प्रविधि प्रयोग गरेर दक्ष जनशक्ति परिचालन गरेका छौँ। उहाँहरूले निरन्तर खटिएर काम गरिरहनु भएको छ।"
भट्टराईले दिएको जानकारी अनुसार खोजी कार्यमा नेपाली सेना र सशस्त्र प्रहरीका कुल २८ जना गोताखोरहरू खटिएका छन् भने उनीहरूलाई अन्य सुरक्षाकर्मीले सहयोग गरिरहेका छन्।
"पानीको बहाव धेरै भएको र पानी धमिलो भएको कारणले गर्दा खोजी कार्यमा सोचेजस्तो प्रगति हुन नसकेको फिल्डमा खटिनु भएका प्राविधिक साथीहरूले बताउनु भएको छ," उनले भने।
उनले बसहरूलाई बगाएर धेरै तलसम्म लगेको हुने सम्भावना कम रहेकाले मुख्यगरी दुर्घटनास्थललाई नै केन्द्रमा राखेर खोजी कार्य जारी रहेको जानकारी दिए।
उनले भने "तर बसबाट बाहिर परेका यात्रुहरूलाई बगाएर तलसम्म लगेको हुन सक्ने देखिएकाले तल्लो क्षेत्रहरूमा पनि खोजी जारी छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








