दशैँमा घर जाने यात्राबारे तपाईँका मनमा उब्जिएका प्रश्न र तिनका उत्तर

तस्बिर स्रोत, Bijay Gajamer/BBC
दशैँको पहिलो दिन घटस्थापना आउन एक साता बाँकी रहँदा काठमाण्डूबाट गाउँघर फर्कने लाखौँ यात्रुको सहज व्यवस्थापन गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
लाखौँ मानिसहरू घर आउजाउ गर्ने समय भएकाले त्यसलाई सहज पार्न देशभर घटस्थापनादेखि पूर्णिमासम्मका लागि रुट अनुमति खुला गरिएको जनाइएको छ।
तर कुनै सडकका विशेष प्रकृतिका कारण त्यहाँ चल्न निषेध गरिएका सवारी सधानहरू रुट पर्मिट खुला भन्दैमा चलाउन पाइने भन्ने नहुने यातायात व्यवस्था विभागले जनाएको छ।
गत वर्ष दशैँका बेला काठमाण्डू उपत्यका छाड्ने यात्रुहरू '१२-१३ लाख' हाराहारीमा रहेको भन्दै त्यस्तो अवस्थालाई सहज बनाउन विभिन्न सरकारी निकायहरू एकीकृत रूपमा काम गर्नेगरी तयारी थालिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।
“चाडपर्वलक्षित कार्ययोजना नै बनाएर खासगरी गृहमन्त्रालय र भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय मिलेर एकीकृत रूपमा तयारी थालेका छौँ। प्रहरी जाँचदेखि सहायता कक्ष बढाएका छौँ।”
केही दिनको अन्तरालमा त्यसरी ठूलो सङ्ख्यामा मानिसहरू देशभर आउजाउ गर्ने परिस्थितिको व्यवस्थापन गर्न अधिकारी र व्यवसायीहरूलाई सकस पर्ने गरेको छ।
कहिलेबाट हुन्छ अग्रिम टिकट बुकिङ?

तस्बिर स्रोत, Getty Images
राजधानी छाड्नेका लागि असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन्।
“गन्तव्यमा पुग्ने बित्तिकै त्यहाँबाट फर्कनका लागि समेत तिहारसम्मै अग्रिम टिकट बुकिङ गर्न सकिनेछ,” सिटौला भन्छन्।
“काठमाण्डूका मुख्य बसपार्क लगायतका ठाउँबाट तोकिएको पोसाक र परिचयपत्र लगाएका व्यक्तिसँग मात्र टिकेट काटेर ठगिनबाट बच्न आग्रह गर्छौँ।”
सबै यात्रुलाई अनलाइन टिकेट काट्ने व्यवस्था अनिवार्य गर्नुपर्ने पछिल्लो एक सरकारी अध्ययन कार्यदलले सिफारिस गरे पनि 'कार्यविधि अभावमा' त्यो कार्यान्वयनमा आउन सकेको छैन।
त्यसैले दशैँ-तिहारका यात्रामा समेत सीमित बसका लागि मात्र त्यस्तो सुविधा उपलब्ध हुने बताइएको छ।
टिकटको दर कसरी निर्धारण हुन्छ?

तस्बिर स्रोत, Bijay Gajamer/BBC
नेपालमा यात्रुवाहक बसलाई चार प्रकारमा वर्गीकरण गर्दै सोही अनुसार भाडादर तोकिएको हुन्छ।
सामान्य, डिलक्स, सुपर डिलक्स र भीआईपी वर्गीकरणमा पर्ने गाडीहरूको भाडादर बसपार्क, यातायात कार्यालय र सङ्गठनहरूले सार्वजनिक रूपमा राख्ने भन्दै सोही हेरेर मात्र प्रस्ट लेखिएको टिकट काटेर, काउन्टर राखिएका ठाउँबाट मात्र सवारी चढ्न व्यवसायीहरूले आग्रह गरेका छन्।
यातायात व्यवस्था विभागले प्रदेशका यातायात मन्त्रालयको समेत सहयोगमा अनुगमन टोलीहरू खटाउने जनाएको छ।
रुट पर्मिट खुला गरिए पनि सवारीले रिजर्भ गरेर नगईकन तोकिएको पालो कुरेर मात्र गाडी चलाउन पाउने विभागले जनाएको छ।
सडकको चाप कसरी व्यवस्थापन हुन्छ?

तस्बिर स्रोत, RSS
सडकमा सवारी चाप कम गर्नका लागि घटस्थापनादेखि पूर्णिमासम्मको अवधिका लागि सरकारले खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको ढुवानी गर्ने बाहेकका मालवाहक गाडी नचलाउन आग्रह गरेको छ।
यातायात व्यवस्था विभागका अनुसार त्यस अवधिमा खासगरी काठमाण्डू-नारायणगढ सडक खण्डमा ट्रेलर लगायतका त्यस्ता सवारीसाधन चलाउन नपाइने जनाइएको छ।
तर सोही अवधिमा आयात गरिएका त्यस्ता सवारी साधन भने कानुन बमोजिमका पत्रका आधारमा चलाउन नरोकिने जनाइएको छ।
मर्मत वा स्तरोन्नतिका बीचमा रहेका कैयौँ सडकहरूमा खाल्डाखुल्डी धेरै रहेका कारण बसहरू समयमै गन्तव्यमा पुग्न सकिरहेका पाइँदैनन्। त्यसले बस चालकहरूलाई अतिरिक्त थकान हुने गरेको उनीहरू बताउँछन्।
यातायात व्यवसायीहरूले नौबिसे-मलेखु, गल्छी-बैरेनी, नारायणगढ-मुग्लिन, नारायणगढ-बुटवल, मुग्लिङ-पोखरा, अरनिको राजमार्ग, बीपी राजमार्ग लगायतका मुख्य तथा सहायक बाटोहरू पानी पर्दा र नपर्दाका दुवै अवस्थामा असहज बनेका बताएका छन्।
चालकलाई हुने चापको निगरानी कसरी?

गृह मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार दशैँतिहारका बेला निरन्तरको यात्राले चालकलाई पर्ने चापको असर सडक सुरक्षासँग जोडिने भन्दै त्यसलाई गम्भीर रूपमा लिइएको बताएका छन्।
“सबै जिल्लामा रहेका मातहतका कार्यालयहरूलाई चालकलाई विश्राम गर्न मिल्ने सुविधाहरू तयार पार्दै त्यसको जाँच गर्न भनिएको छ, लामो दूरीमा चल्ने गाडीमा दुई वटा चालक राख्नै पर्ने व्यवस्थालाईसमेत कडाइका साथ निगरानी गरिनेछ,” गृह प्रवक्ता ऋषिराम तिवारी भन्छन्।
२४० किलोमिटर बढी यात्रा हुनेलाई लामो दूरीको बस भन्ने गरिन्छ। तर एक दिन वा एक रातमा पुगिने गन्तव्यका हकमा यातायात व्यवसायीहरूले सरकारी नियम अव्यवहारिक भन्दै एकजना मात्र चालक राख्ने गरेका पाइन्छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चालकलाई हुने चाप र थकान कम गर्नका लागि सडकमा हुने 'झन्झट' र 'अवरोध' कम गर्न कामहरू गर्नुपर्ने बताउँछन्।
तर नेपालमा चालकलाई निद्रा पुगे-नपुगेको अवस्था भने जाँच्ने गरिएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








