काठमाण्डू जोड्ने सडकमा बर्सेनि पहिरोको सास्ती, अब 'भुइँसँगै भित्तोमा लगानी आवश्यक'

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
राजधानी काठमाण्डूलाई देशका अन्य मुख्य सहरसँग जोड्ने राजमार्गहरूमा वर्षाका कारण बारम्बार सडक अवरुद्ध भइरहेको छ।
सडक विभागका महानिर्देशकले पछिल्लो समय "नसोचिएका नयाँनयाँ ठाउँमा" पहिरोको समस्या देखिन थालेको बताएका छन्।
बुधवार मात्रै काठमाण्डूलाई पृथ्वी राजमार्गसँग जोड्ने नागढुङ्गा-नौबिसे सडक खण्डमा पहिरो जाँदा दिनभरजसो राजधानी जोडिने एउटा मुख्य बिन्दु अवरुद्ध हुन पुगेको थियो।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको घाँसीकुवानजिक समेत त्यस्तै पहिरो गएपछि पोखरासँग काठमाण्डू र नारायणगढ जोडिने सडकहरू घण्टौँ अवरुद्ध बने।
शुक्रवार दिउसो चितवन जिल्लामा पर्ने नारायणघाट-मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा एउटा बस पल्टिँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बीबीसी संवाददाता ईश्वर जोशीका अनुसार गुडिरहेको बसमा बाटोमाथिबाट ढुङ्गा खस्दा उक्त बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले बताएको छ। उक्त बस गौरबाट पोखरातर्फ जाँदै थियो।
असार अन्तिममा चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खसेपछि दर्जनौँको सङ्ख्यामा मानिसहरूको मृत्यु हुनुका साथै बेपत्ता भएका थिए। त्यसबेलै छुट्टै एक बसमा ढुङ्गा खसेपछि चालकको मृत्यु भएको थियो।
किन कमजोर सडक
राजमार्गमा बारम्बार गइरहने पहिरोका कारणबारे प्रश्न गर्दा सडक विभागका महानिर्देशक रामहरि पोखरेल भन्छन्, "सडक निर्माण तथा स्तरोन्नतिका बेला एउटा तरिकाले योजना बनाएर काम हुन्छन् तर पछि अर्कै कारणले सडकहरू अस्थिर बन्न थालेका पाइएका छन्।"
पोखरेलका अनुसार 'अर्कै कारण' भनेको राजमार्गमाथिका भूभागमा अवैज्ञानिक ढङ्गले हुने सडक निर्माणको काम पनि हो।
"त्यस्ता अव्यवस्थित निर्माणका कारण पहिले एक तरिकाले बग्ने पानी पछि अर्को तरिकाले बग्न थाल्छन् र नसोचिएका ठाउँमा पहिरोहरू जाने गर्छन्," पोखरेल भन्छन्।
"ठूला र सक्रिय पहिरो नियन्त्रण गर्न र त्यसबाट सजग रहन प्रयासहरू गरिने भए पनि अनपेक्षित पहिरोका हकमा घटनापछि मात्र थाहा हुने गर्छ।"

महेन्द्र राजमार्गलाई पृथ्वी राजमार्गसँग जोड्ने नारायणगढ-मुग्लिन सडकखण्ड ''लामो समय र धेरै लागत'' लगाएर पुनर्निर्माण गरिएको सडक भईकन पनि हरेक वर्षजसो वर्षायाममा पहिरोका कारण अवरुद्ध हुने गरेको छ।
गत असारमा सोही खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खस्दा कैयौँको ज्यान गएको थियो भने कैयौँ अझै बेपत्ता छन्।
उक्त घटनाको अध्ययन गरेको एक कार्यदलले त्यसको मुख्य कारणका रूपमा राजमार्गमाथि 'वातावरणीय पक्षमा ध्यान नदिईकन' ग्रामीण सडक बनाइनु रहेको उल्लेख गरेको थियो।
सडक विभागका महानिर्देशक पोखरेल भन्छन्, "उक्त घटना निकै दु:खद रूपमा घट्यो तर त्यस खण्डमा हामीले धेरै अस्थिर भिरलाई स्थिर समेत बनाएको पक्षलाई बिर्सनु हुँदैन।"
उनी हाल मुख्य सडक विस्तार भइरहेको समयसमेत रहेकाले त्यसै पनि कमजोर भूबनोट अझ अस्थिर बन्न पुगेकाले साना पहिरोहरू बढेको बताउँछन्।
"त्यसबाहेक सबैभन्दा ठूलो समस्या स्थानीय सरकार र प्रदेश सरकारले बनाएका सडक बनेका छन्, जसले गर्दा अलिकति पानी पर्नेबित्तिकै त्यसबाट लेदोबाट बहावहरू सिर्जना हुने अवस्था छ," पोखरेलले भने।
"कतिपय हकमा ठेकेदारले पहाड काट्दा सावधानी नअपनाउनु पनि समस्याको जड बनेको पाइन्छ।"
उनी "स्रोत अभावका कारण प्रत्येक बिन्दुमा भिरालोलाई स्थिर पार्न नसकिरहेको" स्वीकार गर्छन्।
समाधानको उपाय
एक जना पहिरोविज्ञ भूगर्भशास्त्री काठमाण्डू जोडिने सडकको भूगोल कमजोर रहेकाले त्यहाँ सडक मात्र नभएर सडकको भित्तो बनाउने कुरामा उत्तिकै जोड दिन आवश्यक रहेको बताउँछन्।
"हामीले सडकछेउमा थोरै आड लगाउनेबाहेक माथिपट्टि त्यति वास्ता गर्दैनौँ, नागढुङ्गाकै पछिल्लो पहिरोलाई नै हेर्दा समेत त्यस्तै देखिन्छ," त्रिभुवन विश्वविद्यालयमा भूगर्भशास्त्रका सहप्राध्यापक रञ्जनकुमार दाहाल भन्छन्।
"त्यही नै यहाँ समस्याको रूपमा छ किनकि हामीकहाँ धेरै पानी पर्छ र चट्टान समेत कमजोर छ।"

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
दाहाल सडक निर्माण र स्तरोन्नतिका बेला केही परम्परागत सोचाइभन्दा बाहिर निस्कनुपर्ने समय आएको बताउँछन्।
"सडक डिजाइनका बेला छेउमा भिर स्थिर पार्नका लागि सानो 'टोवाल' लगाउनेबाहेक जहिल्यै समस्या आएका ठाउँमा पुनर्निर्माण गर्ने टालटुलका काम मात्र गरिरहेका छौँ। सडक विभागले सीमित बजेटमा काम गर्नुपर्दाको कारणले समेत त्यस्तो परिवेश निम्त्याएको देखिन्छ।"
पहाडको भित्ता काटेर बनाइने सडक जहिल्यै पहिरोजन्य जोखिममा हुने भन्दै भूगर्भशास्त्री दाहाल काटिएका पहाडलाई स्थिर पार्न ठोस योजना आवश्यक पर्ने बताउँछन्।
"अन्यथा त्यस्ता सडक टिक्दैनन्। त्यसैले भित्ताका लागि इन्जिनियरिङ डिजाइन आवश्यक छ। त्यसका लागि भित्तामा किला ठोक्ने, वाल लगाउने, ढाक्नेजस्ता काम गर्न सकिन्छ," उनी भन्छन्।
दाहाल कटान गर्न कठिन र कटान गरेर समेत स्थिर हुन नसक्ने भिराला भूभागलाई 'अनावश्यक जोडबल' लगाउन भन्दा त्यस्ता ठाउँमा 'ससाना सुरुङ' निर्माण गर्ने विकल्पमा जान सकिने बताउँछन्।

तस्बिर स्रोत, RSS
काठमाण्डूलाई हेटौँडासँग जोड्ने झन्डै १०० किलोमिटरको कान्ति राजपथमा पहिचान गरिएका पहिरोलाई नियन्त्रणमा लिन सक्दा त्यो राजधानी जोड्ने निकै महत्त्वपूर्ण मार्गको रूपमा काम गर्ने दाहाल बताउँछन्।
"त्यो बाह्रमास चलायमान गराउन निकै धेरै नै खर्च गर्नुपर्ने अवस्थाको सडक पनि होइन तर त्यहाँ सरकारको ध्यान पुगेको छैन," दाहालको भनाइ छ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेल हालको अवस्थामा सरकारबाट "बर्सेनि १०-१२ करोड रुपैयाँका दरले प्राप्त हुने बजेट भिर स्थिर पार्नभन्दा पनि सतह मिलाउनमा खर्च भइरहेकोले" पहिरो नियन्त्रणमा प्रगति हासिल गर्न नसकेको बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








