बुटवल-नारायणगढ सडक पुनर्निर्माण: दुई वर्ष म्याद थप्दा समेत जम्मा आधा काम

सडक पुनर्निर्माण
तस्बिरको क्याप्शन, सडक पुनर्निर्माणमा ढिलाइ हुँदा यात्रुहरूलाई दिनहुँ सास्ती भइरहेको देखिन्छ
    • Author, माधव नेपाल
    • Role, बुटवल
  • पढ्ने समय: ४ मिनेट

४२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको बुटवल-नारायणगढ सडक खण्डको पुनर्निर्माणको काम थप २४ महिना लम्ब्याउँदा पनि करिब ५२ प्रतिशतको हाराहारीमा मात्र काम सम्पन्न भएको अधिकारीहरूले बताएका छन्।

११३ किलोमिटर लामो उक्त सडक खण्डको पुनर्निर्माण लागि सडक विभागले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग २०७५ साल माघमा सम्झौता गरेको थियो।

सो सम्झौता अनुसार २०७९ सालको साउन महिना भित्रै काम सम्पन्न भइसक्नु पर्ने थियो।

सडक विभागका अनुसार त्यसयता पहिलो पटक ३५० दिन र दोस्रो पटक ३६५ दिन गरी ७१५ दिन म्याद थप गरिएको थियो।

पछिल्लो पटक थप गरिएको समय पनि यसै साता सकिएको छ।

बुटवल नारायणगढ सडक खण्ड
तस्बिरको क्याप्शन, दुई पटक म्याद थप्दा पनि आधा काम मात्र सकिएको बताइएको छ

फेरि डेढ वर्ष थप्ने प्रस्ताव

ठेकेदार कम्पनीको तर्फबाट तेस्रो पटकका लागि करिब १८ महिना म्याद थप्ने प्रस्ताव गरिएको उक्त सडक योजना अन्तर्गत पश्चिम खण्डका योजना प्रमुख सिनियर डिभिजन इन्जिनियर शशांक मिश्रले बताए।

"मलाई लाग्छ अब थपिने समयभित्र यो सडक पुनर्निर्माणको सबै काम सम्पन्न हुने छ। यो समय भनेको कामले गति लिने समय पनि हो," मिश्रले भने।

पुनर्निर्माणको लागि यो सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता भएको थियो।

जस अनुसार गैँडाकोटदेखि दाउन्ने सम्मको ६४.४२ किमी सडकलाई योजनाको पूर्वी खण्ड र दाउन्ने देखि बुटवलसम्मको ४८.५८ किमी सडकलाई योजनाको पश्चिम खण्डको नाममा सडक विभागले निर्माण कार्यको नियमन गर्दै आएको छ।

पश्चिम खण्डका योजना प्रमुख शशांक मिश्रले हालसम्म यो खण्डमा सडक पुनर्निर्माणको काम ५२.५७ प्रतिशत सम्पन्न भएको बताए।

"पहिलेका वर्षहरूको तुलनामा यो वर्ष काममा सुधार आएको छ।"

मिश्रले भने, "यो खण्डमा करिब ३० किलोमिटर सडक एकतर्फी कालोपत्रे भएको छ भने माटो भर्ने कामले पनि गति लिएको छ।"

सडक पुनर्निर्माण
तस्बिरको क्याप्शन, पुनर्निर्माण समयमा नहुँदा खासगरी बर्खाको बेला आवागमनमा निकै वाधा पर्ने गरेको बताइन्छ

पूर्वको अवस्था पनि उस्तै

यस्तै गरी पूर्वी खण्डको सडकको काम पनि ५२ प्रतिशतकै हाराहारीमा सम्पन्न भएको सो खण्डका आयोजना प्रमुख सिनियर डिभिजन इन्जिनियर आशिष थापा मगरले बताए।

"गाह्रो काम भनेको पुलको काम हो, ती पुलहरू पनि करिब करिब सम्पन्न हुने अवस्थामा पुगेका छन्," थापाले भने।

"यो सडक खण्डमा करिब २७ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरिएको छ।"

नारायणगढ देखि बुटवलसम्मको उक्त सडकमा २१ वटा ठूला पुल र ४३ वटा साना पुल निर्माण भइरहेका छन्।

सडक पुनर्निर्माण
तस्बिरको क्याप्शन, कोभिड महामारीका कारण पुनर्निर्माणमा ढिलाइ भएको अधिकारीहरू बताउँछन्

ढिलाइका कारण

दुई वटै सडक खण्डका आयोजना प्रमुखहरूले काममा ढिलाइ हुनुको मुख्य कारण सुरुमा कोरोनाभाइरसको महामारीलाई दिन्छन्।

"मुख्य काम गर्ने मानिसहरू सबैजसो चिनियाँ हुँदा कोरोनाको बेला यहाँबाट गएका चिनियाँहरू एक वर्ष सम्म नै फर्केनन्," पूर्वी खण्डका योजना प्रमुख थापा भन्छन्।

"त्यसले गर्दा कामको गति एक वर्ष त्यसै पछि धकेलियो।"

सडक विस्तारको लागि काट्नु पर्ने रूख काट्नमा प्राविधिक कारणले भएको ढिलाइ पनि कामले गति लिन नसक्नुको अर्को कारण भएको आयोजना प्रमुखहरू बताउँछन्।

"यसबाहेक स्थानीय क्षेत्रमा पाइने निर्माण सामाग्री आपूर्तिमा समय समयमा भएका अवरोधले पनि समस्या पारेको छ," पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले भने।

"सडक किनारबाट बिजुलीका पोल र तार हटाउन पनि धेरै कठिनाइ भइरहेको छ।"

एसियाली विकास ब्याङ्कको सहयोगमा बन्न लागेको यो सडकको ठेक्का करिब १७ अर्ब रुपैयाँमा भएको हो

दाउन्ने पहाडको केही भाग बाहेक अन्यत्र यो सडक ४ लेनको बनाइँदै छ।

समयमै निर्माणको काम नसकिँदा यो सडकमा आवतजावत गर्ने यात्रीहरूले विगत ५ वर्ष देखि निकै कष्ट झेल्दै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।