देशभरि सडक नराम्ररी प्रभावित, काठमाण्डू जोड्ने बाटो कहिले खुल्ला

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
बिहीवारदेखि तीन दिन भएको अविरल वर्षाका कारण उत्पन्न प्रकोपमा परी मृत्यु हुने मानिसको सङ्ख्या २०० पुगेको नेपाल प्रहरीले सोमवार अपराह्ण जनाएको छ। बाढी र पहिरोमा परेका २६ जना अझै बेपत्ता छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बढी र पहिरोका कारण देशभरि भौतिक संरचना र सडक सञ्जालमा पनि ठूलो क्षति पुगेको छ। पक्की, बेलिब्रिज र झोलुङ्गे गरी डेढ दर्जनवटा पुल बगेका छन् भने काठमाण्डू आउजाउ गर्ने मुख्य राजमार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्।
देशभरि यातायात नराम्ररी प्रभावित भएको तिवारीले बताए। “तर राजधानीमा कुनै दैनिक उपभोग्य वस्तुको सङ्कट हुने अवस्था सिर्जना हुने छैन। सोमवार साँझसम्म वा मङ्गलवारभित्र मुख्य राजमार्ग दुईतर्फी सञ्चालन गर्ने गरी काम भइरहेको छ,” उनले भने।
“निजी घरहरूमा समेत व्यापक क्षति पुगेको छ। तर त्यसको पूरा विवरण सङ्कलन हुने क्रममै छ। आज बसेको विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले समग्र क्षतिको मूल्याङ्कन गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको छ।”
अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको आकलन गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले "पुर्ननिर्माणका लागि महिनौँ लाग्ने" जनाएका छन्।
प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले सडक, पुल र सिँचाइका भौतिक पूर्वाधारमा मात्र पाँच अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक आकलन रहेको बताए।

तस्बिर स्रोत, Reuters
सडक कतै आंशिक खुला तर 'हिँडिहाल्ने अवस्था छैन'
पहिरोका कारण राजधानी जोड्ने मुख्य सडकहरू अवरुद्ध हुँदा यात्रुहरू आउजाउ गर्ने अवस्था अझै नबनिसकेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए।
काठमाण्डूको एउटा मुख्य नाका नागढुङ्गानजिकै अवस्थित झ्याप्लेखोलामा आएको ठूलो पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। त्यहाँ पहिरोले सवारीसाधनहरू पुर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको थियो।
त्यहाँ पहिरो र ढुङ्गामाटो पन्छाउँदै सडक एकतर्फी खुलाइएको छ। “एकतर्फी सडक खुलाएर शुक्रवारदेखि रोकिएका सयौँ गाडीहरू काठमाण्डू ल्याइँदै छ। तर अझै काठमाण्डूबाट गाडीहरू बाहिरिने क्रम सुरु भएको छैन,” प्रहरी प्रवक्ता कार्की भन्छन्।
झ्याप्लेखोलामा पहिरो गएको ठाउँभन्दा तल अड्किएका सवारीसाधनहरूलाई आइतवार निर्माणाधीन सुरुङमार्ग हुँदै काठमाण्डूतिर पठाइएको थियो।
सडक विभागका अधिकारीहरूले काठमाण्डूलाई तराई वा अन्य मुख्य सहरसँग जोड्ने कुनै पनि बाटो निर्बाध सञ्चालनको अवस्थामा आइनसकेको बताएका छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार मुख्य सडकहरू खुलेर आउजाउ गर्न कहिलेदेखि सहज हुन्छ भनेर मिति तोक्न सकिहाल्ने अवस्था छैन।
“सक्दो छिटो खुलाउनेमा जोड छ। तर सरकारी क्षमताले मात्र भ्याउने देखिँदैन। निजी क्षेत्रको समेत सहयोग लिनुपर्ने अवस्था छ,” कार्कीले भने।
सडक सञ्जालमा 'व्यापक क्षति'

तस्बिर स्रोत, RSS
पूर्वी नेपालका विभिन्न जिल्ला जान छोटो दूरी पर्ने बनेपा- बर्दिबास जोडिने बीपी राजमार्गमा नेपालथोकदेखि धुलिखेलसम्म धेरै ठाउँमा सडक भत्किएको वा थुनिएको हुनाले यातायात अवरुद्ध रहेको विभागका सहायक प्रवक्ता अमितकुमार शर्माले बताए।
“बीपी राजमार्गको भौगोलिक अवस्था जटिल भएकाले 'डाइभर्शन' बनाए पनि सवारी आवागमन तत्काल सुरु गर्न सकिने अवस्था छैन,” उनले भने।
काठमाण्डूबाट नौबिसे हुँदै पर्सापारि भारतको रक्सौलसम्म पुग्ने त्रिभुवन राजपथमा केही ठाउँमा ससाना पहिरो गएका छन्। तर ठूलो अवरोध छैन।
त्यसै गरी काठमाण्डूलाई तातोपानी नाकासँग जोड्ने अरनिको राजमार्गमा एउटा बेलिब्रीज र अर्को पक्की पुल बगाएको जानकारी शर्माले दिए।
कान्ति लोकपथमा समेत बागमती पुल जोड्ने ३०० मिटर सडक बगाउँदा हेटौँडासँग उक्त राजमार्गको सम्पर्क भङ्ग भएको विभागले जनाएको छ।
मुग्लिन-नारायणघाट सडकखण्डमा समेत सवारी आवागमन रोकेरै भासिएको ठाउँ "अस्थायी सिलिङ बनाउँदै" सडक मर्मत गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्।
“काठमाण्डूबाट बाहिर निस्किने सहज अवस्था अझै बनिसकेको छैन। कतैकतै एकतर्फी बाटो खुलाएर पनि अड्किएका गाडीलाई काठमाण्डू भित्र्याउने काम मात्र भइरहेको छ,” सहायक प्रवक्ता अमितकुमार शर्माले भने।
“रोकेर राखिएका गाडीलाई सुरक्षित ठाउँमा निकालेपछि पृथ्वी राजमार्गलाई समेत दुईतर्फी खुलाउने काम छिट्टै गरिहाल्न सक्ने अपेक्षा छ।”
पुल बगेका ठाउँमा के हुन्छ?

तस्बिर स्रोत, RSS
पुलमा असर परेका सडकमा पानी कम भएपछि वैकल्पिक मार्ग 'डाइभर्शन' खोज्ने वा बेलिब्रिज राख्ने सडक विभागको योजना छ। यद्यपि त्यस्ता सडकहरू तत्काल सञ्चालनमा आइहाल्ने अवस्था छैन।
“पहिरोले अवरुद्ध सडक मौसम थप नबिग्रिएमा एक-दुई दिनभित्रै खुला गर्न सकिन्छ भन्ने हाम्रो लक्ष्य छ,” सडक विभागका सहायक प्रवक्ता शर्माले भने।
सरकारका अनुसार सप्ताहान्तको वर्षाका कारण मात्रै सुनकोशी नदीले तीनवटा पुल बगाएको थियो। त्यसै गरी मेची राजमार्गमा पर्ने हेवा खोला र अरनिको राजमार्गको लार्चा खोलामा रहेका बेलिब्रिज पनि बगेका छन्।
सरकारसँग अहिले ठूला र साना गरी १० वटा बेलिब्रिज छन्। “तर विगतमा सबैभन्दा छिटो बेलिब्रिज राखिएको हाम्रो अनुभव २९ दिनको छ। त्यसैले छिटोमा काम गर्दा समेत पुल नै आवश्यक पर्ने ठाउँमा जडान गर्न पनि तिहारसम्मै लाग्न सक्छ,” शर्माले भने।
त्यसको भौगर्भिक अध्ययन, पार्टपुर्जा जाँच र प्राथमिकता निर्धारण गरेर जडानको काम थालिने उनले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








