पृथ्वी दिवस के हो, यो कहिले पर्छ र यसले के हासिल गरेको छ?

तस्बिर स्रोत, Getty Images
- Author, मार्क प्वइङ्टिन र म्याडी मोलोय
- Role, बीबीसी न्यूज जलवायु तथा विज्ञान
प्रत्येक वर्ष विश्वका लाखौँ मानिस पृथ्वी दिवसका दिन भेला भएर पर्यावरणीय अभियानको उत्सव मनाउँछन्।
सन् १९७० देखि अमेरिकाबाट सुरू भएको यो दिवस अहिले संसारभर मनाइन्छ।
पृथ्वी दिवस विश्वस्तरको कार्यक्रम हो जसले पर्यावरणको महत्वलाई बढावा दिने उद्देश्य राख्छ।
कस्तो दिवस?
यो प्रत्येक वर्ष २२ अप्रिलका दिन आयोजना गरिन्छ।
अमेरिकी सिनेटर तथा वातावरणवादी गेलर्ड नेल्सन र हार्वर्ड विश्वविद्यालयका स्नातकका विद्यार्थी डेनिस हायसले सन् १९७० मा यो कार्यक्रम सुरु गरेका थिए।
सन् १९६९ मा सान्टा बारबारा क्यालिफोर्नियामा भएको ठूलो तेल चुहावटको घटना र त्यसले पारेको असरसहित अमेरिकामा भइराखेको पर्यावरणीय क्षतिबारे यी दुवैमा चासो बढिरहेको थियो।

तस्बिर स्रोत, Getty Images
त्यसपछि उनीहरूले आम मानिसलाई सहभागी गराउने र हरित पर्यावरणको विषयलाई राष्ट्रिय मुद्दा बनाउन बल पनि पुर्याउने उपायका रूपमा पृथ्वी दिवसको कार्यक्रम ल्याए।
पृथ्वी दिवसको पहिलो कार्यक्रममै अमेरिकामा दुई करोड मानिस सडकमा निस्किए।
सन् १९९० देखि विश्वस्तरमा मनाउन थालिएको यो कार्यक्रममा अहिले दुई सय देशका सबै उमेर समूहका एक अर्बभन्दा धेरै मानिस सहभागी हुने गरेको आयोजकहरू बताउँछन्।
“पृथ्वी दिवस मनाउनु प्राय: धेरै मानिसका निम्ति पहिलो पर्यावरणीय कार्य हो”, अर्थ–डे डट ओआरजीकी प्रमुख क्याथलिन रोजर्स भन्छिन्।
सन् २०२४ को पृथ्वी दिवसमा के हुँदैछ ?

तस्बिर स्रोत, Getty Images
सन् २०२४ को पृथ्वी दिवसको मूल विषय छ, प्लानेट भर्सेज प्लास्टिक।
यस कार्यक्रमले प्लास्टिकजन्य प्रदूषणले मानव तथा पृथ्वीको स्वास्थ्यमा पार्न सक्ने असरबारे सचेतना फैल्याउने उद्देश्य राखेको छ।
विगतका कार्यक्रमहरूले जलवायु परिवर्तनदेखि विभिन्न प्रजातिको रक्षाको विषयका साथै स्वच्छ ऊर्जादेखि वृक्षारोपणका फाइदाजस्ता विभिन्न पर्यवरणीय मुद्दाहरू समेटेका थिए।
सन् २०२४ को अन्त्यसम्ममा संयुक्त राष्ट्र सङ्घमा प्लास्टिकसम्बन्धी ऐतिहासिक सन्धिमा सहमति जुट्ने अपेक्षा भइराखेको सन्दर्भमा यस वर्षको पृथ्वी दिवस प्लास्टिकसम्बन्धी विषयमा केन्द्रित छ।
बेलायतसहितका ५० भन्दा धेरै देशले सन् २०४० भित्रमा प्लास्टिकजन्य प्रदूषण अन्त्य गर्न आह्वान गरेका छन्।
तर पृथ्वी दिवस कार्यक्रमका आयोजकहरू त्योभन्दा धेरै चाहन्छन् । उनीहरूले सन् २०४० सम्ममा प्लास्टिकको उत्पादनमै ६० प्रतिशतले गिरावट ल्याउन आह्वान गरेका छन्।
मानिसहरूलाई स्वेच्छिक रूपमा सफाइ अभियानमा भाग लिन वा प्लास्टिक प्रदूषणले गर्न सक्ने क्षतिबारे जानकारी लिन आयोजकहरू सुझाउँछन्।
के हुन् पृथ्वी दिवसका उपलब्धि ?
पृथ्वी दिवस मनाउन थालिएको केही वर्षमै अमेरिकी पर्यावरणीय सुरक्षा संयन्त्र गठन गरिएको थियो भने स्वच्छ–वायु ऐन लगायतका वातावरण सम्बन्धी कानुन बनाइनुका साथै कतिपय कानुनलाई बलियो पारिएको थियो।
पछिल्ला कार्यक्रमका क्रममा लाखौंँको सङ्ख्यामा वृक्षारोपण भएको छ भने दिगो कृषि पद्धतिका निम्ति कृषकहरूलाई सहयोग पुर्याइनुका साथै विश्वका विभिन्न स्थानमा जलवायु साक्षरता कार्यक्रम सुरु भएको छ।
केही पर्यवेक्षकहरू पर्यावरणको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि सारिनुमा पृथ्वी दिवसको पनि महत्व देख्छन्।
"अन्य विभिन्न मुद्दाले गर्दा पर्यावरण सम्बन्धी विषय हाम्रो समाजको प्राथमिकताको सूचिमा तल परेको छ", जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घका पूर्वप्रमुख इभो डे बोरले भने ।
सन् १०१६ मा ऐतिहासिक प्यारिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने दिनको प्रतिकात्मक रूपमा पृथ्वी दिवसकै दिनलाई छानिएको थियो । पहिलो पटक विश्वका विभिन्न देशहरू जलवायु परिवर्तनलाई सीमित गर्न सामूहिक रूपमा सहमत भएका थिए।
पृथ्वी दिवसबारे आलोचकहरू के भन्छन् ?
यी उपलब्धिहरूले प्रगतिको झुटो भ्रम दिएको केही आलोचकहरूको चेतावनी छ।
वैश्विक तापमानदेखि विभिन्न प्रजाति नै विलुप्त हुने स्थिति सम्मका वातावरणीय सूचकलाई मानव गतिविधिले प्रभावित पारिराखेको छ।
आजसम्मका प्रयत्नहरू त्यस्तो प्रवृत्तिलाई रोक्न वा उल्ट्याउनेतर्फ कमै सफल देखिएका छन्।
केही व्यक्ति तथा कम्पनीमाथि पर्यावरण सुरक्षा सम्बन्धमा अत्यावश्यक वा ठोस कार्य नगरेको तर त्यस सम्बन्धमा आफ्नो साखलाई कायम राख्न पृथ्वी दिवसको उपयोग गरेको आरोप समेत छ।
त्यस्तो प्रवृत्ति “ग्रिनवाशिङ” का नामले चिनिन्छ।
उदाहरणका निम्ति सन् २०२२ को पृथ्वी दिवसमा अभियन्ता ग्रेटा थनवर्गले गरेको ट्विटलाई हेर्न सकिन्छ। “पृथ्वी दिवस शक्तिमा बसेका मानिसलाई आफ्नो ग्रहप्रति प्रेम प्रकट गर्ने अवसर बनेको छ, जबकि तिनैले नै द्रुत गतिमा यसको विनाश गरिराखेका छन्।”
“हामी सबैलाई थाहा छ ग्रिनवाशिङ भइराखेको छ, यो आक्रोशित बनाउने किसिमको छ”, पृथ्वी दिवसकी आयोजक रोजर्सले बीबीसीसँग भनिन्।
“यो हामीले खडा गरेको मुद्दा होइन, तर हामीलाई के थाहा छ भने केही व्यवसायहरूद्वारा निन्दनीय रूपमा लोकाचार वा आफ्नो फाइदाका निम्ति पृथ्वी दिवसको दुरुपयोग भइराखेको छ।”
“उपभोक्ताहरूलाई ढाँटिरहेका त्यस्ता व्यवसायीहरूमाथि सरकारले कडा कदम चाल्नुपर्छ र रोक्नुपर्छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








