थामे क्षेत्रमै ३९ वर्षअघि भएको दिग्च्छो हिमताल विस्फोटन जसले नेपालमा त्यससम्बन्धी अध्ययनको बाटो खोल्यो

तस्बिर स्रोत, Khumbu Pasanglhamu Rural Municipality/Facebook
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
ठ्याक्कै ३९ वर्षको अन्तरालमा अगस्ट महिनामा थामे क्षेत्रमा हिमताल विस्फोटन भयो।
सन् १९८५ मा दिग्च्छो तालको माथिपट्टि रहेको 'ह्याङ्गिङ ग्लेसिअर'बाट बरफको ठूलो ढिक्का खसेपछि निम्तिएको उतिबेलाको विपद्मा ११ किलोमिटर तलको भूभागमा पर्ने एउटा सानो जलविद्युत् परियोजनामा पूर्ण रूपमा असर पारेको थियो।
त्यसबेला भएका अध्ययनहरूमा उक्त हिमताल विस्फोटपछि आएको बाढीमा परेमा तीनजनाको मृत्यु हुनुका साथै ८० किलोमिटर तलसम्मको नदी क्षेत्रमा असर देखिएको थियो।
जसक्रममा १४ वटा सानाठूला पुल ध्वस्त हुनुका साथै खेतीयोग्य जमिनहरूमा असर परेको बताइएको छ।
हालैको हिमताल विस्फोटनका हकमा दुईवटा ताल फुटेकामा माथिल्लोबाट तल्लो तालमा पानी निकास भएर तल्लो ताल फुटेको देखिएको विज्ञहरू बताउँछन्।
पछिल्लो थामे बाढी निम्त्याउने घटनाको हकमा भनेर तालमा दबाव सिर्जना हुनुको कारण प्रस्ट नभइसकेको विज्ञहरू बताउँछन्।
दुवै विपद् दिउसै

तस्बिर स्रोत, ICIMOD
काठमाण्डू विश्वविद्यालयको वातावरणीय विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख डा. रिजनभक्त कायस्थले १९८५ मा हिमताल विस्फोटन भएको दिन मौसम सफा रहँदा रहँदै पनि दिउसो अचानक बाढी आएको उल्लेख गर्छन्।
त्यसपछि दुधकोशी र सुनकोशी नदीमा ठूलो बाढी निम्तिएको इन्टरन्याश्नल माउन्टेन सोसाइटीमा सन् १९८६ मा प्रकाशित एक शोध आलेख 'द लाङमोचे फ्ल्यास फ्लड, खुम्बु हिमाल, नेपाल'मा उल्लेख छ।
उक्त आलेखमा त्यसबेला ताल विस्फोट हुनुभन्दा अघिल्लो महिना 'जुलाईमा लामो समय न्यानो र सफा मौसम' देखिएको उल्लेख गरिएको छ।
हालैको घटनाअघि समेत माथिल्लो भेगमा पानी परिराखेको र त्यस क्षेत्रमा हालैका दिनमा तापक्रम समेत बढी पाइएको अवस्था रहेको तालको हवाई निरीक्षणसमेत गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यसअघि बीबीसीलाई बताएका थिए।
यतिखेर शेर्पाहरूको गाउँ थामेमा बस्ती पुनः बसोबासयोग्य होला नहोला भन्ने चिन्ता देखिन्छ।
सरकारले त्यसको अध्ययन गर्नका लागि एक समिति गठन समेत गरेको छ।
तर जल तथा मौसम विज्ञान विभागका एकजना सेवानिवृत्त हाइड्रोलोजिस्ट सुपरिटेन्डेन्ट ओमरत्न बज्राचार्यले 'भूउपग्रहबाट खिचिएका तस्बिरमा ताल फुटेपछिको नालाबाट नयाँ लयमा पानी निकास भइरहेको देखिएकाले' त्यसबाट थप जोखिम हुने सम्भावना कम रहेको बताउँछन्।
उनी भन्छन्: “फुटिसकेको तालमा त्यस्तै घटना दोहोरिने सम्भावना खासै हुँदैन। तर त्यस क्षेत्रमा माथिपट्टि अन्य तालहरू पनि भएकाले यसबारे थप अध्ययन भएपछि मात्र कुराहरू प्रस्ट हुनसक्छ।”
हिमताल अध्ययनको महत्त्वपूर्ण मोड

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
काठमाण्डू विश्वविद्यालयका हिमताल विज्ञ डा. रिजनभक्त कायस्थले दिग्च्छो तालको घटनापछि नेपालमा वैज्ञानिकहरूले हिमताल अध्ययनको आवश्यकता महसुस गरिएको बताउँछन्।
त्यसपछि सुरुमा क्यानडाको सरकारले यससम्बन्धी अध्ययनका लागि तत्कालीन जल तथा शक्ति आयोगले बहावको स्तर र क्षतिबारे अध्ययन गरेको बताइन्छ।
त्यसपछि तत्कालीन जर्मन सहायता नियोग जीटीजेडको सहयोगमा नेपालको उच्च भूभागको जलवायु तथा हिमपात अध्ययनका लागि झन्डै एक दशकको अवधिमा मकालुदेखि हुम्लासम्मको क्षेत्रमा छवटा उच्च भेगका जलवायु मापन केन्द्र स्थापनाको काम भएको थियो।
झन्डै चार दशकअघि तालभन्दा ११ किलोमिटर तल्लो भूभागमा अवस्थित नाम्चे लघु जलविद्युत् परियोजना बगाएको सो घटनाका तुलनामा अहिलेको विपद्लाई विज्ञहरू 'केही सानो' भएको टिप्पणी गर्छन्।
“यसअघि ठूलो ताल फुटेकामा यसपटक फुटेको भने सानो हो,” हिमताल विज्ञ कायस्थ भन्छन्।
“अब हामी ठूला ताललाई मात्र हेरेर भएन साना ताललाई पनि नियमन गरिराख्नुपर्ने भयो। बस्तीका माथिपट्टि भएका तालले प्रभाव पार्न सक्ने क्षेत्रको नक्साङ्कन गर्नुपर्ने भएको छ।”
उनीजस्ता विज्ञले उच्च हिमाली भेगमा पानी परेको अवस्था अब थाहा पाउनुपर्ने समय आएको बताउँछन्।
'ह्याङ्गिङ ग्लेसिअर'को धराप
दिग्च्छो ताललाई नेपालमा विवरण राखिएको पहिलो हिमताल विस्फोटनका घटनाका रूपमा हेरिएको छ।
चार दशकको अन्तरालमा भएका दुवै अनपेक्षित घटनामा 'ह्याङ्गिङ ग्लेसिअर'को पक्षलाई ध्यानपूर्वक हेर्नुपर्ने देखिएको जलविज्ञानविज्ञ ओमरत्न बज्राचार्य बताउँछन्।
“पछिल्लो घटनाको कारण ह्याङ्गिङ ग्लेसिअर फुटेर वा ढुङ्गा खसेर वा अन्य के कारण हो भन्ने थाहा छैन,” उनी भन्छन्।
“पहाडको भिरालो भागमा झुन्डिएर बस्ने त्यस्ता ग्लेसिअर च्छो रोल्पा हिमताल छेउमा पनि छ। त्यस्तो ठाउँमा ह्याङ्गिङ ग्लेसिअर फुट्दा जहिल्यै हिमताल फुट्नसक्ने त्रास रहन्छ। त्यसैले त्यसलाई जोखिमको आधार मानेर साना हिमताललाई समेत अब उत्तिकै ध्यान दिनुपर्ने समय आएको देखिन्छ।”
दिग्च्छो हिमताल बिस्फोटनपछि पनि स्रोतमै पुगेर भन्दा पनि त्यसको असरलाई आधार मानेर अध्ययनहरू भएको त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थान पूल्चोकमा विपद् अध्ययन केन्द्र प्रमुख रहेका वसन्तराज अधिकारी बताउँछन्।
“तर पनि सामान्य रूपमै बुझ्न सकिने कुरा भनेको लेकमा पानी बढ्नका लागि कि वर्षा हुनुपर्छ या त हिउँ पग्लिनुपर्छ। हिमताल विस्फोटनका लागि प्रमुख कारण हिउँ पग्लिनुपर्छ जुन जलवायु परिवर्तनका कारण हुने हो भनेर यस पटकको सिधा सम्बन्ध जलवायु परिवर्तनसँग जोडिएको हो,” उनी भन्छन्।
“सामान्यत: त्यस भेगमा कि त हिउँ पग्लिएरै वा पहिरोले तालमा छाल निकालेर विस्फोट हुने गर्छ। पहिरोका कारण हुने विस्फोटनलाई जलवायु परिवर्तनकै असर भनिहाल्न मिल्दैन।”
यस पटक फुटेको थामेमाथिकाजस्ता तालहरू नेपालमा मात्र हजारौँका सङ्ख्यामा रहेको विज्ञहरू बताउँछन्।
हिमालयका धेरै उपत्यकाहरू हिमताल विस्फोटन, पहिरोजस्ता घटनाबाट बनेका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सन् २०२० को एक प्रतिवेदन अनुसार नेपालमा अभिलेख राखिएका २,०७० हिमतालमध्ये २१ वटा “सम्भावित जोखिमयुक्त” भनेर हेरिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








