चार सय 'डार्क नेट' साइट बन्द

silkroad

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकी अधिकारीहरुले बन्द गरिदिएपछि सिल्क २.० यस्तो देखिएको थियो

अन्तर्राष्ट्रिय प्रहरीले लागू औषध, हतियार तथा बालबालिकाका अश्लील सामाग्री व्यापार गर्ने चार सयवटा वेबसाइट बन्द गरिदिएको छ।

त्यस्ता सामाग्री बेच्ने तथा डार्क वेभ भनिने त्यस्ता वेबसाइट चलाउने कयौं मानिसहरुलाई पक्राउ गरिएको जनाइएको छ।

उक्त कारबाही १६ वटा युरोपेली मुलुक र अमेरिकाले संयुक्त रुपमा चलाएका थिए।

सफलता

बन्द गरिएका वेबसाइटहरुमा सिल्क रोड २.० पनि रहेको बताइएको छ।

ती वेबसाइटहरु टोर अर्थात दी अनियन रुटर नामक सञ्जालमा सञ्चालन गरिएका थिए।

परम्परागत सर्च इन्जिनको सजिलै थाहा नपाउन नसक्ने ब्राउजरलाई टोर भनिन्छ।

उक्त कारबाहीका क्रममा सिल्क २.० को हर्ताकर्ता मानिने ब्लेक बेन्थल पनि पक्राउ परेका छन्।

विज्ञहरुले पछिल्लो कारबाहीलाई साइबर अपराध विरुद्धको लडाइमा ठूलो सफलता मानेका छन्।

पक्राउ पर्नेमध्ये ६ जना ब्रिटीश नागरिक पनि छन्।

उनीहरु २० देखि ५८ वर्षका छन् जसमध्ये एक जना महिला पनि छिन्।

टोर, लागूऔषध तथा बालबालिकाका अश्लील तस्वीरहरुको व्यापार गर्नेहरु र उग्रवादी समूहहरुको थलो बन्दै आएको छ।

डार्क नेटका रुपमा पनि चिनिने टोर आफैमा गैरकानूनी भने होईन।

वास्तवमा एउटा अमेरिकी गुप्तचर निकायले दमनकारी शासन अन्तर्गत रहेका मानिसहरुलाई सघाउनका लागि भनी टोरको सिर्जना गरेका थिए।

विश्वभर टोरका ३० लाख प्रयोगकर्ता भएको ठानिन्छ।

तर वेबसाइटहरुको संख्या भने कम रहेको विश्वास गरिन्छ।

कुशलता

कारबाहीका क्रममा १० लाख डलर बराबरको बिटक्वोइन पनि जफत गरिएको बताइएको छ।

अनलाइनबाट तिर्न प्रयोग हुने बिटक्वोइनलाई डिजिटल रकमका रुपमा पनि व्याख्या गर्ने गरिन्छ।

पछिल्लो कारबाहीप्रति खुशी व्यक्त गर्दै युरोपेली प्रहरीको साइबर अपराध केन्द्रका प्रमुख ट्रोल्स् ओर्टिंगले भने, “आज हामीले मिलेर देखाएका छौं कि आपराधिक संरचनाहरु जसले गम्भीर संस्थागत अपराधलाई प्रश्रय दिइरहेका छन् तिनलाई हटाउन कुशलतापूर्वक काम गर्न सक्छौं”।

उनले अपराधीहरुले पहुंच बाहिर रहेको ठानेका वेबसाइटहरु समेत बन्द गर्नु सफलता भएको टिप्पणी गरे।