अरूले गरेको अपराधका लागि मलाई दोष दिनु अनुचित : टेलिग्राम प्रमुख

तस्बिर स्रोत, Getty Images
- Author, अलि अब्बास अहमदी
- Role, बीबीसी न्यूज
सन्देश आदानप्रदान गर्ने एप 'टेलिग्राम'का संस्थापक तथा कार्यकारी प्रमुख पाभल डुरोफले फ्रान्सका अधिकारीहरूको आलोचना गर्दै आफ्नो गिरफ्तारी "अनुचित" भएको दाबी गरेका छन्।
उक्त एपमा पर्याप्त 'मोडरेशन' नहुने आरोपमा उनी अगस्ट २५ मा पूर्वोत्तर प्यारिसस्थित एउटा विमानस्थलबाट पक्राउ परेका थिए।
पक्राउ परेपछि पहिलो पटक एउटा विज्ञप्ति जारी गर्दै डुरोफले टेलिग्राम "अराजकताको स्वर्ग" भएको दाबीको खण्डन गरेका छन्। त्यस्ता टिप्पणीअरू "पूर्णतः असत्य" भएको उनको दाबी छ।
उनलाई टेलिग्राममा अवैध कारोबार, लागुऔषध ओसारपसार, जालसाजी र बालयौनदुर्व्यवहारका तस्बिरहरू फैलिन दिएको आशङ्कामा अभियोग लगाइएको छ।
डुरोफ रुसमा जन्मिएका अर्बपति हुन्। उनीसँग फ्रान्सको पनि नागरिकता छ।
नियन्त्रणमा लिइसकेपछि उनलाई हिरासतमा नभई "न्यायिक निगरानी" मा राखिएको थियो। उनीलाई ५० लाख यूरो जमानत राख्न भनिएको थियो।
उनी साताको दुई पटक प्रहरी चौकीमा हाजिर हुन जानुपर्छ। उनले फ्रान्स छोड्न पाउँदैनन्।
डुरोफले के भने
डुरोफको विज्ञप्ति टेलग्राममा सार्वजनिक भएको हो। त्यसमा उनले टेलिग्राममा तेस्रो पक्षले गरेको अपराधका लागि आफूलाई जिम्मेदार मान्नु "अचम्मलाग्दो" र "अनुचित तरिका" भएको जनाएका छन्।
"यदि कुनै देश इन्टरनेट सेवासँग असन्तुष्ट छ भने उक्त सेवाविरुद्ध कानुनी कारबाही थाल्नु स्थापित अभ्यास हो," उनले भने।
"स्मार्टफोन आउनुअघिका कानुनहरू प्रयोग गरेर कुनै कार्यकारी प्रमुखलाई उनले व्यवस्थापन गर्ने मञ्चमा तेस्रो पक्षले गरेका अपराधमा अभिगोग लगाउनु अनुचित तरिका हो।"
"प्रविधि विकास गर्नु निकै कठिन काम हो। आफूले बनाएका साधनहरूको अरूले दुरुपयोग गर्दाको दोष आफूमाथि नै दोष लाग्छ भने कुनै पनि आविष्कारकले कदापि नयाँ साधन बनाउँदैन," उनले भने।

तस्बिर स्रोत, Reuters
उनले टेलिग्राम सर्वगुणसम्पन्न नभएको कुरा स्वीकार गर्दै उनले फ्रान्सका अधिकारीहरूले आफू र टेलिग्रामसँग सम्पर्क गर्न विभिन्न उपाय रहेको बताए।
उनले युरोपेली सङ्घ (ईयू) मा आफ्नो एपका आधिकारिक प्रतिनिधि रहेको स्मरण पनि गराए।
"टेलिग्राम एक प्रकारको अराजक स्वर्ग हो भन्ने केही सञ्चारमाध्यममा गरिएका दाबीहरू पूर्णतः असत्य छन्। हामी प्रत्येक दिन लाखौँ हानिकारक पोस्ट र च्यानलहरू हटाउने गर्छौँ," उनले भने।
आलोचना
टेलिग्रामले एउटा 'ग्रूप'मा दुई लाख जनालाई सदस्य बन्ने सुविधा दिएको छ। आलोचकहरू त्यस्तो सुविधाबाट मिथ्या सूचना फैलाउन सजिलो हुने तर्क गर्छन्।
उनीहरूका अनुसार त्यस्ता ठूला समूहमा षड्यन्त्रसम्बन्धी अनर्गल कुरा, नवनाजी, बालयौनदुराचार र आतङ्कवादसँग सम्बन्धित सामग्रीहरू आदानप्रदान हुन्छन्।
गत महिना ब्रिटेनका केही सहरमा हिंसा फैलाउन टेलिग्राममा उग्रदक्षिणपन्थी च्यानलहरूको मुख्य भूमिका रहेको आशङ्कामा सो एप छानबिनको दायरामा परेको थियो। त्यसपछि टेलिग्रामले केही ग्रूपहरू हटाएको थियो।
केही साइबर सुरक्षाविज्ञले अतिवादी र गैरकानुनी सामग्री निगरानी गर्ने टेलिग्रामको प्रणाली अन्य सामाजिक सञ्जाल र सन्देश आदानप्रदान गर्ने एपको तुलनामा निकै कमजोर रहेको औँल्याउँछन्।
बिहीवारको आफ्नो वक्तव्यमा डुरोफले टेलिग्राम एपका प्रयोगकर्ताको सङ्ख्या "ह्वात्तै बढेको" स्वीकारेका छन्। उनका अनुसार टेलिग्राम प्रयोगकर्ताको सङ्ख्या ९५ करोड छ।
धेरै प्रयोगकर्ता हुँदा उत्पन्न अवस्थाको फाइदा लिँदै अपराधीहरूले टेलिग्राम दुरुपयोग गरेको हुन सक्ने उनको भनाइ छ।
"यस पक्षमा उल्लेख्य सुधार गर्ने" आफ्नो उद्देश्य भएको उनले बताएका छन्।
अनलाइन मञ्चमा बालयौनदुर्व्यवहारसँग सम्बन्धित सामग्रीको पहिचान गर्ने र तिनलाई हटाउने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुन टेलिग्रामले अस्वीकार गरेको गत साता बीबीसीले थाहा पाएको थियो।
टेलिग्राम कति लोकप्रिय छ

तस्बिर स्रोत, Getty Images
रुसमा जन्मिएका ३९ वर्षीय पावेल डुरोफ सन् २०१७ देखि टेलिग्रामको मुख्यालय रहेको दुबईमा बस्छन्। उनीसँग यूएई र फ्रान्सको नागरिकता छ।
फोर्ब्स म्यागजीनले डुरोफको सम्पत्ति १५.५ अर्ब रहेको आकलन गरेको छ। उनी सन् २०२१ मा फ्रान्सको नागरिक बनेका थिए।
सन् २०१३ मा स्थापना गरिएको टेलिग्राम खास गरी रुस, युक्रेन र पूर्वसोभियत देशहरूमा लोकप्रिय छ।
रुसमा सन् २०१८ मा डुरोफले प्रयोगकर्ताका विवरण बुझाउन सुरुमा अस्वीकार गर्दा उक्त एपमाथि प्रतिबन्ध लगाइएको थियो। उक्त प्रतिबन्ध सन् २०२१ मा हटाइयो।
टेलिग्रामलाई फेसबुक, यूट्यूब, ह्वाट्स्याप, इन्स्टाग्राम, टिकटक र वीच्याटपछिको लोकप्रिय मञ्च मानिन्छ।
टेलिग्राममाथिको निगरानी
रुसमा सरकारी सुरक्षा निकायहरूलाई प्रयोगकर्ताका ‘इन्क्रिप्टिड’ सन्देश हेर्न दिन अदालतले दिएको आदेश नमानेको भन्दै मस्कोले सन् २०१८ देखि उक्त एपमाथि प्रतिबन्ध लगाउन थालेको थियो। तर सरकारको प्रतिबन्धबाट खासै असर नपारेको समाचारसंस्था रोएटर्सले जनाएको छ।
प्रतिबन्ध लगाउने निर्णयपछि मस्कोमा विरोधप्रदर्शनहरू भएका थिए। गैरसरकारी संस्थाहरूले सरकारको आलोचना गरेका थिए।
अहिले टेलिग्रामको बढ्दो लोकप्रियतामाझ फ्रान्ससहित कैयौँ युरोपेली देशमा सुरक्षा र डेटा चुहावटको विषयमा चासो र चिन्ता देखिएको छ।
गत मे महिनामा ईयूको प्रविधि नियामक निकायले टेलिग्राम अनलाइन सामग्रीसम्बन्धी ईयूका कानुनले निर्दिष्ट गरेका कडा मापदण्ड पालना गर्नुपर्ने अवस्थानजिखै पुगेको जनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








