टेलिग्रामका सीइओ पावेल डुरोफ फ्रान्सको विमानस्थलमा पक्राउ

तस्बिर स्रोत, Getty Images
- Author, टोमस म्याकिन्टोस
- Role, बीबीसी न्यूज
टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोफलाई फ्रान्सका प्रहरीले प्यारिसभन्दा उत्तरमा अवस्थित एक विमानस्थलबाट पक्राउ गरेका छन्।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार उनको निजी जेट लु बुर्च्छे विमानस्थलमा अवतरण गरेलगत्तै डुरोफलाई नियन्त्रणमा लिइएको थियो।
अधिकारीहरूका अनुसार ३९ वर्षका उनलाई सन्देश आदानप्रदानका लागि प्रयोग हुने लोकप्रिय एपसँग सम्बन्धित कसुरमा पक्राउ गरिएको हो।
सञ्चारमाध्यमका अनुसार डुरोफलाई अपराधीहरूले टेलिग्राम प्रयोग गरेका सम्बन्धी अनुसन्धानमा नसघाएको आरोप लगाइएको छ।
फ्रान्सस्थित रुसी राजदूतावासले परिस्थिति प्रस्ट पार्नका लागि ‘तत्कालै कदम चालिरहेको’ रुसको तास समाचार संस्थाले जनाएको छ।
डुरोफ आफ्नो निजी जेटमा यात्रा गरिरहेको फ्रान्सेली टेलिभिजन च्यानल टीएफ वानले आफ्नो वेबसाइटमा जनाएको छ।
टेलिग्रामले आफ्ना संस्थापकको गिरफ्तारिको निन्दा गर्दै एउटा विज्ञप्ति निकालेको छ।
उसले टेलिग्रामले ईयु कानुनहरू स्वीकार गरेको भन्दै उक्त प्ल्याटफर्मसँग जोडिएका उल्लङ्घनहरूलाई लिएर उनलाई पक्राउ गर्नु अर्थहीन रहेको उल्लेख गरेको छ।
टेलिग्रामलाई लागु औषध तस्करी, बाल यौन दुर्व्यवहार र ठगीबारेका अनुसन्धानमा नसघाएको आरोप लगाइएको छ।
एक्सका मालिक इलोन मस्कले डुरोफको गिरफ्तारिले युरोपमा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएको देखाएको प्रतिक्रिया दिएका छन्।
रुस-युक्रेनमा लोकप्रिय एप
टेलिग्राम रुस, युक्रेन र पूर्व सोभियत सङ्घ देशहरूमा विशेष रूपमा लोकप्रिय रहेको छ।
रुस युक्रेनबीच जारी युद्धमा सूचनाको प्रमुख स्रोत रहेको यस एपलाई किभए र मस्को दुवैतर्फका अधिकारीहरूले व्यापक रूपमा प्रयोग गर्ने गर्छन्।
प्रयोगकर्ताको तथ्याङ्क दिन त्यसअघि अस्वीकार गरेका कारण सन् २०१८ मा उक्त एपमाथि रुसमा प्रतिबन्ध लगाइएको थियो।
तर सन् २०२१ मा उक्त प्रतिबन्ध हटाइएको थियो।
टेलिग्राम एउटा प्रमुख सामाजिक सञ्जाल हो। फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र वीच्याटपछी यसका प्रयोगकर्ता धेरै रहेको ठानिन्छ।
डुरोफले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए।
उनले आफ्नो सामाजिक सञ्जाल भीकन्ट्याक्टमा रहेका विपक्षीहरूका समूहहरूलाई बन्द गर्ने सरकारको माग कार्यान्वयन गर्न अस्वीकार गर्दै सन् २०१४ मा रुस छाडेका थिए।
उनले उक्त प्ल्याटफर्म विक्री गरेका थिए।
यस वर्षभित्र मासिक प्रयोगकर्ताको सङ्ख्या एक अर्ब पुर्याउने लक्ष्य टेलिग्रामले राखेको छ।

तस्बिर स्रोत, Reuters
टेलिग्राममाथिको निगरानी
फोर्ब्सले डुरोफको सम्पत्ति १५.५ अर्ब रहेको आकलन गरेको छ। उनी सन् २०२१ मा फ्रान्सको नागरिक बनेका थिए।
सन् २०१७ मा आफू र टेलिग्राम दुवैलाई दुबईमा सारेका उनले यूएईको पनि नागरिकता लिएको फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन्।
सरकारी सुरक्षा निकायहरूलाई प्रयोगकर्ताका ‘इन्क्रिप्टेड’ सन्देशहरूमा पहुँच दिन अदालतले दिएको आदेश नमानेको भन्दै रुसले सन् २०१८ बाट उक्त एपमाथि प्रतिबन्ध लगाउन थालेको थियो।
तर त्यसले त्यहाँ टेलिग्रामको उपलब्धतामा खासै असर नपारेको रोयटर्सले जनाएको छ।
उक्त कदमले मस्कोमा विरोध प्रदर्शनहरू निम्त्याएको थियो भने गैरसरकारी संस्थाहरूले सरकारको आलोचना गरेका थिए।
पछिल्लो समय टेलिग्रामको बढ्दो लोकप्रियतामाझ फ्रान्ससहित कैयौँ युरोपेली देशहरूमा सुरक्षा र तथ्याङ्कको चुहावटलाई लिएर चिन्ताहरू प्रकट हुने गरेका छन्।
मे महिनामा युरोपेली सङ्घको प्रविधि नियामक निकायले इयूको अनलाइन सामाग्रीहरू सम्बन्धी कानुन अन्तर्गतका कडा मापदण्डहरू पालना गर्नुपर्ने अवस्थाको नजिक टेलिग्राम पुगेको भन्दै उक्त सञ्जालसँग आफूहरू सम्पर्कमा रहेको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








