अमेरिकामा ख्याति कमाइरहेका अरू चिनियाँ एप

तस्बिर स्रोत, Getty Images
- Author, चेल्सी बेली
- Role, बीबीसी न्यूज, वासिङटन
टिकटक अमेरिकामा निःशुल्क उपलब्ध सर्वाधिक लोकप्रिय एप हो। तर हालैका दिनमा आफ्ना सामग्रीभन्दा पनि चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धको आरोपलाई लिएर उक्त सञ्जाल चर्चामा छ।
त्यसका प्रमुख सोउ जी चिउ हालै अमेरिकी कङ्ग्रेसमा उपस्थित भएका थिए त्यस क्रममा अमेरिकी नेताहरूले टिकटकको माऊ कम्पनी बाइटडान्स र उक्त एपले सङ्कलन गर्ने विवरणका बारेमा उनलाई कडा प्रश्नहरू सोधेका थिए।
तर पश्चिमा बजारहरू कब्जा गर्ने चिनियाँ स्वामित्वको मोबाइल एप टिकटक मात्रै होइन।
एपटोपियाको विश्लेषणका आधारमा संसारभर लोकप्रिय १० निःशुल्क एपमध्ये अन्य तीनवटा पनि चिनियाँ स्वामित्वका छन्। यूकेमा पनि तिनीहरू सर्वाधिक डाउनलोड हुने एपमा पर्छन्।
ती एप कुन हुन् र किन लोकप्रिय छन्?
क्याप कट
'भिडिओ एडिटिङ एप' 'क्याप कट'लाई टिकटकका लागि भिडिओ सामग्री उत्पादन गर्न प्रयोग गर्ने माध्यमका रूपमा हेर्ने गरिन्छ।
सेन्सर टावरका अनुसार उक्त एप फेब्रुअरी महिनामा मात्रै एक करोड ३० लाख पटक डाउनलोड गरिएको थियो।
उक्त भिडिओ दृश्य सम्पादन गर्ने एपको प्रयोगबाट भिडिओलाई भाइरल बनाउन सहयोग गर्ने लोकप्रिय गीतहरू, फिल्टर र स्पेसल इफेक्टहरू थप्न सकिन्छ।
क्याप कट पनि टिकटकको माऊ कम्पनी बाइटडान्सको स्वामित्वमा छ।
साइन
'शी इन' एक लोकप्रिय फेशन ब्रान्ड हो जुन सन् २०१२ मा स्थापना भएको थियो।
अहिलेको बजार मूल्याङ्कनमा त्यसको मूल्य लगभग १५ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ।
चिनियाँ अर्बपति क्रिस सू शीइनका संस्थापक हुन् र उक्त कम्पनीको मुख्यालय सिङ्गापुरमा छ।
टिकटक र इन्स्टाग्राममा खोजी गर्ने बित्तिकै सामाजिक सञ्जालमा प्रभावशाली सयौँ व्यक्तिको भिडिओ देखा पर्छ।
त्यसले सामाजिक सञ्जालको प्रयोग गरी सस्तो मूल्यका उसका सयौँ नयाँ उत्पादनतर्फ 'जेन जी' पनि भनिने सन् २००० लागेयता जन्मिएका पुस्तालाई आकर्षण गर्ने गरेको छ।
टिमु
शपिङ एप टिमु अमेरिका पुगेको एक वर्षभन्दा कम समय भए पनि त्यसले छोटो अवधिमै एमजन र वालमार्टलाई विस्थापित गरिसकेको छ।
उक्त अनलाइन सुपरस्टोरले कपडादेखि विद्युतीय सामग्री समेत बेच्ने गर्छ।
त्यसले उपभोक्तालाई स्टोरहरूलाई पन्छाउँदै सोझै चिनियाँ उत्पादकबाट खरिद गर्न मिल्ने व्यवस्था गरेको छ।
मूल्य यति सस्तो छ कि यस वर्षको 'सुपर बल' मा उक्त कम्पनीले विज्ञापन गरेपछि धेरै अमेरिकीहरूले ‘के टिमु वैधानिक हो’ भन्दै इन्टरनेटमा खोजेका थिए।
बोस्टनमा मुख्यालय रहेको उक्त कम्पनी चिनियाँ स्वामित्वको अनलाइन खुद्रा व्यापार गर्ने पीडीडी होल्डिङ्ग्सको शाखा हो।
सो खुद्रा व्यवसायी कम्पनीले प्रत्यक्ष रूपमा ग्राहकसँगै कारोबार गर्न विशेषता हासिल गरेको छ।

तस्बिर स्रोत, Getty Images
चिनियाँ एपहरूले अमेरिकामा पाइरहेको सफलतालाई अमेरिकी एपहरूमाथि आफ्ना घरेलु बजारमा लगाइएका प्रतिबन्धले निम्त्याएको चर्को प्रतिस्पर्धाको उपजका रूपमा विज्ञहरूले अर्थ लगाएका छन्।
तत्कालै मेसेज पठाउन मिल्ने एप वीच्याटमा यस्ता खालका एल्गोरिदमहरू प्रयोग गरिएका छन् जसले चीन वा अन्यत्र रहेका प्रयोगकर्ताका आवश्यकताहरूलाई उनीहरूले चाहेअनुसार परिपूर्ति गर्न सक्छन्।
“चीनका प्रविधि कम्पनीहरूले देशभित्र यति सघन प्रतिस्पर्धाको अवधि पार गरिसकेका छन् कि त्यस्तो अवस्थाले उनीहरूलाई अमेरिकी एप जत्तिकै वा त्योभन्दा राम्रो बनाएको छ,” चिनियाँ प्रविधिमा दखल राख्ने एक पत्रकार र एमआईटीका अनुसन्धानकर्ता जेयी याङले भने।


विश्व बजारमा सफलता पाउने पहिलो चिनियाँ स्वामित्वको कम्पनी टिकटक हो।
अमेरिकी कानुनविद् तथा राष्ट्रिय सुरक्षा विज्ञहरूले चिनियाँ स्वामित्वको एपले संवेदनशील तथ्याङ्कको गोपनीयतामा जोखिम थप्न सक्ने भन्दै चिन्ता जनाएका थिए।
उनीहरूले टिकटकमा चिनियाँ कम्युनिस्ट पार्टीको सेन्सरशीप पनि हुने चेतावनी दिएका छन्।
अमेरिका र अरू लोकतान्त्रिक देशहरूले चीनबाहिर टिकटकका कारण उत्पन्न चुनौती कसरी सम्बोधन गर्छन् भन्ने कुराले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको स्वतन्त्रतामा गहिरो अर्थ राख्ने 'फोर ब्याटलग्राउन्डस्: पावर इन द एज अफ आर्टिफिसल इन्टेलिजन्स' पुस्तकका लेखक पल सेअरर बताउँछन्।
उनले आफ्ना प्रयोगकर्ताबारे सरकारले मागेका जानकारी उपलब्ध नगराउन एपलजस्ता अमेरिकी कम्पनीले लामो कानुनी लडाइँ लडेको उल्लेख गर्दै चीनमा त्यस्ता उपाय अस्तित्वमा नरहेको बताए।
“यदि चिनियाँ कम्युनिस्ट पार्टीले उनीहरूले केही गर्नुपर्छ भन्यो भने ती कम्पनीहरूसँग कुनै विकल्पै हुँदैन।”
टिकटकका प्रमुख सोउ जी चीउले सुरक्षा चिन्ताहरूबारे अमेरिकीहरूलाई आश्वस्त पार्ने प्रयास हालै भएको कङ्ग्रेसको सुनवाइमा गरेका थिए।
बीबीसीलाई पठाएको विज्ञप्तिमा टिकटकले अमेरिकी प्रयोगकर्ताको तथ्याङ्क विदेशी सरकारको पहुँचबाहिर रहेको जनाएको थियो।
बीबीसीले अरू एपहरूलाई पनि प्रतिक्रियाका लागि सम्पर्क गरेको थियो।
सिअररले अमेरिकी सांसदहरूले डेटा गोपनीयतासम्बन्धी विस्तृत कानुन पारित नगर्दासम्म जुन देशको स्वामित्व भए पनि तथ्याङ्कहरूको दुरुपयोग हुने जोखिम रहेको बताए।
“चीनले जे गरेपनि खराब हुन्छ भनेर हतारमा निर्णय लिँदा त्यसले खतरा निम्त्याउन सक्छ।”
उनले थपे, “ एप वा अन्य कम्पनीहरूका के कस्ता शर्तहरू स्विकार गरिरहेका छन्, तिनले के लगिरहेका छन् वा कसरी तिनको प्रयोग भइरहेको छ भनेर पत्तो नपाईकनै मानिसहरूले आफ्ना फोनमा रहेका धेरै तथ्याङ्कहरू उपलब्ध गराइरहेकाछन्। मलाई लाग्छ मानिसहरूले सबै एपलाई लिएर आशङ्का गर्नुपर्छ।”








