सोउ जी चीउ: टिकटकका प्रमुख कार्यकारी को हुन्?

टिकटकका सीईओ

तस्बिर स्रोत, Getty Images

टिकटकका प्रमुख कार्यकारी सोउ जी चीउले अमेरिकी संसद्‌मा बिहीवार साढे चार घण्टा लामो प्रश्नोत्तर सामना गरेका छन्।

उनले १५ करोड अमेरिकीले आफ्नो एप मन पराउने भन्दै उनीहरूको "गोपनीयता सुनिश्चित गर्ने जिम्मेवारी आफूहरूले लिने" वाचा गरे। चीउले किशोर किशोरीहरूको गोपनीयताको रक्षा आफूहरूको प्रमुख प्राथमिकता भएको बताए थिए।

चालीस वर्षीय सिङ्गापुरका नागरिकले अमेरिकी सदनको ऊर्जा र वाणिज्यसम्बन्धी समितिमा उक्त एपको डेटा सुरक्षा र गोपनीयता अनि बेइजिङसँगको निकट सम्बन्धको आरोपबारे बयान दिए।

चिनियाँ एपमाथि अमेरिकामा प्रतिबन्ध लाग्नसक्ने विश्वव्यापी आशङ्काबीच टिकटकका प्रमुख कार्यकारीबारे चासो बढेका छन्।

उनी कसरी काम गर्छन् वा कम्पनीमा उनको वास्तविक शक्ति कति हो भन्नेबारे कमै जानकारी सार्वजनिक भएको छ।

प्रमुख कार्यकारी अधिकृत भेनेसा पापास टिकटककी बाहिर देखिने अनुहार हुन्।

उनलाई अघिल्लो वर्ष कङ्ग्रेसले बयान लिँदै अमेरिकाबाट चीनसम्म तथ्याङ्क प्रवाह भएकाबारे प्रश्न गरेको थियो।

सोउको पृष्ठभूमि

गत सेप्टेम्बरमा न्यूयोर्क टाइम्समा प्रकाशित एउटा प्रोफाइलमा पूर्वटिकटक र बाइटडान्सका कार्यकारीहरूलाई उद्धृत गरिएको छ।

त्यसमा निर्णय लिने चीउको क्षमता सीमित रहेको भन्दै बाइटडान्सका संस्थापक जाङ यिमिङले कम्पनीमा नियन्त्रण कायम गरेको जनाइएको छ।

तर अहिले टिकटकले चीउलाई सार्वजनिक रूपमा नै केन्द्रमा राखेको छ।

चीन सरकारसँग टिकटकको सम्बन्ध व्यापक निगरानीमा परिरहेका बेला यस्तो घटनाक्रम देखिएको हो।

अघिल्लो जूनमा सांसद्हरूलाई लेखेको पत्रमा उसले माऊ कम्पनी बाइटडान्सभन्दा स्वायत्त ढङ्गले काम गर्दै आएकोमा जोड दिएको छ।

उक्त कम्पनीले उनी चीनबाट नभएको तर ‘सिङ्गापुरमा बस्दै आएका सिङ्गापुरका नागरिक’ रहेको जनाएको छ।

त्यहाँ नै जन्मिएर हुर्किएर उनले प्रतिष्ठित चिनियाँ भाषाको विद्यालयमा अध्ययन गरेका थिए। उनी इङ्ग्लिश र म्यानडेरिअन फरर बोल्न सक्छन्।

उनले अनिवार्य सैन्य सेवामा सरिक हुने क्रममा सिङ्गापुरको सशस्त्र बलमा अधिकृतका रूपमा काम गरेका थिए।

रेखा
रेखा

चीउले युनिभर्सिटि कलेज लन्डनबाट स्नातक अध्ययन पूरा गरेका छन् भने हार्वड बिजनेश स्कूलबाट एमबीए गरेका छन्। फेसबुक भर्खरै खुलेको स्टार्ट अप रहेका बेला उनले त्यहाँ 'इन्टर्न' गरेका थिए।

खबरहरूका अनुसार उनले एउटा लगानी फर्म डीएसटीमा पाँच वर्ष काम गरेका थिए जहाँ उनले एउटा टोलीको नेतृत्व गरेका थिए जो सन् २०१३ मा बाइटडान्सको प्रारम्भिक लगानीकर्ता बनेको थियो।

उनले गोल्डम्यान स्याक्समा दुई वर्ष इन्भेस्टमेन्ट ब्याङ्करका रूपमा काम गरेका थिए।

त्यसपछी चीउले चिनियाँ अग्रणी स्मार्टफोन कम्पनी साओमीमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाले।

त्यहाँ उनी प्रमुख वित्तीय अधिकारी र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अध्यक्ष थिए। सन् २०१८ मा उनले उक्त कम्पनीलाई सेयर बजारमा सूचीकृत हुने दिशामा डोर्‍याएका थिए।

उनले सन् २०२१ को मार्चमा बाइटडान्सको प्रमुख वित्तीय अधिकृतको जिम्मेवारी सम्हाले।

त्यसको दुई वर्षपछि उनले टिकटकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अँगाले।

ट्रम्प प्रशासनले अमेरिकामा रहेका टिकटकका सम्पत्तिहरू बेच्न दबाव दिने प्रयास जारी राखेपछि उनका पूर्ववर्ती केभिन मेअरले राजीनामा दिएका थिए।

सबैभन्दा ठूलो चुनौती

चीउले टिकटकसँगको आफ्नो कार्यकालमा सबैभन्दा ठूलो चुनौती सामना गरिरहेका छन्।

अमेरिकी सांसदहरूले उक्त कम्पनीलाई अमेरिकामा रहेका उसका सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्न या प्रतिबन्ध खेप्न चेतावनी दिइरहेका छन्।

यो चीनका लागि पनि एउटा गतिरोधको विषय बनेको छ।

सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा मङ्गलवार प्रकाशित लेखमा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास ‘विषाक्त अमेरिकी राजनीतिक वातावरण’ बाट प्रेरित रहेको भन्दै त्यसले स्वतन्त्र बजारको सिद्धान्तको उल्लङ्घन गर्ने उल्लेख गरिएको थियो।

“अमेरिकी अधिकारी र राजनीतिज्ञहरूको नजरमा टिकटकको चिनियाँ पृष्ठभूमि वास्तविक पाप हो।”

दुवै तर्फबाट गम्भीर निगरानीमा परेका चीउले हालैका महिनाहरूमा अप्ठेरो बाटो हिँड्नुपरिरहेको छ।

टिकटक सिइओ

तस्बिर स्रोत, Getty Images

टिकटकमा जिम्मेवारी सम्हालेको एक वर्षपछि उनले गएको फेब्रुअरीमा आफ्नो व्यक्तिगत जीवनबारे जानकारी दिन टिकटक खाता @shou.time खोलेका थिए।

उनलाई १८ हजारले पछ्याइरहेका छन्।

उनले सुपर बल र एनबीए खेलमा सहभागी भएको साथै बील मुर्रेसहितका चर्चित व्यक्तित्वलाई भेटेका र सिएरासँग नाच्ने प्रयास गरेका भिडिओ राखेका थिए।

उनकी श्रीमती भिभिअन काओ एउटा इन्भेस्टमेन्ट फर्मकी सिइओ थिइन्। उनले ‘कलिलै’ भएका कारण आफ्ना सन्तानलाई टिकटक प्रयोग गर्न नदिएको बताए।

हालैका महिनाहरूमा उनले अमेरिकी सञ्चारमाध्यमहरूसँग अन्तरक्रिया गर्दै टिकटकले अमेरिकी स्वार्थहरूमा जोखिम नपुर्‍याएको बताउँदै आएका छन्।

उनले सोझै अमेरिकी टिकटक प्रयोगकर्ताहरूसँग मद्दत पनि मागेका छन्। सोमवार साँझ आफ्नो आधिकारिक खातामा राखिएको भिडिओमा उनले मानिसहरूलाई आफ्ना सांसदहरूलाई के भन्न चाहन्छौँ भनेर प्रश्न गरेका थिए।

पाँच लाखभन्दा बढी लाइक प्राप्त गरेको उक्त क्लीपमा उनले भनेका छन्, “यो हाम्रा लागि एउटा महत्त्वपूर्ण क्षण हो। यसले तपाईँहरू १५ करोड जनाबाट टिकटक खोस्न सक्छ।”