मिथ्या सूचना विवादपछि ब्रजिलमा एक्सलाई प्रतिबन्ध, इलोन मस्क के भन्छन्?

तस्बिर स्रोत, Reuters
- Author, सोफिया फेरिरा सान्टोस
- Role, बीबीसी न्यूज
कानुनी प्रतिनिधि तोक्न विफल रहेको भन्दै इलोन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्सलाई ब्रजिलमा प्रतिबन्ध लगाइएको छ।
एक जना सर्वोच्च अदालतका न्यायाधीशले अदालतका सबै आदेशको पालना र झन्डै ३० लाख डलर जरिवाना नतिरेसम्म विगतमा ट्विटर भनेर चिनिने उक्त सञ्जाललाई ‘ब्लक’ गर्न टेलिकम सेवा प्रदायकहरूलाई आदेश दिएका छन्।
ब्रजिलमा एक्सका २ करोड २० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्।
मिथ्या सूचना फैलाएको आरोप खेपेका दर्जनौँ एक्स अकाउन्टहरू निलम्बन गर्न ती न्यायाधीशले दिएको आदेशलाई लिएर लामो समयदेखि उत्पन्न विवादका माझ उक्त प्रतिबन्ध लगाइएको हो।
मस्कले उक्त आदेश राजनीतिक रूपले पूर्वाग्रही रहेको बताउँदै ती न्यायाधीशलाई अभिव्यक्ति स्वतन्त्रता ध्वस्त पारिरहेका एक जना तानासाहको संज्ञा दिएका छन्।
ब्रजिलको सर्वोच्च अदालतले एक्समाथि किन प्रतिबन्ध लगायो?
न्यायाधीश एलेसान्ड्री डी मोराइसले अदालतको आदेशहरूलाई पालना गर्ने र तोकिएका जरिवाना नतिरेसम्म ‘तत्कालै लागु हुनेगरी पूर्ण रूपमा रोक’ लगाउन आदेश दिएका थिए।
गएको एप्रिल महिनामा न्यायाधीशले मिथ्या सूचना फैलाएको आरोपमा दर्जनौँ खाताहरूमाथि प्रतिबन्ध लगाउन आदेश दिएपछि यस विवाद सुरु भएको थियो।
उक्त निर्णयबारे प्रतिक्रिया जनाउँदै एक्सका मालिक इलोन मस्कले भने: “अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो तर ब्रजिलमा एक जना गैरनिर्वाचित नक्कली न्यायाधीशले राजनीतिक उद्देश्यले यसलाई ध्वस्त बनाइरहेका छन्।”
मस्क जोडिएका श्रृङ्खलाबद्ध विवादहरूमध्ये सबैभन्दा पछिल्लो घटनाका रूपमा यसलाई हेरिएको छ।
विगतमा एक्सको नियमनको विषयलाई लिएर युरोपेली सङ्घ र उनीबीच विवाद उत्पन्न भएको थियो।
यसै महिनाको सुरुमा उनको ब्रिटेनका प्रधानमन्त्री सर किअर स्टार्मरसँग पनि आरोप प्रत्यारोप चलेको थियो।
ब्राजिलको दूरसञ्चार निकायका प्रमुखले अदालतको आदेशको कार्यान्वयनको दिशामा आफूहरू अघि बढेको उनलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले लेखेको छ।

तस्बिर स्रोत, Reuters
अबको २४ घण्टाभित्र उक्त सञ्जाल ब्रजिलमा उपलब्ध नहुने ठानिएको छ।
न्यायाधीश मोराइसले एपल र गुगलजस्ता कम्पनीहरूलाई तीनका ‘एप्लिकेशन स्टोर’बाट एक्सलाई हटाउन र आइओएस र एन्डरोइड प्रणालीमा ‘ब्लक’ गर्न पाँच दिनको समयसीमा तोकेका छन्।
उनले भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरेर एक्स चलाउने व्यक्ति वा व्यापारिक समूहहरूलाई झन्डै ६.७ हजार पाउन्ड स्टर्लिङ अर्थात् करिब १२ लाख रुपियाँ जरिवाना लिनसक्ने चेतावनी दिएका छन्।
ती न्यायाधीशको आदेश अनुसार ब्राजिलको कानुन उल्लङ्घन गरेकोमा जरिवाना नतिरेसम्म र नयाँ कानुनी प्रतिनिधि नतोकेसम्म एक्समाथिको प्रतिबन्ध कायम रहनेछ।
एक्सको प्रतिक्रिया के छ? मिथ्या सूचना विवाद के हो?
विगतमा आफ्नो आधिकारिकमध्येको एउटा खातामा राखिएको विवरणमा एक्सले ती मागहरू सम्बोधन नगर्ने जनाएको थियो।
त्यसमा लेखिएको थियो: “चाँडै न्यायाधीश एलेसान्ड्री डी मोराइसले ब्राजिलमा एक्स बन्द गर्ने हामीले अपेक्षा गरेका छौँ। त्यसैको आधारमा राजनीतिक प्रतिद्वन्द्वीमाथि अङ्कुश लगाउने उनको गैरकानुनी आदेशलाई हामी पालना गर्नेछैनौँ।”
सो पोस्टमा ती न्यायाधीशले एक्सले ब्रजिलको ‘आफ्नो कानुन तोडोस्’ भन्ने माग गरेको भन्दै आफूहरूले त्यस्तो नगर्ने लेखिएको थियो।
न्यायाधीश मोराइसले मिथ्या सूचना फैलाएको आरोप लागेका एक्सका खाताहरू ती विषयमाथिको अनुसन्धान सम्पन्न नभएसम्म ‘ब्लक’ गरिनुपर्ने आदेश दिएका थिए।
त्यसरी आरोप लागेकामध्ये धेरैवटा खाता पूर्वदक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुका समर्थकहरूको हो।
न्यायाधीशले कुनै पनि खाता सक्रिय भए उक्त कम्पनीका कानुनी प्रतिनिधिलाई जबाफदेही बनाइने पनि उल्लेख गरेका छन्।
यसैबीच सर्वोच्च अदालतको आदेशपछि मस्कको स्याटलाइट इन्टरनेट फर्म स्टारलिङ्कको ब्याङ्क खाता समेत ब्रजिलमा रोक्का गरिएको छ।

तस्बिर स्रोत, Reuters
स्टारलिङ्कले एक्समा एउटा पोस्ट राख्दै आधारहीन ढङ्गले ‘असंवैधानिक’ रूपमा एक्समाथि लगाइएको जरिवानाका लागि स्टारलिङ्कलाई जबाफदेही बनाउन खोजिएको जनाएको छ।
मस्कले समेत एक्समार्फत् ‘स्पेशएक्स र एक्स दुई पूर्ण रूपमा फरक कम्पनीहरू रहेको र त्यसका फरक साझेदारहरू रहेको’ जनाएका छन्। स्टारलिङ्क मस्कको रकेट कम्पनी स्पेशएक्सको सहायक संस्था हो।
सन् २०२२ मा तत्कालीन राष्ट्रपति बोल्सोनारूले ब्राजिलमा स्टारलिङ्कको सञ्चालनका लागि अनुमति दिएका थिए।
दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्रजिलमा दुर्गम एमजन क्षेत्र पनि पर्छ जुन स्टारलिङ्कको लागि ठूलो सम्भावना रहेको क्षेत्र हो। स्टारलिङ्कले दुरदराजका ठाउँमा इन्टरनेट सेवा उपलब्ध गराउँछ।
न्यायाधीश मोराइसले देशमा सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने निर्णयहरूका लागि चर्चित छन्।
गतसाल ज्यानुअरी ८ मा गरिएको भनिएको सत्ता पलटको प्रयासमा पूर्वराष्ट्रपति बोल्सोनारू र उनका समर्थकहरूको भूमिकालाई लिएर पनि उनले अनुसन्धान गरिरहेका छन्।
ब्रजिलमा अधिकारीहरूबाट दबाब खेप्ने पहिलो सामाजिक सञ्जाल कम्पनी एक्स होइन।
अघिल्लो वर्ष निश्चित प्रोफाइलहरू ब्लक नगरेको भन्दै अस्थायी रूपमा टेलिग्रामलाई समेत प्रतिबन्ध लगाइएको थियो।
मेटाको मेसेजिङ एप ह्वाट्सएपलाई पनि प्रयोगकर्ताका तथ्याङ्क उपलब्ध गराउने प्रहरीको अनुरोधलाई अस्वीकार गरेको भन्दै सन् २०१५ र सन् २०१६ मा अस्थायी प्रतिबन्ध लगाइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








