इलोन मस्क 'एक्स'लाई किन चिनियाँ 'वीच्याट'जस्तै बनाउन चाहन्छन्

इलोन मस्क

तस्बिर स्रोत, Reuters

    • Author, पिटर हस्किन्स र फान वाङ
    • Role, बीबीसी न्यूज

गत साताको सुरुमा इलोन मस्कले ट्विटरलाई 'एक्स'को स्वरूप दिए जुन चीनको धेरै सुविधायुक्त विशाल एप वीच्याटलाई विस्थापित गर्ने उनको योजनामा अर्को कदम हो।

लामो समयदेखि मस्कले गत वर्ष आफूले किनेको सामाजिक सञ्जाल मञ्चमा परिवर्तन गर्ने आफ्नो इच्छा भएको बताउँदै आएका थिए। चवालीस अर्ब अमेरिकी डलरमा किनिएको उक्त मञ्चलाई उनी अझ ठूलो बनाउन चाहन्छन्।

"एभ्रिथिङ एप" भनिने उक्त एपको यसअघि उनले प्रशंसा गरेका थिए। त्यसमा च्याट, डेटिङ, भुक्तानी र सामाजिक सञ्जाल समेटिएको छ। अनि "ट्विटरलाई त्यसको नजिक मात्र पुर्‍याउनु पनि ... एउटा ठूलो सफलता हुने" भनेका थिए।

एक्समा गत साता एउटा पोस्टमार्फत् मस्कले आउँदा महिनामा आफूहरूले "विस्तृत सञ्चार र तपाईँको पूरै वित्तीय विश्व चलाउन सक्ने" क्षमता थप गर्ने जनाएका थिए।

लाइन
लाइन

विस्तारित एक्सले आम्दानी बढाउने उनको आशा छ।

मस्कले उक्त कम्पनी किनेपछि उसले विज्ञापनबाट हुने कमाइ गुमाएको छ र त्यसले ऋणको ठूलो भारी बोक्नुपरेको छ।

वीच्याट के हो र किन मस्क त्यसको अनुसरण गर्न चाहन्छन्?

सन् २०११ मा विशाल प्रविधि कम्पनी टेन्सेन्टले सुरु गरेको वीच्याटलाई अहिले चीनका लगभग सबैजसो १.४ अर्ब मानिसले प्रयोग गर्छन्।

केवल सुपर-एप भन्नु त्यसलाई कम आक्नुहुन्छ।

यसका सेवाहरूमा सन्देश पठाउने, भोइस तथा भिडिओ कलिङ, खानेकुरा पठाउने, मोबाइल भुक्तानी, खेलहरू र डेटिङ समेत पर्छन्।

यो ह्वाट्स्याप, फेसबुक, एपल पे, एमजन, टिन्डर र अन्य कैयौँका सुविधा एउटैमा समेटिए जस्तो छ।

चिनियाँ समाजमा यस एपबिना बाँच्न असम्भव छ भन्ने गरिन्छ।

तलका तस्बिरमा देखिएझैँ यसका विभिन्न कामका छुट्टाछुट्टै इन्टरफेसहरू छन्।

वीच्याट
तस्बिरको क्याप्शन, वीच्याटको किनमेल सेवा (बायाँ), खानेकुरा पुर्‍याउने, होटल तथा सिनेमा बुकिङ सेवा (बीचमा) र लगानी पृष्ठ (दायाँ)

व्हाट्स्याप वा आईमेसिज मञ्चजस्तै 'भी-च्याट' सुरु भयो।

यसको सबैभन्दा धेरै प्रयोग गरिएका सुविधाहरू 'च्याट्स' र 'मोमन्ट्स' हुन्।

च्याट्समा ह्वाट्स्यापमा जस्तै कुराकानी गर्ने सुविधा छ जबकि 'मोमन्ट्स'ले फेसबुकले जस्तै काम गर्छ।

भी-च्याटको वालेट सुविधा अत्यधिक रूपमा प्रयोग गरिन्छ। यसलाई डेबिट र क्रेडिट कार्डसँग जोड्न सकिन्छ।

चीनका अधिकांश पसल र अनलाइन खुद्रा विक्रेताहरूले वीच्याटमार्फत्‌ भुक्तानी लिन्छन्।

प्रयोगकर्ताहरूले क्यूआर कोड प्रयोग गरेर यस एपमार्फत्‌ भुक्तानी गर्न सक्छन्।

मानिसहरूले यसलाई घरेलु बिलहरू तिर्न प्रयोग गर्छन्। वीच्याटमार्फत्‌ पनि ऋण लिन सकिन्छ र लगानी पनि गर्न सकिन्छ।

सरकारी सुविधा पनि भी-च्याटमा उपलब्ध छ। सामाजिक सुरक्षासँग सम्बन्धित जानकारी प्राप्त गर्नुका साथै प्रयोगकर्ताले टिकट बुकिङ गर्न र त्यसबाट अस्पतालमा चिकित्सकहरूसँग जँचाउने समय लिन समेत सक्छन्।

कोभिड महामारीको समयमा चीनमा 'शून्य कोभिड' नीतिअन्तर्गत प्रतिबन्धहरू लगाइएका बेला यो एप मानिसहरूका लागि अनिवार्यजस्तै भयो।

उक्त एपमार्फत्‌ सिर्जना हुने 'हेल्थ कोड'बिना कतै बाहिर निस्कन मिल्दैनथ्यो।

लाइन
लाइन

चिन्ता

तर यस एउटै एपमा धेरै सुविधाहरू हुनुको बेफाइदाहरू पनि छन्।

धेरै सुविधाहरू भएको कारण यसले फोनको मेमोरीको ठूलो भाग लिन्छ।

यसले धेरै गिगावाटमै डेटा भण्डारण गर्न ठाउँ औगट्छ।

वीच्याट

तस्बिर स्रोत, Getty Images

चीनमा जनजीवनको हरेक भागमा वीच्याटको उपस्थितिले सरकारी सेन्सरशिप, निगरानी र गोपनीयतालाई लिएर चिन्ता बढाएको छ।

चीनले धेरै विदेशी वेबसाइटहरूमा पहुँच रोकेको छ। त्यहाँ बीबीसीजस्ता समाचार वेबसाइटदेखि लिएर फेसबुकजस्ता सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ।

मस्क एक्सलाई वीच्याट बनाउन चाहन्छन्। तर चीनमा एक्स अर्थात् ट्विटर समेत प्रतिबन्धित रहेको विडम्बनापूर्ण अवस्था छ।

इन्टरनेटमा सरकारी नियन्त्रणको यो स्तरले वीच्याटमा सरकारविरुद्ध बोल्नेहरूका लागि अत्यन्त खतरनाक बनाउँछ।

त्यसैले त्यहाँ सरकारसँग असहमत हुनेहरूको खाता केही दिन वा साता बन्द हुनु सामान्य कुरा हो।

"च्याट्स" वा "मोमन्ट्स" मा सरकारविरुद्ध केही लेख्दा वा बोल्दा त्यस्तो अवरोध हुन सक्छ।

विवाद नहुने जानकारी आदानप्रदान गर्दा समेत मानिसहरू कहिलेकाहीँ सरकारी सेन्सरको प्रभावमा पर्ने खतरा रहन्छन्।

एट्लान्टिक काउन्सिलको ग्लोबल चाइना हबका सहायक निर्देशक किश लियाओका भनाइमा वीच्याटजस्ता सुपर-एपहरूले मानिसहरूको जीवन नियन्त्रित गर्ने उद्देश्य हासिल गर्न सरकारलाई मद्दत गर्छन्।

उनी भन्छन्, "सैद्धान्तिक रूपमा यसले राजनीतिक जोखिमबाट जोगाउँछ - खासगरी त्यहाँ विपक्षी मत बन्न सक्ने र अन्ततः चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिलाई चुनौती दिन सक्ने जुन पनि कुरा रोक्ने बाटो।"

के यो अवधारणा पश्चिमा विश्वमा सफल होला?

वीच्याट

तस्बिर स्रोत, Getty Images

हङ्‌कङको चाइनिज यूनिभर्सिटीका काचेङ फाङले चीनमा वीच्याटको सफलता पछाडिका दुईवटा कारण भएको औँल्याउँछन्।

उनका अनुसार चीनमा धेरै मानिसहरू डेस्कटप कम्प्युटरमा भन्दा स्मार्टफोनमा धेरै वीच्याट चलाउँछन्।

उनी भन्छन्, "जसको अर्थ उनीहरू खुला वेबको सट्टा एपको पर्खालयुक्त बगैँचामा बस्छन्। कम्प्युटरमा भन्दा स्मार्टफोनमा 'एभ्रिथिङ एप' बनाउन सजिलो छ।"

फाङका अनुसार चीनमा प्रतिस्पर्धाको नियमन कमजोर छ जुन पश्चिमा देशहरूमा हुँदैन।

त्यसले गर्दा त्यहाँ वीच्याटलाई शपिङ प्लेटफर्म ताओबाओ र भिडियो एप डोउयिनजस्ता प्रतिद्वन्द्वी प्लेटफर्महरू रोक्न सहज बनाउँछ।

रातो धर्सो
रातो धर्सो

के मस्कले चीनबाहिर त्यसरी काम गर्ने एप बनाउन सक्छन्?

यसको उत्तर आगामी दिनमा मात्र थाहा हुने छ । तर यो सबै डिजिटल भुक्तानीमा निर्भर रहने विज्ञहरू बताउँछन्।

नीति अनुसन्धान कम्पनी ट्रिभिअम चाइनाकी केन्ड्रा शेफरका अनुसार मस्कले चीनमा मानिसहरूका 'दैनिक जीवनमा महत्त्वपूर्ण' ठानिने वीच्याटलाई सफल बनाउने कुराहरू पहिचान गरेका छन् जसमा सामाजिक सञ्जाललाई डिजिटल भुक्तानीसँग जोड्ने कुरा समेत पर्छन्।

उनले ती कुराहरू मस्कका लागि वीच्याटजस्तो सुपर-एप बनाउने "गुप्त मन्त्र " हुनसक्ने बताउँछिन्।

लगानी कम्पनी रेस क्यापिटलका एडिथ येउङका भनाइमा चीन र पश्चिमी देशहरूले अपनाएको डिजिटल भुक्तानी प्रविधिमा ठूलो भिन्नता छ।

चीनका अधिकांश व्यापारीहरूले नगद वा क्रेडिट कार्ड लिँदैनन्। यो भिन्नता मस्कको महत्त्वाकाङ्क्षाका लागि बाधक बन्न सक्छ।

उनी भन्छिन्, "पश्चिमी देशहरूलाई नगद र क्रेडिट कार्ड मुक्त समाज बन्न धेरै समय लाग्न सक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।