इलोन मस्क: विश्वका सबैभन्दा धनी व्यक्तिले कसरी किने ट्विटर?

तस्बिर स्रोत, Reuters
- Author, जेम्स क्लेटन
- Role, उत्तर अमेरिका प्रविधि संवाददाता
सान होजेमा मार्च महिनाको अन्त्यतिर त्यो साँझ शीतल थियो।
विश्वका सबैभन्दा धनी व्यक्तिसँग एअरबीएनबीमा बैठक गर्न हतारमा तयारी गरिएको थियो।
ट्विटरका लागि उक्त बैठक निकै महत्त्वपूर्ण थियो।
इलोन मस्क त्यस बेला भर्खर ट्विटरका सबैभन्दा ठूला शेअरधनी बनेका थिए। उनी कम्पनीको बोर्डमा सहभागी इच्छुक रहेको चर्चा पनि चलेको थियो।
उक्त स्थानमा पुग्दा ट्विटरका अध्यक्ष ब्रेट टेलरले सोचे जस्तो देखेनन्।
"त्यो मैले हिजोआज बैठक गरेको सबैभन्दा उदेकलाग्दो ठाउँ हो," उनले लेखेर मस्कलाई यस्तो सन्देश पठाएको बताइन्छ।
उनले मस्कलाई भने, "मलाई लाग्छ विमानस्थलनजिकै कुनै एअरबीएनबी खोजिएको थियो, अनि त्यहाँ ट्याक्टर र गधाहरू थिए।"
यद्यपि उक्त बैठक सहजतापूर्वक सम्पन्न भयो।
त्यसको केही दिनपछि मस्क ट्विटरको बोर्डमा सम्बद्ध हुने घोषणा गरियो।
त्यो एउटा सुरुवात मात्र थियो। त्यसपछिका छ महिनामा सिलिकन भ्यालीको इतिहासमै आश्चर्यचकित पार्ने खालको एउटा सहमति भयो।
एप्रिल महिनाको सुरुमा ट्विटरको बोर्डमा प्रवेश पाउँदा मस्क खुसी नै देखिन्थे।
त्यस बेला कम्पनीमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा उनी नियमित रूपमा ट्विटहरू गरिरहन्थे।

तस्बिर स्रोत, Getty Images
यद्यपि उनी र ट्विटरका सीईओबीचको गोप्य बैठकहरू त्यति उत्साहवर्धक भएनन्।
उक्त अनलाइन मञ्चलाई कसरी राम्रो बनाउने भन्ने विषयमा उनीहरू एकमत हुन सकेनन्। मस्क निराश भए।
"परागसँग कुरा गरेर ट्विटरलाई बलियो बनाउन सम्भव छैन," उनले टेलरलाई पठाएको भनिएको सन्देशमा लेखिएको छ।
"कठोर कदम आवश्यक छ।"
एप्रिल १२ मा यी अर्बपतिले सार्वजनिक रूपमै आफूले ट्विटर पूर्ण रूपमा किन्न खोजेको घोषणा गरे।
उनले ४४ अर्ब डलरमा ट्विटर किन्न वा छाड्न प्रस्ताव गरे। ट्विटरको बोर्डले सुरुमा उक्त प्रस्ताव अस्वीकार गर्यो।
मस्कले बलपूर्वक कम्पनी हात पार्न नसकून् भनेर उसले "पोइजन पिल" भनिने व्यवस्था पनि लागु गर्यो। त्यसपछि अर्को परिवर्तन देखा पर्यो।
ट्विटरको बोर्डले त्यसबारे सोचविचार गरेर भन्दै एप्रिल २५ मा उक्त प्रस्ताव स्वीकार गर्ने घोषणा गर्यो।
प्रतिक्रियामा मस्कले उत्साहित भावमा ट्वीट गरे।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
मस्कले ट्विटरले बाटो बिराएको तर्क गरेका छन्।
ट्विटरले धेरै पटक वाक्स्वतन्त्रतालाई अवरोध पुर्याएको आरोप लगाउँदै ट्विटरले विश्वको "टाउन हल"का रूपमा अभिव्यक्ति स्वतन्त्रतालाई सर्वोपरि मान्नुपर्ने उनको धारणा छ।
उनले आफूले "अर्थतन्त्रको बारेमा कत्ति पनि मतलब नगर्ने" कुरा क्यानडाको भ्यान्कुभरमा आयोजित टेड२०२२ मा दिएको एउटा अन्तर्वार्तामा बताएका थिए।
केही साता र महिनापछि प्रविधि क्षेत्रको शेअरको मूल्य घट्यो।
ट्विटरको मूल्य पनि खस्कियो।
लगत्तै धेरै विश्लेषकहरूले कतै मस्कले ट्विटरलाई धेरै नै बढी पैसा त दिन लागेका हैनन् भनेर प्रश्न उठाउन सुरु गरे।
सार्वजनिक रूपमा उनले बेग्लै प्रश्न सोध्न थाले - ट्विटरमा कतिवटा साँच्चिकैका खाता छन्?
यी अर्बपतिलाई फोर्ब्स र ब्लूमबर्गले संसारका सबैभन्दा धनी व्यक्तिको सूचीमा राखेका छन्।
उनको कुल सम्पत्ति झन्डै २५० अर्ब डलरजति छ।
उनले वर्षौँदेखि ट्विटरमा बोटहरूको सङ्ख्याबारे गुनासो गर्दै आएका छन्।

तस्बिर स्रोत, Getty Images
आफ्नो प्रस्ताव स्वीकार गरिएपछि उनले बारम्बार ट्विटरलाई वास्तविक प्रयोगकर्ताको विवरण दिन आग्रह गरे।
ट्विटरका कार्यकारीहरूले दैनिक सक्रिय प्रयोगकर्ताको पाँच प्रतिशतभन्दा कम बोट रहेको विवरण दिएका थिए।
उनीहरूले नमुनाका रूपमा केही खाताहरू चयन गरेर त्यस्तो अनुमान गरेका थिए।
त्यसले मस्कलाई क्रुद्ध पारेको देखियो।
त्यो विवरण कसरी आयो भन्ने विषयमा सीईओ पराग अग्रवालबाट आएको शृङ्खलाबद्ध ट्वीटमा बिस्टाको इमोजी लेखेर मस्कले आफ्नो असन्तुष्टि र असहमति व्यक्त गरे।
उक्त सम्झौता कमजोर हुँदै थियो।
पूरै अनपेक्षित नभए पनि जुलाई ८ मा मस्कले आफू सम्झौताबाट पछि हट्न चाहेको घोषणा गरे।
उनले उक्त कम्पनीको लागि अझ राम्रो मूल्य खोजिरहेका थिए वा उनी साँच्चिकै त्यसबाट पछि हटेका थिए? यो भन्न गाह्रो छ।
ट्विटरले कुनै पनि तर्कलाई ग्रहण गरेन।
उक्त कम्पनीले मस्कको ट्विटर कम्पनी किन्न सम्झौता कानुनी रूपमा बाध्यकारी हुने भन्दै त्यसबाट पछि हट्न नमिल्ने दाबी गर्यो।
दुवैतिर महँगा वकिलहरू थिए। मस्कले कम्पनी किन्नैपर्ने बाध्यता छ कि छैन भन्ने टुङ्गो लगाउन अक्टोबर १७ मा अदालतमा भेला हुने सहमति भयो।

तस्बिर स्रोत, Getty Images
अदालतमा पेस गरिएको दस्तावेजमा ट्विटरले वास्तविक प्रयोगकर्ताबारे आफूले प्रशस्त विवरण दिएको जनाएको छ।
मस्कले भने ट्विटरले सार्वजनिक रूपमा भनेभन्दा कैयौँ गुना बोट रहेको तर्क गरेका छन्। उनले कम्पनीले ढाँटेको आरोप पनि लगाएका छन्।
सार्वजनिक रूपमा गरिएका यस्ता आलोचनाको मार ट्विटर कम्पनीमाथि परिरहेको थियो।
ट्विटरको सबैभन्दा उल्लेख्य कमाए विज्ञापनबाट आउँछ। विज्ञापनदाताहरू कति विज्ञापन वास्तविक मानिसले हेरिरहेका छन् भन्ने सोच्न थाले।
ट्विटर मुख्यालयमा समेत यो प्रक्रिया निकै तनावपूर्ण बन्यो।
केही कर्मचारीहरू मस्क सीईओ बन्ने चर्चामा रमाइरहेका थिए।
धेरैले गोप्य रूपमा र केहीले सार्वजनिक रूपमै मस्कले ट्विटर किने कन्टेन्ट मोडरेशन र कम्पनीका ठूला लक्ष्य जोखिममा पर्ने टिप्पणी गरे।
मस्क, ट्विटर, न्यायाधीश र पत्रकारहरू सबै एउटा अपरिहार्य देखिएको मुद्दाको तयारीमा लागिरहँदा अर्को उल्लेख्य मोड आयो।
ट्विटरमाथि सबै खाले आरोप लगाएपछि मस्कले अचानक उक्त सम्झौतामा आफू फर्किएको जनाए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
के कुराले उनको मनस्थिति फेरियो होला त? उनले मुद्दा हार्न सकिने ठानेको पनि हुनसक्छ।
पुनः सम्झौतामा फर्किनुभन्दा केही दिनअघि उनले ट्विटरका वकिलहरूसँग बयान दिनुपर्ने थियो।
उनले विस्तृत सोधपुछ छल्न खोजेको पनि हुनसक्छन्।
कारण जेसुकै भए पनि ट्विटरले मौन नै रह्यो।
ट्विटरका अध्यक्षले ट्विटमार्फत् नै मस्कसँग सहमति भएको सर्तमा कारोबार टुङ्ग्याउन कम्पनी प्रतिबद्ध भएको बताए।

तस्बिर स्रोत, Getty Images
ट्विटरले समेत मुद्दा खारेज गर्न नभनीकन सार्न भनेको छ।
ब्रिटिश समयानुसार अक्टोबर २८ शुक्रवार ५ बजेभित्र मस्कलाई पैसा लिएर आउन भनिएको छ।
अर्बौँ रकम उनका धनाढ्य साथी र ब्याङ्कहरूले दिनेछन्। बाँकी पैसा उनले टेस्लाको शेअर बेचेर जोहो गर्नेछन्।
बेलाबेलामा ठूलो सङ्कटमा परेको देखिएको त्यो सम्झौता अहिले समापन हुन लागे जस्तो देखिन्छ।








