इलोन मस्क: एक महिनामै गुम्यो विश्वकै सर्वाधिक धनीको उपाधि

तस्बिर स्रोत, Reuters
विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्।
उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको शेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्।
उनी ज्यानुअरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए।
ज्यानुअरीको सुरुवातको तुलनामा टेस्लाको शेयरमा २० प्रतिशतले गिरावट आएको छ। यो साता उनीहरूले तीव्र गिरावटको सामना गर्नुपरेको छ।
त्यसको सम्बन्ध उक्त कम्पनीले बिटकोइनमा गरेको जोखिमपूर्ण लगानीसँग रहेको ठानिएको छ।
मस्कको सम्पत्तिमा आएको गिरावटपछि एमजनका मालिक जेफ बेजोस पुन: विश्वका सर्वाधिक धनी बनेका छन्।
टेस्लाको शेयर बढेका बेला मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी भएको थियो।
हालैका दिनहरूमा बिटकोइनको मूल्य लगातार घटिरहेको छ।

तस्बिर स्रोत, Getty Images
मस्क र टेस्लाले बिटकोइनमा लगानी बढाएको खबरसँगै कतिपय लगानीकर्तालाई त्यसमा गरेको लगानी निकाल्न प्रेरित गरेको विश्लेषकहरूको भनाइ छ।
टेस्लाले १ अर्ब ५० करोड डलर बराबरको बिटकोइन किनेको र त्यसलाई भुक्तानीका रूपमा स्वीकार्ने योजना बनाएको बताएको थियो।
त्यसपछि बिटकोइनको मूल्यमा यो साता ५० प्रतिशतले कमी आएको छ।
मस्कले बिटकोइनको मूल्य बढाउन जसरी भूमिका खेलका थिए उस्तैगरी त्यसको मूल्यमा आएको गिरावटमा पनि आफूलाई दोषी ठान्न सक्छन्।
त्यस्तै अमेरिकी अर्थमन्त्री जानेट यालेनको एउटा चेतावनीयुक्त अभिव्यक्ति पनि बिटकोइनको मूल्य घटबढ गर्न भूमिका खेलेको बताइन्छ।








