इलोन मस्क नेतृत्वमा हुँदा के 'एक्स' टाट पल्टिन सक्छ

इलोन मस्क

तस्बिर स्रोत, Reuters

    • Author, जेम्स क्लेटन
    • Role, उत्तर अमेरिका प्रविधि संवाददाता

यसअघि ट्विटर भनेर चिनिने सामाजिक सञ्जाल एक्स बहिष्कार गर्ने विज्ञापनदाताहरूबारे इलोन मस्कले गरिरहेको तीखो आलोचना देखेर विज्ञहरू चकित परेका छन्। विज्ञापन दिन छाडेका विज्ञापनदाताहरू उनको यस्तो व्यवहारका कारण फर्केर आएनन् भने के यो सामाजिक सञ्जाल टिकिरहन सक्ला?

ट्विटर कम्पनी किनेका इलोन मस्कसँग गत एप्रिलमा मैले अन्तर्वार्ता लिएको थिएँ।

त्यो अन्तर्वार्तामा केही यस्तो कुरा भनेका थिए जसको अर्थ पछि मात्रै खुल्यो। त्यतिबेला मलाई त्यसले त्यति छोएको थिएन।

त्यस बेला विज्ञापनको बारेमा कुरा गर्दै उनले भनेका थिए, "यदि डिज्नीले बालचलचित्रहरूको विज्ञापन [ट्विटरमा] गर्न सजिलो मान्छ अनि एपलले आईफोनको विज्ञापन गर्न सजिलो मान्छ भने ट्विटर विज्ञापनका लागि राम्रो ठाउँ भएको सुखद सङ्केत हो।"

तर त्यसको सात महिनापछि डिज्नी र एपलले एक्समा विज्ञापन गर्न छाडेका छन्। मस्कले विज्ञापन दिन छोडेका कम्पनीहरूमाथि अपशब्द बोल्दै रिस पोखेका छन्।

'मिडिया म्याटर्स फोर अमेरिका' नामक एउटा अमेरकी संस्थाले गरेको अनुसन्धानमा ती कम्पनीका विज्ञापन नाजीवादी पोस्टसँगै देखा पर्ने गरेको जनाउ दिएपछि ती कम्पनीले विज्ञापन रोकेका हुन्।

एक्सले उक्त विवरणलाई चुनौती दिँदै अनुसन्धानविधिबारे प्रश्न उठाएको छ। उसले उक्त संस्थामाथि मुद्दा पनि हालेको छ।

इलोन मस्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, न्यूयोर्कमा लिइएको अन्तर्वार्तामा मस्कले विज्ञापनदाताहरूलाई ठाडो सन्देश दिएका थिए

एक्स कसरी टाट पल्टिन सक्छ?

गत बुधवार दिएको एउटा अन्तर्वार्तामा मस्कले टाट पल्टिन सक्ने जनाउ दिने शब्द प्रयोग गरे। विज्ञापन बहिष्कारका कारण आफ्नो कम्पनीलाई कति क्षति पुगेको छ भन्ने सङ्केत दिने गरी त्यसो भनेका हुन्।

गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा किनेको कम्पनी टाट पल्टिनु अकल्पनीय लाग्न सक्छ। तर त्यसो हुन सक्छ।

यसबारे बुझ्न हामीले विज्ञापनबाट हुने आम्दानीमा एक्स कत्तिको निर्भर छ र किन विज्ञापनदाताहरू फर्केर आउँदैनन् भन्ने हेर्नुपर्छ।

ताजा तथ्याङ्क उपलब्ध नभए पनि गत वर्ष एक्सको झन्डै ९० प्रतिशत आयको स्रोत विज्ञापन थियो। त्यसैले विज्ञापन उसको व्यापारको मुटु हो।

सयौँ कम्पनीहरूसँग काम गरिरहेका एबिक्युटीमा मार्केटिङ कन्सल्टेन्सीका ग्राहक शाखाका प्रमुख अधिकृत मार्क गे एक्स छोडेर गएका कुनै पनि विज्ञापनदाता फर्किने सङ्केत आफूले नदेखेको बताउँछन्।

"पैसा बाहिरिइसकेको छ र त्यहाँ फेरि लगानी गर्ने रणनीति कसैले बनाएको छैन," उनी भन्छन्।

खुद्रा सामान बिक्रीवितरण गर्ने विशाल कम्पनी वालमार्टले समेत अब एक्समा विज्ञापन नगर्ने घोषणा शुक्रवार गरेको छ।

एक्स

तस्बिर स्रोत, PA Media

विज्ञापनदाता फर्किने सम्भावना कति?

मस्कले 'न्यूयोर्क टाइम्स डीलबुक समिट'का क्रममा दिएको अन्तर्वार्तामा एक्स छोड्ने विज्ञापनदाताहरू कहाँ जालान् भन्ने जिज्ञासामा उनले भनेको कुराले उनीहरूलाई फर्कन थप असहज बनाएको विश्लेषण गरिएको छ।

"हाई बब," डिज्नीका प्रमुख कार्यकारी बब इगरलाई सङ्केत गर्दै उनले भने।

प्रमुख कार्यकारीहरूलाई यसरी मस्को कोपभाजनमा पर्दा उनीहरू एक्ससँग सहकार्य गर्न अझ झस्किने मार्केटिङ कन्सल्टेन्सी एजेएल एड्भाइजरीका लू पास्कलिस बताउँछन्।

इनसाइडर इन्टेलिजेन्सका प्रमुख विश्लेषक जस्मिन एनबर्गले भन्छन्: "एक्सलाई पैसा तिर्ने विज्ञापनदाता र कम्पनीहरूलाई सार्वजनिक रूपमा र व्यक्तिगत रूपमा आक्रमण गर्ने कुरा कुनै पनि व्यवसायको लागि राम्रो हुँदैन भनेर बुझ्न र जान्नको लागि सामाजिक सञ्जाल विशेषज्ञको आवश्यकता नै पर्दैन।"

इन्साइडर इन्टेलिजन्सका प्रमुख विश्लेषक ज्यास्मिन एन्बर्ग भन्छिन्: "एक्सलाई पैसा तिर्ने विज्ञापनदाता र कम्पनीहरूलाई सार्वजनिक रूपमा र व्यक्तिगत रूपमा आक्रमण गर्ने कुरा कुनै पनि व्यवसायको लागि राम्रो हुँदैन भनेर बुझ्न र जान्नको लागि सामाजिक सञ्जाल विशेषज्ञको आवश्यकता नै पर्दैन।"

के एक्स साँच्चै टाट पल्टिएला त?

ट्विटरको नाम परिवर्तन गरिँदै

तस्बिर स्रोत, Reuters

यदि विज्ञापनदाताहरू फर्किएनन् भने मस्कसँग के बाँकी रहन्छ?

एप्रिलमा मैले अन्तर्वार्ता लिने क्रममा नै मस्क एक्सका सब्सक्राइबर सदस्यबाट विज्ञापनको जति पैसा नउठ्नेमा स्पष्ट थिए।

"यदि १० लाख जनाले सदस्यता लिएका छन् भने मानौँ एक जनाले प्रति वर्ष १०० डलर तिर्छन्... त्यो भनेको १० करोड डलर हो। विज्ञापनबाट हुने आम्दानीको तुलनामा यो एकदमै थोरै हो," उनले भनेका थिए।

सन् २०२२ मा ट्विटरले विज्ञापनबाट चार खर्ब अमेरिकी डलर कमाएको थियो। यो वर्ष त्यो कमाइ घटेर झन्डै २ अर्ब डलर जति मात्र हुने इन्साइडर इन्टेलिजन्सको अनुमान छ।

एक्सले दुइटा कुरामा बढी खर्च गर्छ।

पहिलो, कर्मचारीका लागि हुने खर्च हो। मस्कले हजारौँ कर्मचारी कटौती गरेर यस्तो खर्च कम गरिसकेका छन्।

दोस्रो, मस्कले ट्विटर किन्न लिएको ऋणको किस्ता तिर्न चाहिने रकम हो। त्यो ऋण १३ अर्ब अमेरिकी डलर छ। समाचारसंस्था रोएटर्सका अनुसार अब कम्पनीले प्रत्येक वर्ष ब्याजका लागि मात्रै एक करोड २० लाख डलर तिर्नुपर्छ।

यदि कम्पनीले ऋणको ब्याज तिर्न सकेन वा कर्मचारीहरूलाई तलब सुविधा दिन सकेन भने एक्स साँच्चिकै टाट पल्टिन पनि सक्छ।

तर मस्कजस्तो व्यक्तिले यस्तो विकराल अवस्था पक्कै आउन दिने छैनन्।

उनीसँग विकल्पहरू छन्। मस्कको लागि सबैभन्दा सजिलो कुरा यो कम्पनीमा थप लगानी गर्नुहुन्छ। तर उनले त्यसो गर्न चाहेको देखिँदैन।

उनले बरु ब्याज भुक्तानीमा कडाइ नगर्न ब्याङ्कहरूसँग छलफल गर्न सक्छन्।

यदि त्यसले प्रतिफल दिएन भने अनि ब्याङ्कहरूले आफ्नो पैसा पाएनन् भने एक्स टाट पल्टन सक्छ। त्यस बिन्दुमा ब्याङ्कहरूले एक्सको व्यवस्थापनमा परिवर्तन गर्न दबाव पनि दिन सक्छन्।

"यो धेरै भद्रगोल र जटिल हुने छ," हार्भर्ड ल स्कूलका कानुनका प्राध्यापक ज्यारड एलायस भन्छन्।

"अनि त्यो अत्यन्तै चुनौतीपूर्ण पनि हुन्छ। किनभने त्यो अवस्थामा उनको शक्ति कटौती हुँदै जान सक्छ र अदालतमा बयान दिनुपर्ने हुन सक्छ।"

यो मस्कको व्यावसायिक प्रतिष्ठाको लागि घातक हुन सक्छ। अनि यसले भविष्यमा मस्कले लिने ऋणलाई पनि असर पार्न सक्छ।

इलोन मस्कको एक्स एकाउन्ट

तस्बिर स्रोत, Reuters

कम्पनी टाट पल्टियो भने के एक्स चल्न छोड्छ?

"मलाई त्यो निकै अविश्वसनीय लाग्छ, ” एलायस भन्छन्।

उनका अनुसार इलोन मस्क आफैँले चाहे भने मात्र त्यसो हुन सक्छ। "तर त्यसो भयो भने पनि, उनले त्यसो गरे भने पनि ऋणदाताहरूले कम्पनीलाई टाट पल्टिएको घोषणा गराउन सक्छन् अनि कसैले संरक्षक नियुक्त गराएर (कम्पनी) बिउँत्याउन सक्छन्," उनी भन्छन्।

मस्कले कस्तो बाटो रोज्लान्?

एक्सका लागि यी सबै समस्याको स्पष्ट समाधान भनेको आम्दानीको अर्को बाटो खोज्नु हो।

त्यो तत्कालै चाहिएको छ र मस्क त्यसका लागि प्रयासरत पनि छन्। उनले नयाँ अडिओ र भिडिओ कल सेवा सुरु गरेका छन्।

गत महिना उनले भिडिओ गेम खेल्दै लाइभस्ट्रीम गरेका थिए। ट्विचजस्ता एपहरूसँग प्रतिस्पर्धा गर्न सकिने उनको आशा छ।

उनी एक्सलाई च्याटदेखि अनलाइन भुक्तानीसम्म सबै कुरा एकै ठाउँ भएको एप बनाउन खोजिरहेका छन्।

गत वर्ष मस्कले लगानीकर्ताहरूलाई दिएको व्यावसायिक योजनाको प्रस्तुति हेरेको न्यूयोर्क टाइम्सका अनुसार एक्सले सन् २०२३ मा भुक्तानी व्यवसायबाट एक करोड ५० लाख अमेरिकी डलर आर्जन गर्ने र त्यो सन् २०२८ सम्ममा बढेर १.३ अर्ब अमेरिकी डलर पुर्‍याउने योजना बनाएको छ।

एक्ससँग ठूलो सम्पत्तिको रूपमा डेटा छ।

ऊसँग रहेको मानिसहरूका संवादको लामो अभिलेखको सहयोगमा च्याटबटहरूलाई प्रशिक्षित गर्न सकिन्छ।

ती डेटा निकै मूल्यवान् छन् भन्ने मस्कलाई राम्ररी थाहा छ।

त्यसैले एक्सको सम्भावना राम्रो छ।

तर विज्ञापनदाताहरू बाहिरिएका कारण परेको प्वाल यी विकल्पका कारण तत्काल पुरिने छाँटकाँट देखिँदैन।

त्यसैले मस्कले अपशब्द बोलेको देखेर धेरै जना चकित भएका हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।