अत्यधिक इन्टरनेट प्रयोग हुने चीनमा किन मानिसहरू हतपत इमेल चलाउँदैनन्

तस्बिर स्रोत, Getty Images
- Author, लु-है लिहङ
- Role, बीबीसी वर्कलाइफ
सन् २००८ मा म दक्षिणी चीनमा पर्ने याङ्सो सहरको एक निजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिएँ।
पढाइ सकिएपछि मेरा विद्यार्थीहरूले सम्पर्कमा रहनका लागि एमएसएन मेसिन्जर स्तै चिनियाँ एप क्यूक्यू डाउनलोड गर्न भने।
मैले उनीहरूलाई फेसबुकमा एकाउन्ट खोल्न (त्यसबेला चीनमा फेसबुकमा रोक लगाइएको थिएन) र त्यहाँ मसँग जोडिएर आफ्नो इमेल ठेगाना पठाउन भनेँ। केहीले त्यसो गरे पनि।
तर ती ठेगाना सम्झिन निकै गाह्रो थियो। किनभने ती यस्ता देखिन्थे: [email protected]
वर्षौँपछि म फेरि बेइजिङमा स्वतन्त्र पत्रकार एवं लेखकका रूपमा काम गर्दै थिएँ। तर सेवाग्राहीहरूसँग म बिरलै इमेलमार्फत् काम गर्थेँ।
मैले प्राय: लेखनको काम वीच्याट एपमार्फत् प्राप्त गर्थेँ।
काम सकिएपछि त्यसलाई फिर्ता पठाउँथेँ र भुक्तानी पनि वीच्याटबाटै लिन्थेँ।

तस्बिर स्रोत, Getty Images
मोबाइलबाटै गरिने कार्यको गति अनि कार्यक्षमता यस्तो थियो कि यो प्रक्रिया मलाई जादुजस्तै लाग्थ्यो।
एपको प्रभुत्व
अधिकांश पश्चिमा देशहरूमा इमेलको व्यापक रूपमा प्रयोग गरिन्छ।
केही देशहरूमा त यो ब्राउजिङ वा सामाजिक सञ्जालको प्रयोगभन्दा पनि बढी प्रयोग हुन्छ। तर चीनमा भने अवस्था निकै फरक छ।
डेलोइटले सन् २०१८ मा गरेको चाइना मोबाइल कन्ज्यूमर सर्भेका अनुसार विश्वका अन्य देशहरूका तुलनामा चिनियाँहरूले आफ्नो इमेल २२ प्रतिशत कम हेर्ने गर्छन्।
वीच्याटको प्रयोग भने व्यापक छ।
झन्डै ७९.१ प्रतिशतको स्मार्टफोन प्रयोगकर्ताहरू नियमित रूपमा वीच्याट प्रयोग गर्छन् भने मेसिजिङ एप प्रयोग गर्ने ८४.५ प्रतिशतले वीच्याट चलाउँछन्।

तस्बिर स्रोत, Getty Images
सन् २०१७ मा वीच्याटको निर्माता टेन्सेन्टले तयार पारेको प्रयोगकर्ताहरूको व्यवहारसम्बन्धी एक प्रतिवेदनका लागि सर्वेक्षण गरिएका २० हजार मानिसमध्ये करिब ८८ प्रतिशतले कामका लागि गरिने सञ्चारका लागि वीच्याटको प्रयोग गर्ने गरेको देखाउँछ।
त्यस्तै ५९.५ प्रतिशतले एसएमएस र फ्याक्स प्रयोग गर्छन् भने इमेल भने जम्मा २२.६ प्रतिशतले प्रयोग गर्छन्।
साइबर संस्कृति
चिनियाँहरू किन वीच्याटजस्ता माध्यमबाट कुराकानी गर्न रुचाउँछन् भन्ने कुरा उनीहरूको विगतको अवस्थाबाट निर्देशित भएको हुनसक्छ।
सन् १९९९ मा टेन्सेन्टले क्यूक्यू सार्वजनिक गर्यो।
विश्व ब्याङ्कका अनुसार त्यस बेला चीनमा प्रत्येक १०० जनाका लागि मात्रै १.२ वटा कम्प्युटर थियो।

तस्बिर स्रोत, Getty Images
अमेरिकामा भने प्रत्येक दुई जनाका लागि एउटा कम्प्युटर थियो।
तर सन् २००० पछि भने इन्टरनेट क्याफेहरू खुल्न थाले र त्यहाँको अवस्थामा परिवर्तन आउन थाल्यो।
खेल, सङ्गीत र माइक्रोब्लगजस्ता सुविधा भएकाले क्यूक्यू ती क्याफे प्रख्यात हुनुको कारण बन्न पुग्यो।
इमेलसँग तुलना गर्दा क्यूक्यूबाट अन्तर्क्रिया गर्न सहज थियो।
सवारीचालक अनुमतिपत्रजस्तै
जेम्स युआन र जेसन इन्चले सन् २००८मा लेखेको पुस्तक 'सुपरट्रेन्डस अफ फ्यूचर चाइना'मा क्यूक्यू वा एमएसएनबिना बस्नु चिनियाँहरूका लागि अव्यावहारिक रहेको टिप्पणी गरेका छन्।
"यो कसैसँग सवारी चालक अनुमतिपत्र छैन भन्दा पश्चिमाहरूले के सोच्लान् भने जस्तै हो," उनीहरूले लेखेका छन्।
वरिष्ठ कर्मचारीहरूले आफ्नो बिजनेस कार्डमा क्यूक्यू नम्बर उल्लेख गर्ने गर्थे भने व्यवसायहरूको आफ्नो क्यूक्यू खाता हुन्थ्यो।

तस्बिर स्रोत, Getty Images
सन् २०१२ मा क्यूक्यूका मासिक रूपमा झन्डै ८० करोड सक्रिय प्रयोगकर्ता थिए। जुन त्यस वर्षको चिनियाँ जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्या हो।
तर स्मार्टफोनले डेक्स कम्प्युटरलाई विस्थापन गरे जस्तै चीनमा सञ्चारको सबैभन्दा प्रख्यात माध्यमका रूपमा सन् २०११मा टेन्सेन्टले नै सार्वजनिक गरेको वीच्याट स्थापित हुन पुग्यो।
सन् २००४ देखि चीनमा कार्यरत एक ब्रिटिश नागरिक म्याथ्यू ब्रेन्नान अनलाइन सेवाको उपयोग गर्नका लागि दर्ता हुन आवश्यक पर्ने हुँदा कुनै पनि देशमा काम गर्नेका लागि इमेल ठेगाना उसको परिचयको अङ्ग रहेको बताउँछन्।
तर चीनमा भने त्यसका लागि वीच्याट वा अलिपे पर्याप्त छ।
सरल प्रक्रिया
अर्थशास्त्रका सहायक प्राध्यापक झोङ लिङका अनुसार वीच्याट चिनियाँ कार्यशैलीसँग मिल्छ।
"सन्देश आदानप्रदान गर्ने प्लेटफर्मका रूपमा हेर्दा वीच्याटमा इमेलजस्तो काम गर्नका लागि धेरै समय अनि औपचारिकताको आवश्यकता हुँदैन," उनी भन्छन्।

तस्बिर स्रोत, Getty Images
"अनौपचारिकताकै कारण छिट्टै जबाफ आउँछ। चीनको संस्कृति अनि व्यावसायिक वातावरणबाट तत्काल प्रतिक्रियाको आवश्यकता प्रेरित छ।"
चीनमा काम र व्यक्तिगत जीवनबीचको सीमा कमजोर रहेको झोङले टिप्पणी गरे।
डुइङ बिज्नस
चीनमा वीच्याट बाहेक व्यवसायका लागि तयार पारिएका एपहरूले ठूला कम्पनीहरूका लागि आवश्यक पर्ने फीचरहरू बनाएका छन्।
अलीबाबाको डीङ टक र बाइटडान्सको लार्क अनि वीच्याटको अर्को भर्जन वीच्याट वर्कमा डकुमेन्ट शेअरिङ, अनलाइन सम्पादन, पेरोल, कार्यस्थलमा पालना गर्नुपर्ने नियम समावेश छन्।

तस्बिर स्रोत, Getty Images
अनि ती एपमा उच्च गोपनीयताका लागि पनि आवश्यक व्यवस्था मिलाइएको बताइन्छ।
डीङ टकमा रियल टाइममै कसैले सन्देश हेरे नहेरेको थाहा हुन्छ।
यदि सन्देश हेरेका रहेनछन् भने हेर्नका लागि झकझक्याउने व्यवस्था पनि उक्त एपमा छ।








