टिकटक: एउटा रमाइलो एप कसरी बन्यो अमेरिकाको 'राष्ट्रिय सुरक्षाका लागि खतरा'

तस्बिर स्रोत, Getty Images
- Author, जो टाइडी र सोफिया स्मिथ गेलर
- Role, बीबीसी न्यूज
राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै अमेरिकी कम्पनीले टिकटकको अमेरिकास्थित कार्यालय नकिने टिकटकमाथि प्रतिबन्ध लगाइदिने चेतावनी दिएका छन्। दशौँ लाख प्रयोगकर्ताहरूले रुचाएको यो एप दुई वर्षभित्रै कसरी अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा बन्न पुग्यो त?
सन् २०१८ मा टिकटकमा पृष्ठभूमिमा गायिका एडिलको स्वरमा रहेको गीत अनि खेलौना भालु आकारका चकलेट देखिने भिडिओ एकाएक चर्चित भयो।
पन्ध्र सेकेन्डको सो भिडिओले टिकटकका निम्ति दशौँ लाख डलर खर्च गरेर हुने विज्ञापनले भन्दा धेरै काम गर्यो।
त्यो भिडिओले चाँडै नै दशौँ लाख दर्शक पायो। धेरैले त्यसको नक्कल गरेर भिडिओ बनाए।
अझ महत्त्वपूर्ण त्यसले विश्वलाई टिकटक एपबारे परिचित गराइदियो। त्यसयता टिकटकले करोडौँ जागरुक, सिर्जनशील तथा अधिकांश युवा उमेरका प्रयोगकर्ता पाएको छ।

तस्बिर स्रोत, TikTok/@davidkasprak
टिकटकको उत्पत्ति
टिकटकको उत्पत्ति हामीले सुन्दै आएको अन्य सफल एपका कथाभन्दा अलि भिन्न छन्। केही साथीहरूले गजबको उपाय सोचेर सानो स्तरबाट स्थापना गरेको ठूलो कम्पनी होइन यो।
खासमा टिकटकको जीवन तीन भिन्न एपबाट सुरु हुन्छ।
पहिलो, म्युजिकल.ली नामक एउटा अमेरिकी एप हो जसको स्थापना सन् २०१४ मा भएको थियो। त्यो लोकप्रिय पनि थियो।
सन् २०१६ मा चिनियाँ विशाल प्रविधि कम्पनी बाइटडान्सले डुयीन नामक उस्तै सेवा सुरु गर्यो। त्यसले चीन र थाईल्यान्डमा एक वर्षभित्र दश करोड प्रयोगकर्ता पायो।
बाइटडान्सलाई यो अझ ठूलो हुनसक्छ भन्ने लाग्यो। त्यसपछि सन् २०१८ मा उसले म्युलिकल.ली एप किन्यो र त्यसलाई बन्द गरिदियो। अनि थाल्यो टिकटकको विश्वव्यापी विस्तार।

तस्बिर स्रोत, Reuters
टिकटकको सफलताको सूत्र
टिकटकको सफलता श्रेय उसले गरेको सङ्गीतको उपयोग अनि अत्यन्तै शक्तिशाली एल्गोरिदमलाई जान्छ। त्यसले अन्य एपभन्दा निकै छिटो प्रयोगकर्ताको रुचि पहिल्याउँछ।
अनि टिकटकको विशाल भण्डारबाट प्रयोगकर्ताहरूले कुन गीत वा फिल्म क्लिपमा आफ्नो भिडिओ बनाउने भनेर छनोट गर्न सहजै पाउँछन्।
टिकटकमा कैयौँ समुदाय जन्मिएका छन् जसको समान रुचि पाइन्छ। कुनै खास वर्ग वा त्यत्ति ख्यालठट्टाका निम्ति सामग्री बनाउनेहरू छन्।
टिकटक र उसको भगिनी एप डुयीनको वृद्धि तीव्र गतिमा भइरहेको छ।
गत वर्ष जुलाईमै यी एप एक अर्ब पटक डाउनलोड भइसकेका थिए। तीमध्ये ५० करोड सक्रिय प्रयोगकर्ता थिए।
एक वर्षपश्चात् त्यो सङ्ख्या दुई अर्ब डाउनलोड र ८० करोड सक्रिय प्रयोगकर्तासम्म पुगेको छ।

तस्बिर स्रोत, Reuters
शङ्काको बीउ
व्यापक प्रयोग र लोकप्रियताका कारण यी एपहरूले नेताहरूको ध्यानाकृष्ट गरेका छन्। कुनै चिनियाँ एप यसरी फैलिएर आधुनिक जीवनको यति निकट हुनुको अर्थ के हुन्छ?
भारत र अमेरिकाले टिकटकले प्रयोगकर्ताको संवेदनशील सूचना बटुलेर चिनियाँ कम्युनिस्ट पार्टीका लागि जासुसी गर्न सघाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।
प्रत्येक चिनियाँ व्यवसायभित्रको एउटा समूहलाई चिनियाँ कम्युनिस्ट पार्टीसँग जबाफदेही हुने आरोप लगाइन्छ।
भारतले सुरुमा सन् २०१९ को एप्रिलमा एक अदालतको आदेशमा छाडा यौन क्रियाकलाप प्रदर्शन गरेको आरोपमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। पछि उक्त आदेश उल्टिएको थियो।
सन् २०२० को जुनमा भने भारतले अन्य दर्जनौँ चिनियाँ एपसहित टिकटकलाई पनि प्रतिबन्ध लगायो। यतिखेर भारत सरकारले टिकटकमाथि प्रयोगकर्ताको सूचना गोप्य रूपमा बटुलेको र अन्यत्र पठाएको गुनासो आएको जनाएको छ।

अमेरिकी सरकारले सन् २०१९ को अन्त्यतिर नै टिकटकले सुरक्षामा खतरा उत्पन्न गरेकोबारे राष्ट्रिय सुरक्षा समीक्षा थालेको थियो।
पछिल्लो समयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक लगायत कैयौँ चिनियाँ एपले सूचनाहरू चिनियाँ कम्युनिस्ट पार्टीलाई दिएको दाबी गरेका छन्।
यूके तथा अस्ट्रेलियाका निकायहरूले पनि एपको छानबिन थालेका छन्।
यी सबै देशको चीनसँग अहिले तिक्ततापूर्ण सम्बन्ध छ।
टिकटकसँग कस्ता सूचना होलान्?
टिकटकसँग खासमा कस्ता सूचना होलान् भन्नेबारे विवाद छ।
यतिसम्म थाहा छ कि उसले कस्ता भिडिओ हेरिन्छन् र टिप्पणी गरिन्छन् भन्नेबारे जानकारी राख्छ, स्थानको जानकारी राख्छ, फोन मोडल र अपरेटिङ प्रणालीको जानकारी राख्छ तथा प्रयोगकर्ताले टाइप गर्दाको शैलीबारे जानकारी राख्छ।
साथै कपी-पेस्ट क्लिपबोर्डबारे यसले जानकारी राख्ने बताइन्छ।
तर यस्तो जानकारी त बीबीसी न्यूज एप, लिङ्क्ड्इन, रेडिटसहित दर्जनौँ अन्य एपले पनि राख्छन्।
उपलब्ध प्रमाणले टिकटकले फेसबुकजस्तै अन्य विशाल कम्पनीकै जस्तो जानकारी बटुल्ने गरेको देखाउँछन्।
तर उसले के पनि भनेको छ भने टिकटकबारे उत्पन्न आशङ्का हटाउन ऊ अभूतपूर्व स्तरको पारदर्शिताका निम्ति तयार छ।
तर चिन्ता केवल उसले बटुल्ने डेटासँग मात्र जोडिएको छैन। के चिनियाँ सरकारले ती डेटा बाइटडान्ससँग आदेश दिएर लिन सक्छ भन्ने प्रश्न पनि उठेको छ।
उस्तै चिन्ता ह्वावेई कम्पनीलाई लिएर पनि उब्जिएको थियो। तर दुवै कम्पनीले त्यस्तो आदेश आएमा नमान्ने बताएका छन्।
साथै अर्को चिन्ता सेन्सरशिप तथा कुनै सार्वजनिक विषयलाई खास मोड दिनेगरी एपको दुरुपयोग हुन्छ कि भन्ने छ।

तस्बिर स्रोत, Getty Images
माइक्रोसफ्टको प्रवेश
यसबीच टिकटकको अमेरिकी सञ्चालन सञ्जाल किन्न माइक्रोसफ्टले रुचि देखाएको छ।
यसले पनि टिकटक वर्षौँ यताको एउटा अत्यन्त महत्त्वपूर्ण प्रविधि भएको पुष्टि गर्छ।
खासगरी २५ वर्ष भन्दा कम उमेरका युवाहरूमाझ यो लोकप्रिय छ जबकि ट्विटर वा इन्स्टाग्राम चाहिँ अलि पाको उमेरका मानिसमाझ लोकप्रिय भएको मानिन्छ।
त्यसैले टिकटकमाथिको प्रतिबन्ध यी मानिसहरूका निम्ति घाटा नै हुनेछ।
कतिपयले पछिल्ला समयमा उस्तै खालका अन्य एप बाइट तथा ट्रिलरमा रुचि देखाउन थालेका छन्।
तर अधिकांश प्रयोगकर्ता भने तत्कालका निम्ति टिकटकमै अडिएका छन्।











