’२४ घण्टै फोन अन राख्नु’: चर्को आलोचनापश्चात् चिनियाँ कम्पनीकी अधिकारीले मागिन् माफी

बाइडु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खासगरी चीनका प्रविधि कम्पनीहरूमा कार्य-जीवन सन्तुलनबारे प्रश्न उठ्ने गर्छन्
    • Author, केली एनजी
    • Role, बीबीसी न्यूज

चीनको सबभन्दा ठूलो सर्च इन्जिन प्रविधि कम्पनी बाइडुको जनसम्पर्क शाखाकी प्रमुखले ‘नमरुन्जेल काममा घोट्टिने’ कार्य संस्कृतिलाई प्रशंसा र प्रोत्साहन गर्ने गरी गरेको टिप्पणीप्रति माफी मागेकी छन्।

टिकटकको चिनियाँ संस्करण डुयीनमा भिडिओहरू पोस्ट गरेर कु जिङ्ले आफ्ना कर्मचारीको हितबारे उनको कुनै जिम्मेदारी नभएको किनकि उनी तिनको ‘आमा नभएको’ बताएकी थिइन्।

आफ्नो व्यवस्थापन शैलीबारे गुनासो गर्ने कर्मचारीहरूलाई उनले बदलाको कारबाही गर्ने धम्की दिइन्।

कार्य-जीवन सन्तुलन

“एउटा छोटो टिप्पणीको भरमा, म तिमीले यो क्षेत्रमा काम पाउन असम्भव व बनाइदिन सक्छु,” उनले लेखिन्।

बुधवार कुले उनका पोस्टहरूमा ‘एकदमै प्रासङ्गिक’ आलोचनाहरू भएको स्वीकार गरिन्। ती पोस्ट पछि हटाइएका थिए।

“मैले गहिरो गरी यसबारे समीक्षा गरेकी छु र यसलाई विनम्रतापूर्वक स्वीकार गर्छु,” उनले वीच्याटमा लेखेकी छन्।

उनको टिप्पणीले निम्त्याएको चर्को विवादले चीनको प्रविधि कम्पनीहरूमा काम गर्ने मानिसहरूको कमजोर कार्य-जीवन सन्तुलन झल्काउँछ।

अलिबाबाका संस्थापक ज्याक माले कुनै बेला एक चर्चित टिप्पणी गर्दै ज-जसले ‘९९६ कार्य संस्कृति’ अँगाल्न पाएका छन् ती ‘भाग्यमानी’ भएको बताएका थिए – त्यसको अर्थ चाहिँ बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म र साताको ६ दिन काम गर्ने हो।

कामको चर्को व्यस्तता

आफ्ना पुराना भिडिओमा कुले ‘काममा आफू यति धेरै व्यस्त छु कि छोरा कुन कक्षामा पढिरहेको भन्ने सम्म थाहा हुँदैन’ भनेकी थिइन्।

अर्को भिडिओमा उनले भनेकी छन्: “यदि तपाईँ जनसम्पर्कमा हुनुहुन्छ भने सप्ताहान्तमा छुट्टीको अपेक्षा नगर्नुस्।”

“चौबिसै घण्टा फोन चालु राख्नुस् र हरदम तयार रहनुस्,” उनले भनेकी छन्। तीबारे चाहिँ उनले ताजा टिप्पणी गरेकी छैनन्।

माफी माग्ने क्रममा कुले उनका भिडिओहरूले बाइडु कम्पनीका भनाइ प्रतिबिम्बित नगर्ने बताएकी छन्। साथै आफूले टिप्पणी गर्दा कम्पनीको अनुमति नलिएको पनि उनले जनाइन्।

“अनुचित भिडिओहरूका कारण मेरो कम्पनीको मूल्यमान्यता तथा कर्पोरेट संस्कृतिसम्बन्धी मानिसहरूमा गलत बुझाइ हुन गएकोप्रति म क्षमा प्रार्थी छु।”

“म मेरा गल्तीहरूबाट पाठ सिक्नेछु र आगामी दिनमा मेरा शैलीमा सुधार गर्नेछु र सहकर्मीहरूप्रति संवेदनशील हुनेछु।”

केही दिन यता चिनियाँ सामाजिक सञ्जाल वाइबोमा यस घटनालाई लिएर चर्का टीकाटिप्पणी भइरहेका थिए।

“कम्पनीको उपाध्यक्षको हैसियतमा [कु]ले उनको टिप्पणी तथा व्यवहारलाई उनका कर्मचारीले घृणा गर्न सक्ने उनले बुझ्नु पर्थ्यो। तापनि उनले सार्वजनिक टिप्पणी गरिन्। त्यसले उनी वास्तविकताभन्दा कति पर रहिछन् भन्ने देखाउँछ,” एक प्रयोगकर्ताको भनाइ थियो।

“उनले बाइडुको जनसम्पर्कको अगुवाइ गर्नु पर्छ तर उनी आफैँ जनसम्पर्कको सङ्कटमा परेकी छन्। यो त व्यावसायिकताको अभाव हो,” अर्का प्रयोगकर्ताले लेखे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।