सोशल मिडिया: रुसले यसरी गर्छ फेसबुक, ट्विटर र गुगललाई नियन्त्रण

रुस

तस्बिर स्रोत, Getty Images

    • Author, एन्ड्री जखारोफ र सेनिया चुर्मानोभा
    • Role, बीबीसी रुसी सेवा

रुसी सरकारले गैरकानुनी ठान्ने सामग्री हटाउन विफल भएकोमा दशौँ लाख डलर जरिवाना खेप्नुपर्ने जोखिममा गुगल र मेटा रहन्छन्।

तर अदालतका कागजपत्रलाई नजिकबाट केलाउँदा ती सामग्रीहरू जेल परेका विपक्षी नेता एलेक्सी नभाल्नीको समर्थनमा राखिएका पोस्टहरू हुन्।

सन् १०१८ को गर्मीयाममा साइबेरिअन भाइकिङ उपनाम भएका एकजना रुसी कविले फेसबुकमा एउटा व्यङ्ग्यात्मक सामग्री राखे।

त्यसमा रुसको राष्ट्रिय चिह्नमा रहेका चराहरूको टाउकोलाई राष्ट्रपति भ्लादिमिर पुटिन र तत्कालीन प्रधानमन्त्री दिमित्रि मेदभेडिअवको अनुहारले प्रतिस्थापित गरेको थियो।

त्योसँगै एउटा सङ्क्षिप्त कविता पनि थियो जसमा उक्त चिल अरूभन्दा दुई गुणा लोभी भएको र त्यसले अरूले भन्दा दुई गुणा ठग्ने र चारवटा आँखाले निगरानी गर्ने उल्लेख गरिएको थियो।

त्यो कविताको अन्त्यमा लेखिएको थियो, "यस्तो प्रदूषण हटाउन रुसीहरू कहिले ब्युँझन्छन्?"

रुसी सरकारले राज्य, संविधान र राष्ट्रपतिप्रति ठाडो अपमान गरेको भन्दै फेसबुकलाई उक्त पोस्ट हटाउन अनुरोध गर्‍यो।।

तर फेसबुकले त्यसलाई स्वीकार गरेन। रुसमा पश्चिमा सामाजिक सञ्जालविरुद्ध यस वर्ष चलाइएका ६० मुद्दामध्ये एउटामा उक्त पोस्टलाई पनि उल्लेख गरिएको छ। ती मुद्दामा २० लाख डलरभन्दा बढी जरिवाना गराइएको छ।

यी जरिवानामध्ये कति तिरिए त्यो प्रस्ट छैन। तर यी घटनाले अभिव्यक्ति स्वतन्त्रता र राजनीति गतिविधिमा अङ्कुश लगाइएको देशमा सेवा प्रवाह गर्न रहेका जटिलता देखाउँछ।

अघिल्लो वर्षको जुनमा जेलमा रहेका नभाल्नीले नेतृत्वको भ्रष्टाचारविरोधी कोषलाई एउटा 'उग्रवादी' सङ्गठनको सङ्ज्ञा दिँदै त्यसलाई तालिबान र इस्लामिक स्टेट समूहको दर्जामा राखिएको थियो।

रुसको सञ्चार नियामक निकाय रोस्कोमन्दजोरका प्रमुख एन्ड्रेइ लिपोभले 'एकदमै खतरनाक सामग्रीहरू' हटाउने जिम्मेवारी सामाजिक सञ्जाल चलाउने कम्पनीहरूको भएको बताए।

कम्मेरसान्ट पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले बालबालिकासँग जोडिएका अश्लील सामग्री, आत्महत्या, लागुऔषध, उग्रवाद र मिथ्या समाचारलाई उक्त सूचीमा राखेका छन्।

सन् २०२१ मा रुसले हटाउन चाहेका सामग्री. अदालतका दस्तावेजमा आधारित. चरमपन्थी विचार = यहुदीविरोधी भावना, मुस्लिम/चेचेन विद्रोह, युक्रेनी चरम दक्षिणपन्थी राष्ट्रियता.

तर गुगल, फेसबुक, इन्स्टाग्राम र ट्विटरविरुद्ध अदालतमा दायर भएका ६०० भन्दा बढी पोस्टको अध्ययनले जम्मा नौवटा बाल दुर्व्यवहार वा लागुऔषधसँग र जम्मा १२ वटा आत्महत्यासँग जोडिएको देखाएको छ।

अत्यधिक बहुमत नभाल्नी पक्षधर प्रदर्शनको सहभागी हुने आह्वानसम्बन्धी पोस्टहरूमा छन्।

"न रोस्कोमन्दजोर न क्रेमलिन रुसमा राजनीतिक रूपमा सेन्सरसीप रहेको बताउन चाहन्छन्," आधिकारिक दस्तावेजहरूमा बाल संरक्षणलाई जोड दिइएकोबारे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने दबाव समूह रस्कमसोबोदाका कानुनी विज्ञ सार्किस डार्बिनिअन भन्छन्।

"आमजनतालाई किन यो सङ्घर्ष आवश्यक छ भनेर देखाउन उनीहरू बच्चाको आँसुको शोषण गर्छन्।"

बीबीसीले प्रतिक्रियाका लागि अनुरोध गरेकोमा रोस्कोमन्दजोरबाट कुनै जवाफ आएन। तर राष्ट्रपति पुटिनका प्रेस प्रवक्ताले विगतमा सामाजिक सञ्जालका कम्पनीहरूविरुद्ध चालिएका कदमहरू प्रतिबन्ध नभई रुसी कानुन कार्यान्वयन गराउने प्रयास भएको बताए।

सामाजिक सञ्जालहरूविरुद्ध दबाव देखिएको सन् २०१५ यता हो। त्यसबेला रुसी भूगोलभित्र रहेका रुसी प्रयोगकर्ताका विवरण रुसमै भण्डारण गर्न र त्यसो नगरे कम्पनीहरूलाई जरिवाना गर्न र बन्द गर्ने अधिकार दिने कानुन कार्यान्वयनमा आयो।

कुनै पनि पश्चिमा कम्पनीहरूले त्यसको पालना गरेनन् जसका कारण सन् २०१६ मा लिन्क्डइनलाई बन्द गरियो। गुगल, मेटा र ट्विटर कम्पनीलाई सन् २०२० को सुरुयता छ लाख डलरभन्दा बढी जरिवाना गराइएको छ।

श्रेणी

सन् २०१६ मा रुस सरकारले गुगललाई यूट्युबबाट भिडिओहरू हटाउन र निश्चित खोजीका परिणामहरूलाई अवरुद्ध पार्न अनुरोध गर्ने क्रम बढ्न थाल्यो।

गुगलको ट्रान्सपरेन्सी रिपोर्टले पछिल्लो १० वर्षमा उसले सबैभन्दा धेरै त्यस्तो अनुरोध रुसबाट पाएको जनाएको छ। त्यसमध्ये एकतिहाइ राष्ट्रिय सुरक्षासँग जोडिएका थिए।

अरू पश्चिमा कम्पनीहरूले जस्तै गुगलले केही रुसी अनुरोधहरूलाई स्वीकार गर्ने गर्छ भने अरूलाई गर्दैन।

सामाजिक सञ्जालमा आफूले नचाहेका सामग्री फैलनबाट रोक्ने प्रयास सन् २०२१ को प्रारम्भमा पुन: देखियो।

त्यस बेला जर्मनीको अस्पतालमा उपचार गराएर नभाल्नी रुस फर्किएका थिए।

एलेक्सी नभाल्नी

तस्बिर स्रोत, Getty Images

नभाल्नी तत्कालै पक्राउ परेका थिए जसका कारण मस्कोसहित विभिन्न स्थानमा प्रदर्शन भए जसलाई उनका समर्थकहरूले सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गरेका थिए।

यसविरुद्ध रुसी नियामक निकायले उजुरीहरू गरेको थियो।

रुसको तेस्रो लोकप्रिय सामाजिक सञ्जाल भीके डट कमले तुरुन्तै त्यस्ता पोस्टहरूलाई हटाए पनि पश्चिमा सामाजिक सञ्जालहरूले सहजै अनुरोध नस्वीकार्दा रोस्कोमन्दजोरदरले उनीहरूलाई अदालतमा लैजाने र जरिवाना गराउने गर्न थालेको थियो।

मार्चमा केही पोस्ट र भिडिओहरू मेटाउन अस्वीकार गर्दा त्यो लोड हुन समय लाग्ने गरी ढिलो बनाइएको थियो।

त्यही वर्षको अन्त्यमा गुगल र एपललाई नभाल्नीका समर्थकहरूलाई स्थानीय चुनावमा समर्थनमा एकताबद्ध हुन सहयोग गर्ने गरी बनाइएको एउटा 'स्मार्ट-भोटिङ' एप हटाउन रुसले सहमत बनाएको थियो।

सोशल नेटवर्कलाई जरिवाना (सन् २०२०-२०२१). करोड रुबलमा. *फेसबुक/इन्टाग्राम.

नभाल्नीको समूहका प्रमुख इभान ज्दानोफले 'लाजमर्दो किसिमले राजनीतिक सेन्सरसीप' लगाएको भन्दै ती कम्पनीको आलोचना गरेका थिए।

पछि उनले एपल कम्पनीको पत्रको अंशलाई ट्विट गरेका थिए जसमा अभियोजकहरूले उक्त एपले गैरकानुनी रूपमा 'चुनावमा हस्तक्षेप गरेको' आरोप लगाएका थिए।

उक्त पत्रमा रुसी सञ्चार नियामक निकायले एपललाई 'उग्रवादी सङ्गठन'लाई बढावा दिएको आरोप लगाएको थियो।

बीबीसीले गुगल, एपल, मेटा वा ट्विटरको प्रतिक्रिया लिन खोज्दा उनीहरूले अस्वीकार गरे वा कुनै पनि प्रतिक्रिया दिएनन्।

रुसी सञ्चार नियामक निकायले गएको मे महिनामा ट्विटरलाई ढिलो बनाउन चालेको कदमलाई आंशिक रूपमा उल्टाएको थियो।

त्यस बेला ट्विटरले ५,९०० अपमानजनक ट्वीट हटाएको दाबी गरिएको थियो। अहिले पनि रुसमा मोबाइलमार्फत इन्टरनेट चलाउँदा फोटो र भिडिओ ट्विटरमा लोड हुन समय लाग्छ।

मेटिएका भनिएका ट्वीट रुसी प्रयोगकर्ताहरू माझ देखिँदैन। तर विदेशमा देखा परिरहेकै हुन्छन्।

फेसबुकमा माउ कम्पनी मेटाले पनि केही सामग्रीहरू हटाएको छ। सन् २०२१ को पहिलो छ महिनामा उसले रुसी निकायहरूको अनुरोधमा फेसबुक र इन्स्टाग्रामबाट १,८०० सामग्री हटाएको थियो।

उसको पारदर्शितासम्बन्धी प्रतिवेदनमा उक्त कम्पनीले तीमध्ये आधालाई 'उग्रवादसँग सम्बन्धित सामग्री' का रूपमा उल्लेख गरेको छ।

ट्वीट मेसेज

गुगलको ट्रान्सपरेन्सी रिपोर्टले पनि रुसी निकायहरूको अनुरोधमा उसले सर्चका परिणामहरू र यूट्युब भिडिओ सामग्रीहरू हटाएको देखाउँछ।

विगतभन्दा अहिले त्यस्तो अनुरोध बढी स्वीकार गरिएको आँकडाले देखाउँछन्।

रुससँग सामाजिक सञ्जाल सञ्चालन नियन्त्रणको प्राविधिक माध्यम छ र कानुनले पनि त्यसको औचित्य पुष्टि गर्छन्।

रुसी प्रयोगकर्ताका व्यक्तिगत तथ्याङ्क भण्डारण नगर्ने वा हानिकारक सामग्रीहरू हटाउन अस्वीकार गर्ने कम्पनीलाई कानुनी रूपमा रुसमा बन्द गर्न सकिन्छ।

अर्को वर्षबाट देशमा कार्यालय नहुने कम्पनीलाई बन्द गर्न सकिने छ।

रसिया टुडेले जर्मनीमा सञ्चालन गरिरहेका च्यानल बन्द गरेकोमा यूट्युबलाई रुसमा बन्द गर्ने चेतावनी दिइएको छ।

रुसमा लोकप्रिय सामाजिक सञ्जाल. प्रयोगकर्ता, करोडमा. .
Presentational grey line

रुसले अघिल्लो वर्षको अन्त्यमा गैरकानुनी सामग्री हटाउन विफल हुनेलाई थप कडा कारबाहीको व्यवस्था गरेको थियो।

अदालतमा विचाराधीन मुद्दामा वार्षिक आम्दानीको १० प्रतिशतसम्म जरिवाना गर्नसक्ने उल्लेख छ।

मेटाले रुसमा हुने आम्दानी सार्वजनिक गरेको छैन् तर गुगलले अघिल्लो वर्ष एक अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो।

गुगलको हकमा जरिवाना नै १० करोड अमेरिकी डलरसम्म हुनसक्छ।

नाम उल्लेख गर्न नचाहने रुसी नियामक निकायका एक पूर्वअधिकारीले बीबीसीलाई नयाँ जरिवानाका प्रावधानहरूले पश्चिमा कम्पनीहरूलाई सबैभन्दा पीडा दिने ठाउँमा प्रहार गर्ने मौका दिएको बताए।