साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

बाइडन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको छ।

अमेरिकाले रुसमाथि 'साइबर हमला र अन्य शत्रुतापूर्ण कार्य'को आरोप लगाउँदै प्रतिबन्धहरूको घोषणा गरेको छ।

ती प्रतिबन्धहरूले दर्जनौँ रुसी संस्थाहरू र अधिकारीहरूलाई निसानामा पारेको छ।

ह्वाइटहाउसले "रुसको हानिकारक वैदेशिक गतिविधिहरू" रोक्नु उक्त प्रतिबन्धको उद्देश्य रहेको बताएको छ।

वक्तव्यमा गत वर्षको ठूलो "सोलारविन्डस्" ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाइएको छ।

पुटिन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बाइडनको संवाद भएको थियो।

त्यस्तै २०२० को चुनावमा पनि मस्कोले हस्तक्षेप गरेको आरोप त्यसमा लगाइएको छ।

रुसले ती आरोपहरू अस्वीकार गरेको छ र भनेको छ- उसले त्यस्तै प्रकारले प्रतिउत्तर दिनेछ।

बिहीवार घोषित प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको छ।

यसले अब दुई महाशक्ति राष्ट्रहरू तनावपूर्ण सम्बन्धको अवस्थामा पुगेका छन्।

गत महिना क्रेमलिनका आलोचक एलेक्सी नभाल्नीलाई विष दिएको आरोपमा अमेरिकाले सातजना रुसी अधिकारीहरू र एक दर्जनभन्दा बढी संस्थालाई निसानामा पारेको थियो।

line

मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा राष्ट्रपति बाइडनले राष्ट्रिय हितको 'बलियोसँग' रक्षा गर्ने प्रतिज्ञा गरेका थिए।

तर त्यसबेला उनले सहकार्यका क्षेत्रहरूको पहिचान गर्न र सँगै काम गर्नका लागि पुटिनसँग भेटको प्रस्ताव पनि गरेका थिए।

प्रतिबन्धहरू घोषणा भएलगत्तै रुसी विदेश मन्त्रालयले त्यसलाई "खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम" भनेको छ।

उसले यस्तोखाले आक्रामक व्यवहारको निर्णायक प्रतिउत्तर दिने जनाएको छ।

रुसी विदेश मन्त्रालयले मस्कोस्थित अमेरिकी दूतलाई बोलाएको छ।

यूरोपेली सङ्घ, नेटो र यूकेले अमेरिकी प्रतिबन्धको समर्थनमा वक्तव्य निकालेका छन्।