अमेरिका शीर्ष निर्यातकर्ता रहेको विश्वको अस्त्र बजार कस्तो छ

तस्बिर स्रोत, PA Media
अमेरिकाले विगत पाँच वर्षमा अस्त्र व्यापारमा आफ्नो विश्वव्यापी अंश बढाएर ३७ प्रतिशत पुर्याएको स्वीडनस्थित एउटा अनुसन्धान संस्थाले जनाएको छ।
रुस र चीनबाट निर्यात घटेका बेला अमेरिका, फ्रान्स र जर्मनीले आफ्नो अस्त्र निर्यात बढाएका हुन्।
हतियारको आयात र निर्यात शीतयुद्ध अन्त्य भएपछि अहिले उच्चबिन्दुमा पुगेको देखिन्छ।
तर कोभिड महामारीले त्यसमा केही परिवर्तन ल्याउन सक्छ।
मध्यपूर्वमा शस्त्रअस्त्र किन्ने होड अन्यत्रभन्दा बढी देखिएको छ।
कस्तो छ बजार?
यस्तो विवरण सङ्कलन गरेको स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिट्यूट (सिप्री) का वरिष्ठ अध्ययनकर्ता पिटर वेजेमन भन्छन्, "सन् २०२० मा महामारी उत्कर्षमा पुगेको बेलामा समेत केही देशहरूले अस्त्रशस्त्र किन्ने ठूला सम्झौता गरेका छन्।"
उक्त संस्थाका अनुसार अन्तर्राष्ट्रिय रूपमा अस्त्रशस्त्रको विक्री सन् २०१६ देखि सन् २०२० सम्म अघिल्लो पाँच वर्षको तुलनामा स्थिर रहेको थियो।
आधाजसो अर्थात् ४७ प्रतिशत अमेरिकी अस्त्र मध्यपूर्वमा निर्यात भएको थियो। त्यसमध्ये अमेरिकाले बेचेको कुल अस्त्रको २४ प्रतिशत साउदी अरब गएको छ।
आफ्नो बजार हिस्सा बढाएको अमेरिकाले यतिखेर ९६ देशमा आफूले उत्पादन गरेका अस्त्रशस्त्र पठाइरहेको छ।

तस्बिर स्रोत, Getty Images
फ्रान्सले आफ्ना मुख्य अस्त्रको निर्यातलाई ४४ प्रतिशतले बढाएको छ भने जर्मनीको निर्यात पनि २१ प्रतिशतले बढेको छ।
इजरेल र दक्षिण कोरिया दुवैले उल्लेख्य रूपमा निर्यात बढाएका छन्। तर अरू निर्यातकर्तासँग तुलना गर्दा तिनलाई सानै मानिन्छ।
मध्यपूर्वमा कसरी भएको छ वृद्धि?
विगत पाँच वर्षको तथ्याङ्कसँग तुलना गर्दा सन् २०१६ देखि २०२० सँगको अवधिमा २५ प्रतिशत बढी अस्त्र किनेर मध्यपूर्व तीव्र गतिमा बढेको बजार बनेको छ।
सो अवधिमा साउदी अरबको आयात वृद्धिदर ६१ प्रतिशत, इजिप्टको १३६ प्रतिशत र कतारको ३६१ प्रतिशत देखिन्छ।
एशिया र ओशिआनिया मुख्य अस्त्र आयात गर्ने विश्वका ठूला क्षेत्र हुन्। त्यहाँ विश्वको ४२ प्रतिशत हतियार निर्यात भएका छन्।
भारत, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र पाकिस्तान उक्त क्षेत्रका ठूला आयातकर्ता हुन्।
रूस र चीनको व्यापार किन घट्यो?
रुस र चीन दुवैको अस्त्र निर्यात घटेको भए पनि सब-सहारा अफ्रिकामा यी देशहरू मुख्य निर्यातकर्ताका रूपमा छन्।
यद्यपि सिप्रीका अध्ययनकर्ताहरू रुसले हालै कैयौँ देशसँग नयाँ सम्झौता गरेकाले आगामी दिनमा उसको हिस्सा बढ्ने धारणा राख्छन्।
केही समययता रुसको अस्त्र निर्यात २२ प्रतिशतले कम भएको थियो।
त्यसको एउटा मुख्य कारण भारतमा हुने निर्यात ५३ प्रतिशतले घट्नु हो।









