युक्रेन युद्ध: दुवै पक्षद्वारा सैन्य र व्यावसायिक ड्रोनको प्रयोग

तस्बिर स्रोत, Getty Images
युक्रेन युद्धमा दुस्मन रहेको स्थानहरू पत्ता लगाउन, क्षेप्यास्त्र प्रक्षेपण गर्न र प्रत्यक्ष लामो दूरीका अस्त्रहरू प्रहार गर्न हजारौँ ड्रोनहरू प्रयोग भइरहेका छन्।
दुवै पक्षले खास उद्देश्यले विकास गरिएका सैन्य ड्रोनहरू र व्यापक रूपमा बजारमा उपलब्ध गैरसैनिक ड्रोनहरू तैनाथ गरिरहेका छन्।
युक्रेन र रुससँग कस्ता सैन्य ड्रोन छन्?
युक्रेनको मुख्य सैन्य ड्रोन टर्कीद्वारा निर्मित बाईरक्टार टीबी टू हो। यसको आकार सानो विमान बराबरको हुन्छ।
यसमा क्यामेराहरू जडान गरिएको हुन्छ र लेजर-निर्देशित विस्फोटक राख्न सकिन्छ।
विज्ञहरूको समूह रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका डा. ज्याक वाटलिङका अनुसार युक्रेनले "५० वटाभन्दा कम" उक्त मानवरहित हवाई उपकरणसहित युद्ध सुरु गरेको थियो।
रुसले मुख्यतया "सानो र आधारभूत क्षमता भएको" ओर्लन-टेन प्रयोग गरेको उनले बताए।
"रुसले हजारौँको सङ्ख्यामा ड्रोन लिएर युद्ध सुरु गर्यो र ऊसँग अझै केही सय बाँकी हुन सक्छ।"
यी ड्रोनहरूमा क्यामेरा जडान गरिएको छ र तिनले क्षेप्यास्त्रहरू प्रहार गर्ने क्षमता राख्छन्।
सैन्य ड्रोन कति प्रभावकारी हुन्छन्?
दुवै पक्षका ड्रोन शत्रुलक्षित क्षेत्र फेला पार्न र उनीहरू केन्द्रित तोपलाई दिशानिर्देश गर्ने काममा सबैभन्दा प्रभावकारी ठहरिएका छन्।
"ओर्लान- टेनले लक्ष्य पत्ता लगाएको तीनदेखि पाँच मिनेटभित्र रुसी सैनिकले शत्रुमाथि गोलाबारीसहित आक्रमण गर्न सक्छन्," डा. वाटलिङले भने।

उनका अनुसार ड्रोनविना आक्रमण गर्न २० देखि ३० मिनेट लाग्न सक्छ।
किङ्ग्स कलेज लन्डनका प्रतिरक्षा अध्ययनका अनुसन्धानकर्ता डा. मार्टिना मिरोनले ड्रोनले युक्रेनलाई आफ्नो सीमित सेना विस्तार गर्न मद्दत गरेको बताइन्।
"विगतमा शत्रुको स्थान पहिचान गर्न चाहेको खण्डमा विशेष बल इकाईहरू पठाउनुपर्थ्यो र केही सेनाहरू गुमाउनु पर्ने हुन्थ्यो," उनी भन्छिन्।
"अहिले केही जोखिममा छ भने त्यो ड्रोन हो।"

तस्बिर स्रोत, EPA
युद्धको सुरुवाती केही साताहरूमा युक्रेनको बाईरक्टार टीबी टू ड्रोनको व्यापक प्रशंसा भएको थियो।
"तिनीहरूले गोलाबारुदका भण्डार जस्ता लक्ष्यहरूमाथि आक्रमण गरेको देखाइएको थियो र युद्धपोत मोस्क्भा डुब्नुमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो," डा. मिरोन भन्छिन्।
यद्यपि थुप्रै बाईरक्टारहरू रुसको हवाई रक्षा प्रणालीद्वारा नष्ट भएका छन्।
"तिनीहरू ठूला हुन्छन्, तुलनात्मक रूपमा ढिलो चल्छन्, मध्यम उचाइमा मात्र उड्छन् जसका कारण यस उपकरणलाई प्रहार गरेर झार्न सजिलो हुन्छ," डा. वाटलिङ भन्छन्।
गैरसैन्य ड्रोनको प्रयोग कसरी भइरहेको छ?
सैन्य ड्रोनहरू प्रतिस्थापन गर्न महँगो छ।
एउटै बाईरक्टार टीबी टूको लागत करिब १७ लाख पाउन्ड पर्छ।
त्यसैले दुवै पक्षहरू, विशेषगरी युक्रेनले डीजेआई माभिक थ्रीजस्ता साना र व्यावसायिक मोडेलका ड्रोनहरूको प्रयोगमा जोड दिएको छ।
यस्ता ड्रोनको लागत करिब १,७०० पाउन्ड पर्छ।

एक युक्रेनी ड्रोन उत्पादकले देशको सेनासँग करिब ६,००० ड्रोनहरू रहेको आकलन गरेको छ। तर यस कुरालाई पुष्टि गर्न सम्भव छैन।
व्यावसायिक ड्रोनमा साना बमहरू जडान गर्न सकिन्छ।
यद्यपि तिनीहरूलाई प्राय: प्रतिद्वन्द्वी सेनाहरू र प्रत्यक्ष हुने आक्रमणहरू पत्ता लगाउन प्रयोग गरिन्छ।
"युक्रेनसँग रुससँग जति धेरै अस्त्र छैन," डा. मिरोन भन्छिन्।
"यी ड्रोनहरूले लक्ष्य पहिल्याएर गोलाबारी गर्न सक्छन्। यसरी आकाशमा शत्रु नियाल्ने दृष्टि थपिनुले उनीहरूले आफ्नो स्रोत र क्षमताको थप प्रभावकारी उपयोग गर्न सक्छन्।"
यद्यपि व्यावसायिक ड्रोनहरू सैन्य ड्रोनभन्दा निकै कम शक्तिशाली हुन्छन्।
डीजेआई माभिक थ्रीको क्षमता ३० किलोमिटरको दायरामा सीमित छ र यो ४६ मिनेटसम्म मात्र उड्न सक्छ।
सस्ता र साना ड्रोनहरू पनि कम समयको लागि उड्छन् र तिनले छोटो दूरी तय गर्छन्।

दुवै पक्ष कसरी ड्रोनबाट जोगिँदै छन्?
रुसले सैन्य ड्रोनहरूबाट जोगिन रडार प्रतिरक्षा प्रणालीको र व्यावसायिक ड्रोनहरूबाट जोगिन विद्युतीय उपकरणहरूको प्रयोग गर्ने गरेको डा. मिरोनले बताइन्।
"रुसी सैन्य बलसँग स्टुपोर नामक राइफल छ जसले विद्युत् चुम्बकीय तरङ्गहरू पैदा गर्छ," उनले भनिन्।
यसले व्यावसायिक ड्रोनहरूलाई जीपीएसको सहायताले रोक्छ।
साथै रुसी बलले एअरोस्कोपजस्तै अनलाइन प्रणालीहरूको पनि प्रयोग गर्छ।
यस प्रणालीले व्यावसायिक ड्रोनहरू र तिनका सञ्चालकबीचको सम्पर्क पहिल्याउने वा अवरोध पुर्याउने काम गर्छ।
तिनीहरूले ड्रोनलाई दुर्घटनाग्रस्त स्थिति वा आधार शिविरसम्म पुर्याउन सक्छन् र ड्रोनलाई जानकारी फर्काउनबाट रोक्न सक्छन्।
रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटको रिपोर्ट अनुसार औसत युक्रेनी ड्रोन एक सातासम्म मात्र टिक्छ।
ड्रोन कसले आपूर्ति गर्दैछ?
ह्वाइट हाउसका अनुसार रुसले अहिले इरानबाट सैन्य ड्रोन खरिद गरिरहेको छ।
उक्त सैन्य उपकरण यसअघि यमनका हुथी विद्रोही सेनाले साउदी अरब र यूएईमाथि आक्रमण गर्न प्रयोग गरेको थियो।
अमेरिकाले युक्रेनलाई करिब ७०० स्वीचब्लेड "कामिकाजे" सैन्य ड्रोनहरू आपूर्ति गरिरहेको छ।
यी ड्रोन विस्फोटक पदार्थले भरिएका हुन्छन् र आफ्नो लक्ष्य नभेटिएसम्म आकाशमा रहिरहन सक्छन्।
एलोन मस्कको स्पेसएक्स कम्पनीले युक्रेनलाई आफ्नो स्टारलिङ्क स्याटलाइट सञ्चार प्रणाली उपलब्ध गराएको छ।
यसले व्यावसायिक ड्रोन र सञ्चालकहरूबीच एक सुरक्षित सम्पर्क सिर्जना गर्छ।
डीजेआईले हाल रुस र युक्रेनलाई ड्रोन आपूर्ति बन्द गरेको छ।
युक्रेनले ड्रोनको खर्च कसरी जुटाइरहेको छ?
युक्रेनले २०० वटा सैन्य ड्रोन खरिद गर्नका लागि क्राउड फन्डिङ वा सामूहिक आर्थिक सङ्कलन अपील गरेको छ।
"बाईरक्टारहरू टीबीटू जस्ता ठूला ड्रोनका अलावा उनीहरू सानो र सीमित आकारको निगरानी गर्न सक्ने ड्रोनहरू पनि खोजिरहेका छन्," डा. वाटलिङ भन्छन्।
युरोभिजन गीत प्रतियोगिताको युक्रेनी विजेता समूह कालुश अर्केस्ट्राले जितेको उपाधिलाई नौ लाख अमेरिकी डलरमा बेचेर ड्रोन खरिद् अपील कार्यक्रमलाई सहयोग गरेको थियो।
उक्त रकमले युक्रेनमै निर्मित तीन वटा पीडी-टू खरिद गरिनेछ।









