रुसले विदेशमा 'हस्तक्षेप गर्न गुप्त रूपमा ३० करोड डलर खर्च गरेको' अमेरिकी आरोप

रुसले अमेरिकाको निर्वाचनमा हस्तक्षेप गरेको भन्ने आरोपलाई "आधारहीन" भन्दै खण्डन गरेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रुसले अमेरिकाको निर्वाचनमा हस्तक्षेप गरेको भन्ने आरोपलाई "आधारहीन" भन्दै खण्डन गरेको थियो

रुसले सन् २०१४ देखि विश्वका २४ वटाभन्दा बढी देशमा राजनीतिक नेताहरूलाई प्रभावित पार्न छद्म रूपमा ३० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको आरोप संयुक्त राज्य अमेरिकाले लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयले लगाएको उक्त आरोप मङ्लवार अवर्गीकृत एउटा अमेरिकी गुप्तचरी जाँच प्रतिवेदनमा आधारित छ।

राष्ट्रपति जो बाइडनको सरकारका एक वरिष्ठ अधिकारीले त्यो "एउटा ठूलो कुराको एउटा सानो झलक" भएको हुनसक्ने बताएका छन्।

रुसले यसबारे कुनै सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन। यद्यपि मस्कोले अमेरिकाले बरु अरू देशमा हस्तक्षेप गर्दै आएको आरोप लगाउने गरेको छ।

अमेरिकी गुप्तचर निकायले "यो न्यूनतम रकम भएको र रुसले त्यसबाहेक अरू केही पटक रकम छद्म रूपमा पठाएको तर पत्ता लाग्न नसकेको आकलन" गरेको ती अमेरिकी अधिकारीले फोनबाट बताए।

ती अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा कुरा गरेका थिए।

एउटा केबलमा प्रकाशित उक्त अमेरिकी गुप्तचरी जाँचमा रुसद्वारा लक्षित कुनै देशविशेष वा अधिकारीको नाम उल्लेख गरिएको छैन। तर त्यसमा ती देशहरू चारवटा महादेशका भएको जनाइएको छ।

बाइडन प्रशासनका ती अधिकारीका अनुसार अमेरिकी गुप्तचरहरूले रुसले लुकाएर पैसा दिएका निश्चित देशबारे अहिले गोप्य रूपमा जानकारी दिइरहेका छन्। तर त्यस्ता जानकारीहरूको गोपनीयता राखिने उनले बताए।

कपोलकल्पित कम्पनीको नाम

ती तथ्यबारे जानकार एक सरकारी अधिकारीले रुसले एल्बेनियाको निर्वाचनमा मध्यदक्षिणपन्थी डेमोक्र्याटिक पार्टीका लागि सन् २०१७ मा ५,००,००० डलर खर्च गरेको र बोस्निया, मोन्टिनीग्रो र माडग्यास्करका पार्टी वा उम्मेदवारहरूलाई आर्थिक सहयोग गरेको आरोप लगाएको समाचारसंस्था एएफपीले जनाएको छ।

उक्त स्रोतका अनुसार क्रेम्लिनले दक्षिणपन्थी उम्मेदवाहरूलाई सहयोग गर्न ब्रसल्सलाई केन्द्रको रूपमा प्रयोग गरेको थियो।

युरोपका पार्टीहरूलाई आर्थिक सहयोग दिन र अन्यत्र आफ्नो प्रभाव स्थापना गर्न कपोलकल्पित कम्पनीहरूको नाम प्रयोग गरिएको बताइएको छ।

कुनै रुसी निकाय वा अधिकारीले यी आरोपबारे टिप्पणी गरिसकेका छैनन्।

तर यसअघि रुसले अमेरिकाको गुप्तचर निकाय सीआईएले अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको र विश्वका विभिन्न देशमा भएका कूका घटनामा अमेरिकी सहयोग रहेको आरोप लगाएको थियो।

अमेरिकाको संलग्नता

कार्नेगी मेलन यूनिभर्सिटीका अनुसन्धानकर्ता डोभ लेभिनले सङ्कलन गरेको तथ्याङ्कअनुसार अमेरिकाले सन् १९४६ देखि २००० सम्म विश्वभरि ८० पटकभन्दा बढी अरू देशमा भएका निर्वाचनमा हस्तक्षेप गरेको थियो। उक्त सङ्ख्यामा कू वा सत्तापरिवर्तन गर्ने प्रयास पर्दैन।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मङ्गलवार रुसको कथित आर्थिक प्रायोजनलाई "सार्वभौमसत्तामाथिको आक्रमण" को सङ्ज्ञा दिए।

गत वर्ष अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्भवतः सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई लाभ हुनेगरी प्रभावित गर्ने प्रयासलाई स्वीकृति दिएको हुनसक्ने एउटा प्रतिवेदनको जाँच गरेका थिए।

तर अमेरिकाले कुनै विदेशी सरकारले अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम परिणाम प्रभावित नपारेको बताएको थियो।

रुसले निर्वाचनमा हस्तक्षेप गरेको भन्ने आरोपलाई "आधारहीन" भनेको थियो।