युक्रेन युद्ध: युरोपेली जनजीवन 'पश्चिमा प्रतिबन्धको मारमा' परेको पुटिनको आरोप

पुटिन

तस्बिर स्रोत, TASS VIA REUTERS

    • Author, पोल किर्बी
    • Role, बीबीसी न्यूज

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धलाई लिएर पश्चिमा देशहरूले रुसविरूद्ध लगाएका प्रतिबन्धहरूलाई पूरा विश्वलाई नै जोखिममा पार्ने ज्वरो जस्तो भनेर निन्दा गरेका छन्। 

रुसको भ्लादिभोस्टोकमा एक आर्थिक मञ्चलाई सम्बोधन गर्ने क्रममा उनले रुस पश्चिमा आर्थिक "प्रहार"सँग जुझिरहेको बताए। 

तर रुसी राष्ट्रपतिले प्रतिबन्धका नाममा युरोपेलीहरूको गुणस्तरीय जीवनयापनको अवस्थालाई बलिदान दिइएको र सापेक्षित रूपमा गरिब देशहरूले खानेकुरामा पहुँच गुमाएको भन्दै चेतावनी दिएका छन्। 

उनले युक्रेनको अन्नलाई लिएर युरोपले गरिब देशहरूलाई छल गरेको समेत आरोप लगाए। 

नाकाबन्दी

कैयौँ महिना युक्रेनको समुद्री बन्दरगाहलाई रुसी फौजले नाकाबन्दी गरेका थिए। 

तर अगस्टको सुरुमा निर्यात थालिएपछि खाद्यान्न बोकेका दुईवटा मात्र पानीजहाज अफ्रिकातर्फ गएकोमा उनले जोड दिए - तर अवस्था त्यस्तो होइन। 

उनले त्यस्तो सम्झौताका बारेमा आफूले पुनः छलफल गर्न खोजेको बताए जुन टिप्पणीलाई युक्रेनले आधारहीन भनेर खारेज गरेको छ।

२४ फेब्रुअरीमा युक्रेनमा अतिक्रमण सुरु गरेको रुसले अहिले युक्रेनी भूभागको पाँच भागको झण्डै एक भाग कब्जा गर्छ। 

६ महिनापछि रुस किएभ र उत्तरी क्षेत्रबाट पछाडि धकेलिएको छ र अहिले देशको दक्षिण र पूर्वमा युक्रेनी प्रत्याक्रमणको सामना गरिरहेको छ। 

पश्चिमा प्रतिबन्ध

पश्चिमा देशहरूले युद्धप्रति प्रतिक्रिया जनाउने क्रममा ठूलो सङ्ख्यामा रुसी नागरिक, व्यवसाय र राज्यद्वारा सञ्चालित कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका थिए। 

युरोपेली सङ्घ ईयूले रुसी ग्यास र तेलमा रहेको निर्भरता कम गर्न खोजेको छ। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य

मस्कोले प्राविधिक कारण बताउँदै जर्मनीसँग जोडिएको मुख्य नोर्डस्ट्रिम-१ पाइपलाइन बन्द गरिदिएको छ। 

ऊर्जाको मूल्य आकासिएको छ र ईयूका मन्त्रीहरू उक्त सङ्कटसँग जुझ्ने विषयमा छलफल गर्न शुक्रवार भेट्दैछन्। 

पुटिनले रुसी ग्यासको मूल्यमा सीमा तोक्ने प्रस्तावलाई मुर्खतापूर्ण भन्दै आलोचना गरेका छन्। 

पुटिनले थप के भने?

पुटिनले पश्चिमा देशहरूले अन्य देशहरूमा आफ्नो व्यवहार लाद्न खोजेको समेत बताए। 

उनले धेरै कम्पनीहरू रुस छाड्न हतारिएको बताउँदै "अहिले आफूहरूले युरोपमा कसरी उत्पादन र रोजगारीहरू एकपछि अर्को गर्दै बन्द भएको देखेको" बताएका छन्। 

यद्यपि रुसले समेत त्यसको झट्का व्यहोरेको छ जहाँ महँगी बढिरहेको र कम्पनीहरू अत्यावश्यक पार्टपुर्जा आयात गर्न सङ्घर्ष गरिरहेका छन्। 

पुटिनको सम्बोधन पश्चिमा जगत र घरेलु स्रोताप्रति लक्षित देखिएको थियो। 

उनले मानिसहरूको आँखै अगाडी अमेरिकी डलर, युरो र पाउन्डप्रतिको विश्वास खस्किरहेको बताए। 

रुस आफ्नो सार्वभौमसत्ता बलियो बनाउँदै युद्धबाट तङ्ग्रँदै गरेको उनको भनाइ थियो: "हामीले केही गुमाएका छैनौँ र केही गुमाउने छैनौँ भन्नेमा म ढुक्क छु।"

युक्रेनी प्रतिक्रिया

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले आफ्नो ऊर्जा स्रोतलाई देखाएर युरोपलाई धम्क्याउन खोजेको बताए। 

उनले भने, "पुटिनले युरोपमा हरेक घरको स्थिरता र स्वास्थ्य बिगार्न चाहेका छन्।"

शीर्ष चिनियाँ नेता ली चान्सुले समेत उक्त मञ्चमा सहभागिता जनाएका छन्। 

त्यहाँ रुसी राष्ट्रपतिले भने, "कसैले रुसलाई जति एक्लाउन खोजे तापनि त्यसो गर्न असम्भव छ।"

रुसी समाचार संस्थाहरूले राष्ट्रपति पुटिनले अर्को साता उज्बेकिस्तानमा चिनियाँ समकक्षी सी जिन्पिङलाई भेट्ने जनाएका छन्। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुससँग कतिवटा परमाणुअस्त्र छन्?