युक्रेन युद्ध: विश्व खाद्य सङ्कट सिर्जना गरेको आरोप रुसी विदेशमन्त्रीद्वारा अस्वीकार

तस्बिर स्रोत, RUSSIAN FOREIGN MINISTRY/EPA
- Author, रोबर्ट प्लमर
- Role, बीबीसी न्यूज
रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले मस्कोका कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोप अस्वीकार गरेका छन्।
कूटनीतिक अभियानमा इजिप्टमा रहेका उनले कायरो स्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरे।
उनले पश्चिमा देशहरूलाई अन्य देशमाथि हाबी हुन खोजेको आरोप लगाएका छन्।
रुसले युक्रेनमा सुरु गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा अन्नको चरम अभाव भएको छ।
युक्रेनमा उत्पादित अन्नको निर्यात गर्ने सम्बन्धी शुक्रवार भएको एक ऐतिहासिक सम्झौता पनि ओडेसा बन्दरगाहमा शनिवार रुसले आक्रमण गरेपछि अलपत्र परेको छ।
युद्धबारे आक्रोश बढिरहेका बेला रुसको पक्षमा समर्थन जुटाउन लाभ्रोभ तीन वटा अफ्रिकी देशहरूमा जाँदै छन्।
लाभ्रोभले रुसमाथि प्रतिबन्ध लगाउने पश्चिमा देशहरूको 'आक्रामक प्रस्तुति' त्यो 'युक्रेनको बारेमा नभई विश्व व्यवस्थाको भविष्यबारे' भएको सङ्केत दिएको टिप्पणी गरे।
"उनीहरू सबैले नियममा आधारित विश्व व्यवस्थाको समर्थन गर्नुपर्ने कुरा गर्छन् र नियमहरू कुनै निश्चित परिस्थितिको समाधान पश्चिमले कसरी आफ्नो पक्षमा चाहन्छ भन्ने आधारमा बनाइएका छन्," लाभ्रोभले भने।
अरब र अफ्रिकासँग रुसी साइनो
त्यसअघि उनले इजिप्ट स्थित आफ्ना समकक्षी सामेख सुक्रीसँग भेट गरेका थिए।
इजिप्टको रुससँग महत्त्वपूर्ण सम्बन्ध छ।
रुसले यहाँ गहुँ र हतियारको आपूर्ति गर्नुका साथै युक्रेनमा आक्रमण सुरु हुनु अघिसम्म रुसबाट ठूलो सङ्ख्यामा पर्यटक पनि इजिप्ट जाने गरेका थिए।
सुक्रीसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लाभ्रोभले 'युद्ध के हो र कसले जित्छ' भन्ने थाहा पाए पनि पश्चिमा देशहरूले युद्ध लम्ब्याएको बताए।
त्यहाँबाट अफ्रिका जान लागेका लाभ्रोभको यो भ्रमण पहिलो चरणको हो। उनी इथियोपिया, युगान्डा र कङ्गो ब्राजुभिल जाँदै छन्।
उनको भ्रमणका दौरान स्थानीय पत्रिकामा छापिएका लेखमा लाभ्रोभले आफ्नो देशले 'औपनिवेशिक शासनबाट मुक्तिका लागि भएको सङ्घर्षमा अफ्रिकीहरूलाई सहयोग गरेको' उल्लेख गरेका छन्।
अन्न निर्यातको हिस्सा
उनले युक्रेन मामिलामा अफ्रिकीहरूले लिएको 'सन्तुलित अडान'को समेत प्रशंसा गरेका छन्।

तस्बिर स्रोत, REX/Shutterstock
अफ्रिकन डेभलपमेन्ट ब्याङ्कका अनुसार युक्रेन र रुसले अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत हिस्सा आपूर्ति गर्छन्।
इजिप्ट युक्रेनी गहुँको ठूलो उपभोक्ता मध्येको हो। सन् २०१९ मा यो देशले सबैभन्दा बढी ३६ लाख टन युक्रेनी गहुँ आपूर्ति गरेको थियो।
तर आफ्नो लेखमा लाभ्रोभले रुसले 'भोकमरी निर्यात गरिरहेको' भन्ने आरोप अस्वीकार गरेका छन्। उनले यसलाई पश्चिमा प्रचार भनेका छन्।
रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धले कोरोनाभाइरस महामारीबाट थलिएको अन्तर्राष्ट्रिय खाद्य बजारमा 'नकारात्मक प्रवृत्तिले' प्रश्रय पाएको आरोप उनले लगाएका छन्।
पक्षमा पार्न प्रयत्न
बीबीसीका अफ्रिका क्षेत्रीय सम्पादक वील रोजका अनुसार लाभ्रोभले अफ्रिकी देशहरूलाई पश्चिमाको पक्षमा भन्दा रुसको पक्षमा लाग्दा उनीहरूलाई राम्रो हुने भनेर फकाउन खोजिरहेका छन्।
जसका लागि उनले 'हामी तिमीहरूलाई उपनिवेशबाट मुक्तिको प्रक्रिया पूरा गर्न सहयोग गर्छौँ' भनिरहेका छन्।
तर उक्त महादेशका अधिकांश देशहरूले यो युद्धमा कतै पनि पक्ष लिन अस्वीकार गरिरहेका छन्। शीतयुद्धले अफ्रिकामा द्वन्द्व बढाउने देखि विकाशका कामहरू रोकिने जस्ता विध्वंसात्मक असर गरेको थियो।
अहिले उनीहरूको मुख्य चासो खाद्यान्न आपूर्तिमा छ। कतिपय अफ्रिकी नेताहरू मानिसहरूले खानेकुराको प्रबन्ध गर्न सकेनन् भने उनीहरूको आफ्नै पद खतरामा पर्नेप्रति सजग देखिन्छन्।










