युक्रेन युद्ध: साउदी अरबलाई उछिन्दै रुस बन्यो चीनलाई धेरै तेल निर्यात गर्ने देश

तस्बिर स्रोत, Getty Images
- Author, पिटर हस्किन्स
- Role, व्यापार संवाददाता
चीनलाई पेट्रोलियम पदार्थ निर्यात गर्ने देशमध्ये रुस शीर्ष स्थानमा पुगेको छ। युक्रेन युद्ध चलिरहेका बेला मस्कोले बेइजिङलाई छुट दिएर कच्चा तेल बेच्न थालेपछि यो अवस्था देखा परेको हो।
रुसी तेलको आयात ५५ प्रतिशतले वृद्धि भएको छ।
रुसी तेलको आयात यो वर्षको आरम्भदेखि बढ्न थालेको थियो भने मे महिनामा अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको थियो।
यससँगै चीनलाई सबैभन्दा धेरै तेल दिँदै आएको साउदी अरबलाई रुसले विस्थापित गरेको छ।
कोभिड महामारी र सुस्ताउँदो अर्थतन्त्रका माझ चीनले रुसबाट बढी तेल किन्न थालेको हो।
चीनले कति तेल किनिरहेको छ?
फेब्रुअरी महिनामा चीन र रुसले आफ्नो मित्रतामा "असीमित रहेको" घोषणा गरेका थिए।
चीनका ठूला सरकारी प्रशोधन कम्पनीहरू साइनोपेक र चेन्ह्वा आयलले ठूलो छुट पाएपछि रुसबाट तेल आयात बढाएका थिए।
युक्रेन युद्धका कारण रुसमाथि प्रतिबन्ध लगाइएकाले युरोप र अमेरिकी क्रेताहरूले तेल आयात रोकेका छन्।
इस्ट साइबेरिया प्यासिफिक ओशन पाइपलाइन र समुद्री पारवहनमार्फत् भइरहेको चीनको आयात गत महिना झन्डै ८४ लाख २० हजार टन पुगेको चाइनिज जेनरल एडमिनिस्ट्रेशन कस्टम्सको विवरणले जनाएको छ।
यसअघिको चीनका लागि कच्चा तेलको सबैभन्दा ठूलो स्रोत साउदी अरब थियो।
अहिले साउदी अरब दोस्रो स्थानमा पुगेको छ।
उसले चीनलाई ७८ लाख २० हजार टन कच्चा तेल निर्यात गरेको छ।
पश्चिमा प्रतिबन्ध
युक्रेनमा भएको अतिक्रमणविरुद्ध पश्चिमा विश्वले रुसविरुद्ध आर्थिक प्रतिबन्ध थपिरहँदा मार्च महिनामा अमेरिका र यूकेले रुसी तेलमा रोक लगाउने बताएका थिए। युरोपेली सङ्घले रुसी तेलमा रहेको आफ्नो निर्भरता अन्त्य गर्नेगरी काम भइरहेको जनाएको थियो।
त्यस बेला अमेरिकी राष्ट्रपति जो बाइडनले त्यस्तो कदमले 'रुसी अर्थतन्त्रको मुख्य नसा'लाई निसाना बनाएको बताएका थिए।
रुसको आम्दानीका लागि ऊर्जा निर्यात एउटा मुख्य स्रोतको रूपमा छ। तर यस कदमले पश्चिमा खरिदकर्तालाई समेत प्रभाव पार्न सक्ने देखिन्छ।
गत साता सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लीन एअर (सीआरईए) नामको एउटा प्राज्ञिक अध्ययन संस्थाले युक्रेनमा आक्रमण भएपछि १०० दिनमा रुसले झन्डै १०० अर्ब अमेरिकी डलर कमाएको जनाएको थियो।
यद्यपि मे महिनामा निर्यात खस्किन थालेको थियो।
उक्त तेल किन्नेमा युरोपेली सङ्घको हिस्सा ६१ प्रतिशतजति थियो। त्यसको मूल्य झन्डै ५९ अर्ब अमेरिकी डलर हुन आउँछ।
'युद्धको खर्चभन्दा धेरै आम्दानी'
रुसी तेल र ग्यासको समग्र निर्यात घटिरहँदा मस्कोको आय समेत मार्च महिनामा पुगेको दैनिक एक अर्ब डलरको एउटा उच्चबिन्दुबाट घटिरहेको छ।
तर पहिलो १०० दिनको तथ्याङ्कअनुसार आय अझै युक्रेन युद्धमा भइरहेको खर्चभन्दा उच्च छ।
सीआरईएको अनुमानअनुसार रुसले दैनिक ८७.६ करोड अमेरिकी डलर युक्रेन युद्धमा खर्च गरिरहेको छ।
सोमवारको तथ्याङ्कले गत महिना चीनले इरानबाट दुई लाख ६० हजार टन कच्चा तेल किनेको देखाउँछ जुन गत डिसेम्बरयता इरानबाट ल्याएको तेलको तेस्रो खेप हो।
तेहरानविरुद्ध अमेरिकी प्रतिबन्ध जारी रहँदा पनि चीनले इरानी तेल किन्न छोडेको छैन।
यो पनि हेर्नुहोस्











