रुसले युक्रेनमा धावा बोलेपछि कसरी उदाए 'पुटिनका भान्से'
रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसी राष्ट्रपतिसँग निकट सम्बन्ध भएका एक व्यापारी एकाएक महत्त्वपूर्ण रणनीतिक भूमिकामा देखा परे।
कुनै बेला डकैतीको मुद्दामा दोषी ठहर भएर जेल परेका येभ्गेनी प्रिगोजिन भाडाका सैनिक उपलब्ध गराउने समूह वाग्नर ग्रूपका प्रमुख हुन्। उक्त समूहले उपलब्ध गराएका लडाकुहरूले युक्रेनका विभिन्न स्थानमा रुसी आक्रमणको नेतृत्व गरिरहेका छन्।
उक्त समूहलाई रुस सरकारले आफ्नो प्रत्यक्ष नियन्त्रणमा राख्ने सङ्केत देखिएको छ।
रक्षा अधिकारीहरू र उक्त समूहबीच महिनौँको मतभिन्नतापछि रुसका उपरक्षामन्त्री निकोलाई पान्कोफले “स्वयंसेवक संरचनाहरूले” सीधै रक्षा मन्त्रालयसँग करारमा हस्ताक्षर गर्नुपर्ने बताएका छन्।
धेरै अर्थ लगाउन सकिने उनको भनाइ उक्त समूहप्रति लक्षित भएको ठानिएको छ।
आइतवार एउटा आक्रोशपूर्ण वक्तव्य जारी गर्दै वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले उनको फौजले त्यस्तो करार बहिष्कार गर्ने बताएका छन्।
रुसी पक्षबाट लडिरहेका निजी सैनिकहरूको यो समूहले युक्रेन युद्धमा प्रमुख भूमिका निर्वाह गरिरहेको छ।
आफैँ राजनीतिक महत्त्वाकाङ्क्षा राखेका भनिने प्रिगोजिन रुसका रक्षामन्त्री सर्गेई सोइगू र सेनाप्रमुख भल्यारी गिरासिमोफसँग सार्वजनिक वादविवादमा देखा पर्ने गरेका छन्।
उनले दुवै जनालाई "अयोग्य" को सङ्ज्ञा दिँदै युक्रेनमा लडिरहेका वाग्नरको टोलीलाई नियोजित रूपमा आवश्यक सामग्रीहरूको कम आपूर्ति गरिएको आरोप बारम्बार लगाउँदै आएका छन्।
हेर्नुहोस् यो भिडिओ।

तस्बिर स्रोत, Reuters
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।









