भ्लादिमिर पुटिनः के सार्वजनिक हुने रुसी राष्ट्रपतिका तस्बिरमा कलाकारहरू हुन्छन्

सैन्य पोसाकमा उभिएका मानिसहरूअगाडि उभिएर पुटिनले नयाँवर्षको सन्देश दिएका थिए

तस्बिर स्रोत, Getty Images

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको अवसरमा सम्बोधन गर्दा केही मानिसको ध्यान सेनाको पोसाक लगाएर पछाडि उभिएका मानिसमध्ये खैरो कपाल भएकी एक महिलामा पुग्यो।

ती महिला राष्ट्रपति पुटिनले विगतमा खिचाएका कैयौँ तस्बिर र भिडिओमा पनि देखा परेको दाबी उनीहरूले गरेका छन्।

के त्यो साँचो हो त?

रुसी राष्ट्रपतिले कार्यक्रमहरूमा खिचाउने तस्बिरमा देखिने केही पात्रहरू तस्बिरमा प्रस्तुत भएभन्दा भिन्न पृष्ठभूमिकाका हुने गरेको विगतमा पनि पाइएको थियो।

बीबीसीले सन् २०२० मा गरेको अनुसन्धानले केही कार्यक्रममा सर्वसाधारण मानिसका रूपमा पुटिनसँग कुराकानी गर्ने मानिसहरू वास्तवमा स्थानीय सरकारी अधिकारीहरू रहेको फेला पारेको थियो।

सुनौलो कपाल भएकी महिला

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सामाजिक सञ्जाल तथा द सन र डेली मेल पत्रिकाका वेबसाइटहरूले सुनौलो कपाल भएकी एक महिला पहिलादेखि नै पुटिनसँग विभिन्न स्वरूपमा देखा पर्ने गरेको सङ्केत गरेका छन्।

पुटिन सन् २०१६ मा माछा मार्न जाँदादेखि सन् २०१७ मा प्रार्थना गर्न गिर्जाघर जाँदा पनि गरेको पनि उनलाई देखिन्छ।

युक्रेनमा प्रकाशित एउटा समाचार सामग्रीका अनुसार ती महिला शीर्ष नेताहरूलाई सुरक्षा प्रदान गर्ने फेडरल गार्ड्स सर्भिसकी (एफएसओ) सदस्य हुनसक्छिन्।

हामीले यी महिलाको तस्बिर अनुहारको पहिचान गर्ने सफ्टवेअरमा राखेर हेरेका छौँ। माथि देखिएका सन् २०१६ र २०१७ का तस्बिरहरू मिलाएर हेर्दा क्रमशः २९ र २८ प्रतिशत मिलेको पाइयो।

“सामान्यतया अनुहार मिले वा नमिलेको हेर्न ७५ प्रतिशत वा त्योभन्दा बढी समानता छ कि छैन त्यो हेर्नुपर्छ,” यूनिभर्सिटी अफ ब्र्याड्फर्डको सेन्टर फर भिजूअल कम्प्युटिङका निर्देशक प्राध्यापक हसन उगेलले भने।

सन् २०१६ र २०१७ को तस्बिर भने ९९.१ प्रतिशत मिलेको छ। त्यसले ती दुवै तस्बिर एकै व्यक्तिको भएको सङ्केत गर्छ।

रुसी सञ्चारमाध्यमहरूका अनुसार यी महिला लारिसा सर्जुखिना हुन्। उनी सहभागी भएका दुवै कार्यक्रम नभ्गरड क्षेत्रमा भएको हो जहाँ उनी पुटिनलाई समर्थन गर्ने यूनाइटेड रस्सा पार्टीकी प्रान्तीय सांसद हुन्।

पुटिन

सन् २०१६ मा डुङ्गामा खिचिएको तस्बिर र उनको दलका लागि खिचिएको तस्बिरसँग तुलना गर्दा ९९.८ प्रतिशत मिलेको छ। उनी नभ्गरडस्थित माछाको व्यापार गर्ने एक कम्पनीकी संस्थापक पनि हुन्।

नयाँवर्षमा पुटिनको पछाडि उभिएकी महिलाको सेनामा कार्यरत चिकित्सक रहेको र उनको नाम अन्ना सर्गीभ्ना सिदोरेन्को भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन्।

रुसी पत्रिका इस्भेतियाको अनलाइन संस्करणले उनको अन्तर्वार्ता प्रकाशित गरेको थियो। उक्त अन्तर्वार्तामा प्रयुक्त तस्बिरसँग नयाँवर्षका बेला उभिएकी महिलाको अनुहार परीक्षण गर्दा ९९.५ प्रतिशत मिलेको छ।

युक्रेनी गुप्तचर निकायले प्रकाशन गरेको दस्ताबेजमा पनि उनी रुसी सेनामा कार्यरत रहेको उल्लेख गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसमा लामो समय शासन गर्न लागेका भ्लादिमिर पुटिन को हुन्?

माझीहरू

सन् २०१६ मा पुटिनसँग खिचिएको तस्बिरमा देखिएका मानिसमध्ये माछा मार्ने पोसाक लगाएका चार माझी पनि छन्। सन् २०१७ मा पुटिन गिर्जाघर गएको बेला खिचिएको तस्बिरमा पनि उनीहरू देखा परेको बताइन्छ।

डुङ्गामा देखिएका ती चार जनाको गिर्जाघरमा खिचिएको तस्बिरसँग अनुहारको पहिचान गर्ने सफ्टवेअरमार्फत् तुलना गर्दा सबैको हकमा ९९ प्रतिशत मिलेको पाइयो। त्यसैले हामीले उनीहरू को हुन् भनेर अझ खोजी गर्‍यौँ।

पुटिन

उनीहरू सबै नभ्गरड क्षेत्रमा कार्यरत रहेको र कम्तीमा तीन जना मत्स्य उद्योगमा संलग्न रहेको पाइएको छ।

तस्बिरमा पुटिनसँग देखिएका अलेक्सी ल्याशेन्को (१) माछा मार्ने टोलीका नाइके हुन्। हामीले उनको सामाजिक सञ्जाल खाता अनि उनको टोलीबारे प्रकाशित अनलाइन विवरणमार्फत् यो जानकारी प्राप्त गरेका हौँ।

त्यही विवरणका अनुसार उक्त टोली एभ्रोखिम्सेर्भिस भनिने एउटा ठूलो स्थानीय कृषि कम्पनीको टोली रहेको कुरा खुल्यो। उक्त कम्पनीका उपमहानिर्देशक (३) हुन्।

रुसी सञ्चारमाध्यमले सर्गेई अलेक्जान्द्रोभ (२) लाई माझीका रूपमा उद्धृत गरेका छन्। उनको सामाजिक सञ्जाल खातामा प्रयोग भएको तस्बिरमा पनि माछा मार्ने पोसाक लगाएर डुङ्गा चढेको देखिएको छ।

चौथो व्यक्तिको सामाजिक सञ्जाल खाता भने हामीले फेला पार्न सकेनौँ। तर उनको तस्बिरसँग मेल खाने एउटा तस्बिरमा कसैले “पुटिनसँग यस्तो कसरी सम्भव भयो?” प्रश्न गरेको हामीले पायौँ। त्यसको उत्तरमा: “आफूले नभ्गरडमा कैयौँ पटक पुटिनलाई भेटेको” उल्लेख गरिएको छ।

येभ्गेनी ल्याशेन्को (५) अलेक्सीका छोरा हुन्। उनी पनि एउटै समूहमा रहेको प्रोफाइलमा उल्लेख गरिएको छ।

Sergey Alexandrov profile picture

तस्बिर स्रोत, VK

अलेक्सी र येभ्गेनी दुवैको सामाजिक सञ्जालमा खाता छन्। तिनले उनीहरू बावुछोरा भएको पुष्टि गर्छ।

अनलाइनमा पोस्ट गरिएको अर्को तस्बिरमा केही वर्षअघि यी दुई माझीले स्टाभ्रोपोल क्षेत्रमा किसानका रूपमा पुटिनसँग तस्बिर खिचाएको दाबी गरिएको छ।

तर ती दुई किसानसँग माझीहरूको तस्बिर मिलाएर हेर्दा ८ प्रतिशतभन्दा कम समानता पाइयो।

VK profile with comments about meeting with Putin

आइसक्रीम विक्रेता

पुटिनसँग तस्बिरमा देखिने खैरो कपाल भएका महिलाहरू कलाकार हुनसक्ने चर्चा बारम्बार भएको छ।

सन् २०१७ र २०१९ मा आयोजित ‘एअर शो’मा पुटिनलाई आइसक्रीम दिएको देखिने दुई तस्बिरमा एकै महिला भएको आशङ्का गरिएको छ।

तर यी तस्बिरमा देखिएका अनुहारको भाग सफ्टवेअर प्रयोग गरी हेर्दा विश्वसनीय नतिजा प्राप्त हुँदैन। त्यस कारण हामीले यी तस्बिरमा आधारित रहेर निर्णय गर्न सक्दैनौँ।

पुटिनलाई आइसक्रीम दिने महिला

सन् २०१९ मा रुसी टेलिभिजनले लिएको एउटा अन्तर्वार्ता हामीले फेला पार्‍यौँ जसमा एक महिलाले पुटिनलाई दुवै पटक आफूले आइसक्रीम दिएको दाबी गरेकी छन्।

साँच्चै ती दुवै तस्बिर एकै महिलाको भए पनि यो आश्चर्यको विषय भने होइन। किनभने दोस्रो तस्बिर दुई वर्षको अन्तरालपछि उही कार्यक्रमको अर्को संस्करणमा खिचिएको हो।

केही मानिसले आइसक्रीम बेच्ने महिलाले एक रुसी विमान कम्पनीको कर्मचारीका रूपमा पनि तस्बिर खिचाएको बताएका छन्। तर यस्तो अवस्थामा भने अनुहारको पहिचान गर्ने सफ्टवेअर त्यत्ति विश्वसनीय ठानिँदैन।

एक घाइते सैनिकलाई पुटिनले अस्पतालमा पुगेर भेटेका थिए। तर ती व्यक्तिले विगतमा पनि एउटा उद्योगमा पुटिनसँग खिचेको तस्बिर भएको मानिसहरूले दाबी गरे।

तर त्यसको परीक्षण गर्दा अनुहार २५ प्रतिशत मात्रै मिलेको देखियो। त्यसको अर्थ ती दुई तस्बिरमा समानता थिएन।

थप रिपोर्टिङः ओल्गा रोबिन्सन, ग्राफिक्स: याना टाउशिन्स्की