युक्रेन युद्धमा घाइते सैनिकको छातीबाट ग्रिनेड निकाल्न 'असाधारण शल्यक्रिया'

ती सैनिकको छातीमा त्यो ग्रिनेड मुटुको कति नजिक थियो भन्ने यो एक्स‍-रेमा देखिन्छ

तस्बिर स्रोत, Hanna Maliar Facebook

तस्बिरको क्याप्शन, ती सैनिकको छातीमा त्यो ग्रिनेड मुटुको कति नजिक थियो भन्ने यो एक्स‍-रेमा देखिन्छ

युक्रेनमा सैन्य चिकित्सकहरूले एक घाइते सैनिकको छातीभित्र अड्किएको एउटा ग्रिनेड शल्यक्रिया गरेर निकालेका छन्।

युक्रेनकी सहायक रक्षामन्त्री हाना माल्यारले उक्त शल्यक्रिया "असाधारण" भएको भन्दै त्यसलाई "सुखद आघात" को सङ्ज्ञा दिएकी छन्।

"मुटुको छेउछाउ हुने सबै चोटपटक प्राणघातक हुँदा रहेनछन्," उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनका अनुसार विस्फोटक पदार्थका दुई विज्ञको रोहबरमा उक्त ग्रिनेड निकालिएको थियो।

उनीहरूले चिकित्सकहरूको टोलीलाई सुरक्षाबारे आश्वस्त पारेका थिए र शल्यक्रियाका क्रममा विस्फोटन हुन नदिने उपाय सिकाएका थिए।

माल्यारका अनुसार आन्द्रिई भर्बा नामक सैन्य चिकित्सकको नेतृत्वमा शल्यक्रिया गरिएको थियो।

सन्ताउन्न वर्षीय भर्बालाई युक्रेनी सेनामा निकै अनुभवप्राप्त शल्यचिकित्सक मानिन्छ।

शल्यक्रियापछि निकालिएको ग्रिनेड हेर्दै डा. भर्बा

तस्बिर स्रोत, Hanna Maliar Facebook

तस्बिरको क्याप्शन, शल्यक्रियापछि निकालिएको ग्रिनेड हेर्दै डा. भर्बा

कसरी गरियो शल्यक्रिया?

सुरक्षाका कारण ग्रिनेड निकाल्न गरिएको उक्त शल्यक्रिया केही परिमार्जित रूपमा गरिएको थियो।

ग्रिनेड नपड्कियोस् भनेर 'इलेक्ट्रोकोएगुलेशन' विधि गरिएको थिएन।

मुटुको शल्यक्रिया गर्दा रक्तस्राव रोक्न उक्त विधि चाहिन्छ।

घाइते सैनिकको शरीरमा फसेको रुसी भीओजी फ्र्याग्मेन्टेशन ग्रिनेडको व्यास चार सेन्टिमिटर र तौल २७५ ग्राम थियो।

तात्कालिक सोभियत सङ्घमा सन् १९६० को दशकमा पहिलो पटक भीओजी ग्रिनेडको निर्माण सुरु भएको थियो।

लडाइँमा विभिन्न खालका लन्चरबाट उक्त ग्रिनेड प्रहार गरिन्छ। त्यसको मार हान्न सक्ने क्षमता ४०० मिटरसम्म छ।

ती सैनिकको छातीमा त्यो ग्रिनेड मुटुको कति नजिक थियो भन्ने यो एक्स‍-रेमा देखिन्छ

तस्बिर स्रोत, Hanna Maliar Facebook

युक्रेनी सेनाले आफूविरुद्ध त्यस प्रकारको ग्रिनेड सन् २०१४ मा पूर्वी युक्रेनमा तनाव सुरु हुँदादेखि नै प्रयोग हुन थालेको जनाएको छ। ती ग्रिनेडहरू मानवरहित ड्रोनबाट पनि प्रहार हुने गरेको उसको दाबी छ।

प्रायः प्रहार गरिएको २० सेकेन्डपछि भीओजी ग्रिनेड पड्किन्छ।

तर अहिलेको घटनामा त्यो ग्रिनेड प्रहार भएपछि किन पड्किएन र शल्यक्रिया गरेर निकालेपछि निष्क्रिय नपार्दासम्म पनि त्यसबाट कसरी विस्फोटन हुने खतरा रहिरह्यो भनेर युक्रेनी सैन्य विश्लेषकहरू चकित परेका छन्।

घाइते सैनिकको नाम खुलाइएको छैन। तर उनी २८ वर्षको भन्ठानिएको छ।

युक्रेनको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार आन्तोन जेराश्चेन्कोले सैन्य स्रोतहरूलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्ः "यी बिरामीबारे म के भन्न सक्छु भने उनी सन् १९९४ मा जन्मिएका थिए। अहिले उनलाई पुनर्स्थापनाका लागि पठाइएको छ, उनको अवस्था स्थिर छ।"

"यो घटना चिकित्साशास्त्रका पाठ्यपुस्तकमा अभिलिखित हुन्छ भन्ने मलाई लाग्छ।"