प्रयोगशालामा बनाइएको रगत मानिसलाई दिएर परीक्षण

तस्बिर स्रोत, NHSBT
- Author, जेम्स ग्यालहर
- Role, स्वास्थ्य तथा विज्ञान संवाददाता
प्रयोगशालामा बनाइएको कृत्रिम रगतलाई मानिसको शरीरमा राखेर विश्वकै पहिलो त्यस्तो परीक्षण थालिएको यूकेका अनुसन्धानकर्ताहरूले बताएका छन्।
केही चम्चा रगतलाई शरीरमा राखेर त्यसले उब्जाउने प्रतिक्रिया परीक्षण गरिँदै छ।
अझै पनि आवश्यक रगतको अधिकांश भाग मानिसहरूले नियमित रूपमा गर्ने रक्तदानमार्फत् नै पूर्ति हुनेछ।
तर कतिपय एकदमै दुर्लभ रक्त समूहका रगत चाहिँ कृत्रिम उत्पादन गर्ने लक्ष्य वैज्ञानिकहरूको छ।
सिकल सेल एनिमिया जस्ता नियमित रगतको आवश्यकता परिरहने बिरामीहरूका निम्ति यो निकै महत्त्वपूर्ण हुनेछ।
यदि एक मानिसबाट अर्कोमा हालिने रगतको समूह मिलान गरिएन भने दाताले दिएको रगत लिने मानिसको शरीरले अस्वीकार गर्न थाल्छ र उपचार विफल हुनपुग्छ। यस्तो मिलान भनेको साधारण ए, बी, एबी र ओ समूह मिलानमात्र होइन।
ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एस्ले टोयका अनुसार कुनै कुनै रक्त समूह त “अति नै, अति नै दुर्लभ” हुन्छ र त्यस्ता रक्त समूह भएका र रगत दान गर्नसक्ने व्यक्ति ‘देशभरिमा केवल १० जनामात्र पनि हुनसक्छ।’
उदाहरणका लागि ‘बम्बे’ भनिने रक्त समूह – जुन सबभन्दा पहिले भारतमा भेटिएको थियो -को यूकेभरिमा केवल ३ युनिट रगतमात्र स्टकमा छ।
कसरी बनाइन्छ कृत्रिम रगत?
अनुसन्धान परियोजनाले ब्रिस्टल, क्याम्ब्रिज, लण्डन तथा एनएचएस रगत तथा प्रत्यारोपण एकाइमा रहेका टोलीहरूलाई संयोजन गर्छ।
फोक्सोबाट अक्सिजन लिएर बाँकी शरीरमा पुर्याउने रातो रक्त कोषहरूको उत्पादन तिनले गर्छन्।
त्यसको प्रक्रिया भने यसप्रकार छ:
- सबभन्दा पहिले सामान्य रूपमले एक पिन्ट रगत (करिब ४७० मिलिलिटर) दाताबाट लिइन्छ
- चुम्बकीय गेडाहरूको प्रयोग गरेर उक्त रगतबाट स्टिम सेलहरू छुट्ट्याइन्छ जो रातो रक्त कोषमा परिणत हुनसक्छन्
- प्रयोगशालामा ती स्टिम सेललाई ठूलो मात्रामा उत्पादन गराइन्छ
- त्यसपछि तिनलाई रातो रक्त कोष बन्न सघाइन्छ
यो प्रक्रियालाई करिब तीन साता लाग्छ। सुरुको पाँच लाख स्टिम सेलबाट ५० अर्ब रातो रक्त कोष बन्न सक्छन्।
तीमध्ये १५ अर्ब जति छानिन्छन् जो प्रत्यारोपणका निम्ति उचित चरणमा रहेका हुन्छन्।
“भविष्यमा हामी चाहेजति रगत बनाउन चाहन्छौँ। मेरो कल्पनामा त के छ भने मशीन नै मशीन भएको कक्ष हुनेछ जहाँ सामान्य रक्त दानमार्फत् पाएको रगतबाट निरन्तर कृत्रिम रगत बनिरहन्छ,” प्राध्यापक टोयले भने।
ताजा परीक्षण कस्तो
परीक्षणमा पहिलो दुईजना मानिसले भाग लिइसकेका छन्। खासमा कम्तीमा १० जना स्वस्थ्य स्वयंसेवीहरूमा परीक्षण गर्ने योजना रहेको छ।
उनीहरूलाई कम्तीमा चार महिनाको फरकमा ५-१० मिलिलिटर रगत दुई पटक दिइनेछ – एक पटक प्राकृतिक र अर्को पटक कृत्रिम।
वैज्ञानिकहरूले त्यसरी दिइएका रगत शरीरभित्र कति समयसम्म रहिरहन्छ भनेर परीक्षण गर्न सकून् भनेर ती रगतमा रेडियो विकीरणयुक्त तत्व मिसाइनेछ – अन्य चिकित्सा प्रक्रियामा पनि यस्तो परीक्षण गर्ने चलन छ।
प्रयोगशालामा बनेको रगत प्राकृतिकभन्दा अझ प्रभावकारी हुने आश गरिएको छ।
सामान्यतया राता रक्त कोषहरू १२० दिनसम्म बाँच्छन् र त्यसपछि ती विस्थापित हुने गर्छन्। हाल अभ्यासमा रहेको रक्त प्रत्यारोपणका बेला नयाँ र पुराना राता रक्त कोषको मिश्रण हालिन्छ जबकि प्रयोगशालामा निर्मित रगतमा सबै नयाँ र ताजा हुन्छन्। त्यसैले ती रगत १२० दिनसम्म नै सक्रिय हुने ठानिएको छ।
यसले भविष्यमा थोरै रक्तदान गरेपुग्ने अवस्था आउने अनुसन्धानकर्ताहरू ठान्छन्।
तर यसका उल्लेखनीय वित्तीय तथा प्राविधिक चुनौतीहरू छन्।
रक्त सङ्कलन गर्दा एनएचएसलाई औसत १३० पाउन्ड खर्च लाग्छ। रगत कृत्रिमरूपमा उत्पादन गर्नु योभन्दा निकै महँगो हुनसक्छ। ठ्याक्कै कति महँगो भनेर अनुसन्धान टोलीले भनेको छैन।
अर्को चुनौती भनेको प्रयोगशालामा उत्पादित स्टेम सेल विस्तारै सिद्धिन थाल्नेछन् जसले गर्दा उत्पादन गर्न सकिने रगतको मात्रा पनि सीमित पारिदिन सक्छ।
एनएचएस ब्लड एन्ड ट्रान्सफ्युजनका मेडिकल डाइरेक्टर डा फारुख शाह भन्छन्: “यो विश्वकै अग्रणी अनुसन्धानले भविष्यमा सिकल सेलजस्ता बिमारी भएका मानिसहरूलाई सुरक्षित रक्त प्रत्यारोपणको आधार तय गर्नेछ।”
“सामान्यतया रगत प्रत्यारोपण गर्न कठिन हुने गरेका बिरामीहरूलाई यस्ता अनुसन्धानले फाइदा पुर्याउन सक्ने सम्भावना निकै उल्लेखनीय छ।”








