अल्जाइमर्स उपचार : विरामीमा लकानेम्याबको प्रयोग एउटा महत्त्वपूर्ण सफलता

दिमागको स्यान हेर्दै चिकित्सक

तस्बिर स्रोत, Getty Images

अल्जाइमर्सका कारण मस्तिष्कमा पुग्ने क्षति कम गर्न बनेको पहिलो औषधिलाई महत्त्वपूर्ण सफलताका रूपमा लिइएको छ।

दशकौँको असफलतापछि अल्जाइमर्स उपचारका लागि यो औषधिलाई एउटा नयाँ युगका रूपमा समेत हेरिएको छ।

अझै पनि लकानेम्याब नामक औषधिको असर थोरै छ र मानिसको दैनिक जीवनमा यसको प्रभावबारे विवादहरू छन्।

रोगको सुरुवाती चरणहरूमा औषधिले काम गर्ने भएकोले धेरैले रोग पहिचान गर्न नसक्दा यसको प्रयोग गुमाउन सक्छन्।

लकानेम्याबले बिटा एमिलोइड भनिने चिप्लो खालको पदार्थमाथि हमला गर्छ जुन अल्जाइमर्स भएका व्यक्तिको मस्तिष्कमा थुप्रिएको हुन्छ।

विगतमा अनुसन्धानहरू व्यर्थ र निराशाजनक रहेका बेला यी परीक्षणकालीन परिणामहरूलाई केहीले सफलता दिने महत्त्वपूर्ण विन्दुका रुपमा हेरेका छन्।

अल्जाइमर्स रिसर्च यूकेले यसलाई "महत्त्वपूर्ण" भनेको छ।

विश्वका एक अग्रणी अनुसन्धानकर्ता प्राध्यापक जोन हार्डीले यसलाई "ऐतिहासिक" भनेका छन् र अल्जाइमर्सको उपचारको सुरुवाती चरणका रूपमा आफू आशावादी बनेको बताएका छन्।

उनले ३० वर्षअघि एमिलोइड पदार्थलाई केन्द्रित गरेर अनुसन्धान थालेका थिए।

युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक तारा स्पाइर्स-जोन्सले "लामो समयसम्म हामी शतप्रतिशत विफल भएकाले यो ठूलो उपलब्धि" भएको बताएकी छन्।

अहिले अल्जाइमर्स हुने बिरामीहरूलाई उनीहरूको लक्षण अनुसार अन्य औषधिहरू दिने गरिएको छ तर कुनैले पनि रोगको उपचारमा मद्दत गरेको छैन।

लकानेम्याब पनि एउटा एन्टीबडी हो जसले भाइरस वा ब्याक्टेरियामाथि आक्रमण गर्छ ताकि मस्तिष्कबाट एमिलोइड हटाउन प्रतिरक्षा प्रणालीलाई निर्देशन दिन्छ।

एमिलोइड एक किसिमको प्रोटिन हो जो मस्तिष्कको न्यूरोनहरूबिचको ठाउँमा जम्मा हुन्छ र फरक खालको मार्ग बनाउँछ जुन अल्जाइमर्सको एउटा कारक हो।

यो ठूलो स्तरको परीक्षणमा अल्जाइमर्स रोग प्रारम्भिक चरणमा भएका १,७९५ स्वयंसेवीहरू सामेल थिए।

प्रत्येक १५ दिनमा उनीहरूलाई लकानेम्याब दिइन्थ्यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अल्जाइमर्स हुँदा पनि नाच्न नबिर्सेकी यी वृद्धा को हुन्

सान फ्रान्सिस्कोमा भएको अल्जाइमर्सका बिरामीमाथिको क्लिनिकल परीक्षणसम्बन्धी सम्मेलनमा त्यस्तो परीक्षणबाट आएको परिणाम प्रस्तुत गरिएको थियो।

न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित उक्त परिणामलाई कुनै चामत्कारिक उपचार नभएको उल्लेख छ।

१८ महिनाको अवधिमा गरिएको परीक्षणमा अल्जाइमर्सका बिरामीमा औषधिका कारण रोगले पुर्‍याउने क्षति करिब १ चौथाइले सुस्त भएको देखियो।

बृहत् प्रयोगका लागि लिकानेमबलाई स्वीकृत गर्ने वा नगर्ने भनेर अमेरिकी नियामकहरूले छिट्टै निर्णय गर्नेछन्।

उक्त औषधि विकास गर्ने औषधि कम्पनी एइजाइ एन्ड बायोजेनले अन्य देशहरूमा स्वीकृतिका लागि अर्को वर्षबाट प्रक्रिया थाल्ने योजना गरेको छ।

डेभिड इसम र उनकी पत्नी सेरिल
तस्बिरको क्याप्शन, डेभिड इसमले उक्त परीक्षणमा भाग लिएका छन्

७८ वर्षीय डेभिड इसमले पनि यो अन्तर्राष्ट्रिय परीक्षणमा भाग लिएका थिए।

"उनी पहिला जस्तो मानिस थिए अहिले त्यस्तै छैनन्। धेरैजसो कुरामा उनलाई मद्दत चाहिन्छ। साधारणतया उनको स्मरण अब छैन," उनकी पत्नी सेरिलले भनिन्।

तर यो परीक्षणले आफूलाई आशा दिएको उनले बताइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिर्सने रोग लागेका मानिसका लागि विशेष घर

डेभिडले भने: "यदि कसैले अल्जाइमर्सलाई सुस्त बनाउन सक्छ र अन्तत: रोक्न नै सक्छ भने त्यो एकदमै गज्जब हुन्थ्यो।"

संसारभर ५ करोड ५० लाखभन्दा बढी मानिसमा डेभिडलाई जस्तै बिमारी छ र सन् २०५० सम्ममा त्यो सङ्ख्या बढेर १३ करोड ९० लाख पुग्ने अनुमान गरिएको छ।

यसले फरक पार्ला?

वैज्ञानिक र चिकित्सकहरूमाझ लकानेम्याबले "वास्तविक संसार" मा पार्ने प्रभावलाई लिएर बहस भएका छन्।

१८ महिनाको परीक्षणपछि के हुन्छ भन्ने एउटा महत्त्वपूर्ण प्रश्न रहेको छ र उत्तरबारे अहिले पनि विभिन्न अनुमानहरू गरिएका छन्।

नर्थ ब्रिस्टोल एनएचएस ट्र्स्टमा बिरामी जाँच गर्ने डाक्टर एलिजाबेथ कोल्टहार्डले मन्द रूपमा रोग देखिएपछि बिरामीहरू ६ वर्ष स्वतन्त्र रूपमै बाँच्न सक्ने बताइन्।

एक चौथाइले रोग सुस्त हुन सक्यो भने त्यसले आत्मनिर्भर जीवन थप १९ महिनाले बढ्छ तर उनले आफूले अहिलेसम्म यो थाहा नहुने बताइन्।

मस्तिष्कमा धेरै क्षति पुगिसक्नुभन्दा अगाडि नै बिरामीलाई सुरुवाती चरणमै औषधि दिइनुपर्छ तर धेरैजसो मानिसहरू ढिला भइसक्दामात्रै उपचारमा पुग्छन्।

मानिसमा अल्जाइमर्स हो वा डिमेन्सियाको अर्को प्रकार हो भनेर पत्ता लगाउन सुरुवाती चरणमै एमिलोइड परीक्षण गर्नुपर्छ।

अहिले भने डिमेन्सिया भएका १ देखि २ प्रतिशतलेमात्रै परीक्षण गराउँछन्।