युक्रेन युद्ध: रुस र युक्रेनले कसरी लडाइँमा ‘कामिकाजे’ ड्रोन प्रयोग गरिरहेका छन्

तस्बिर स्रोत, Reuters
रुसले इरानमा निर्मित ड्रोन प्रयोग गरेर आफूहरूलाई “थकाउन” खोजेको आरोप युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएका छन्।
रुसी सेनाले पछिल्ला केही महिनाहरूमा युक्रेनी सहर तथा ऊर्जा केन्द्रहरूमा 'कामिकाजे' भनिने ड्रोनहरू प्रयोग गरेर शृङ्खलाबद्ध आक्रमण गरेको युक्रेनको दाबी छ।
रुसले प्रयोग गरिरहेको 'कामिकाजे' कस्तो ड्रोन हो?
युक्रेन सरकार र पश्चिमा खुफिया निकायहरूले गत वर्षको शरद्ऋतुयता रुसले इरानमा निर्मित शहेद-१३६ ड्रोन प्रयोग गरिरहेको बताएका छन्।
रुसमा जरेनिअम-टू समेत भनेर चिनिने यो ड्रोनको अघिल्लो भागमा रहने युद्धशीर्षमा विस्फोटक पदार्थ राखिएको हुन्छ।
अनि आक्रमण गर्नका लागि निर्देशन नदिँदासम्म यो ड्रोन लक्ष्यको नजिकै घुमिरहन्छ।
शहेद-१३६ ड्रोनको पखेटाको फैलावट २.५ मिटर (८.२ फिट) छ र यसलाई रेडारले सजिलै फेला पार्न सक्दैन।
इरान सरकारले युद्धअगावै रुसलाई “सानो सङ्ख्यामा” ड्रोन उपलब्ध गराएको जनाएको छ।
तर अमेरिका र युरोपेली सङ्घ ईयूले इरानले भने नियमित रूपमा रुसलाई ड्रोन उपलब्ध गराएको आरोप लगाएका छन्। इरानमाथि युरोपेली सङ्घले प्रतिबन्धहरू पनि लगाएको छ।

रक्षाविज्ञहरूका अनुसार हवाई आक्रमणका लागि तुलनात्मक रूपमा सस्तो पर्ने हुँदा रुसले क्रूज क्षेप्यास्त्रको साटो शहेद-१३६ ड्रोन प्रयोग गरेको हुनसक्छ।
उक्त ड्रोनको मूल्य झन्डै २०,००० अमेरिकी डलर रहेको जनाइएको छ।
कामिकाजे ड्रोनले युक्रेनमा कस्तो क्षति पुर्याएको छ?
रुसले सेप्टेम्बर महिनाको १३ तारिखमा पहिलो पटक युक्रेनको खार्किभ क्षेत्रमा सेनालाई लक्षित गर्दै गरिएको आक्रमणमा शहेद-१३६ ड्रोन प्रयोग गरेको हुनसक्ने बताइएको छ।
त्यसयता किएभ, ओडेसा र मिकोलाइभमा पटकपटक रुसले ती ड्रोन प्रयोग गरेर आक्रमण गरेको छ।
ज्यानुअरी १ र २ तारिखमा रुसले ८० वटाभन्दा बढी कामिकाजे ड्रोनमार्फत् आक्रमण गरेको तर ती सबैलाई आफूहरूले जमिनमा झारिदिएको युक्रेनले दाबी गरेको छ।
जाडो याममा युक्रेनीहरूलाई विद्युत् र न्यानो बनाउने पूर्वाधार उपलब्ध नहोस् भनेर रुसले ऊर्जा केन्द्रहरूलाई निसाना बनाउने गरेको छ।

तस्बिर स्रोत, Reuters
युक्रेनले कसरी यसको सामना गर्ने प्रयास गरेको छ?
ड्रोनहरूलाई जमिनमा झार्न युक्रेनी सैनिकहरूले साना हतियार, मशीनगन, एक स्थानबाट अर्कोमा सहजै लैजान सकिने एन्टि-एअर क्षेप्यास्त्र तथा विद्युतीय ज्यामर उपकरणहरू प्रयोग गरिरहेका छन्।
तर ठूलो सङ्ख्यामा एकैपटक ड्रोन पठाउँदा भने त्यसो गर्न कठिन हुनसक्छ।
आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रुसले छाडेका ८० प्रतिशतभन्दा बढी ड्रोनहरू खसाल्न सफल भएको युक्रेनले जनाएको छ।

के युक्रेनले पनि कामिकाजे ड्रोन प्रयोग गरेको छ?
अमेरिकाले युक्रेनलाई झन्डै ७०० वटा स्विचब्लेड कामिकाजे सैन्य ड्रोन आपूर्ति गरेको जनाएको छ।
तर तिनको प्रयोग भए नभएको यकिन हुन सकेको छैन।
विज्ञहरूका अनुसार गत शरद्ऋतुमा पश्चिमी क्राइमियामा रहेको रुसी सैन्य शिविरका साथै अन्य केही स्थानमा आक्रमण गर्न युक्रेनले कामिकाजेजस्तै ड्रोन प्रयोग गरेको थियो।
डिसेम्बर महिनामा पनि युक्रेनले गरेका तीनवटा छुट्टाछुट्टै आक्रमणमा कामिकाजे ड्रोन प्रयोग भएको रुसले जनाएको छ।
त्यस बेला रुस-युक्रेन सीमाबाट सयौँ माइलभित्र रहेको सारातोभ र रियजानस्थित हवाई आधारहरूमा युक्रेनले आक्रमण गरेको थियो।
युक्रेन र रुससँग अन्य कुनकुन ड्रोन छन्?
युक्रेनले प्रयोग गर्ने प्रमुख सैन्य ड्रोन भनेको टर्कीमा निर्मित बाईरक्टार टीबी टू हो।
यसको आकार सानो विमान बराबरको हुन्छ।
यसमा क्यामराहरू जडान गरिएको हुन्छ र लेजर-निर्देशित विस्फोटक पदार्थ राख्न सकिन्छ।

तस्बिर स्रोत, MIKE RIGHT/TWITTER
सन् २०२२ को एप्रिलमा रुसी युद्धपोत मस्कवा ब्ल्याक सीमा डुबेको थियो।
त्यस बेला उक्त युद्धपोतमाथि बाईरक्टार ड्रोनले आक्रमण गरेको थियो।
रुसले सानो र अलि सामान्य खालको ओर्लान-टेन ड्रोनको पनि प्रयोग गर्ने गर्छ। त्यसमा क्यामरा जडान गरिएको हुन्छ र त्यसले साना बमहरू बोक्न सक्छ।
सैन्य ड्रोनको प्रयोग
दुवै पक्षका ड्रोन शत्रुलक्षित क्षेत्र फेला पार्न र प्रहार गरिएको अस्त्रलाई लक्षित ठाउँसम्म दिशानिर्देशित गर्न सबैभन्दा प्रभावकारी ठहरिएका छन्।
विगतमा लक्ष्य फेला पार्न नै २० देखि ३० मिनेट समय लाग्ने गरेको रोयल यूनाइटेड सर्भिस इन्स्टिट्यूटका टका डा. ज्याक वाटलिङ बताउँछन्।
अहिलेको अवस्थाबारे उनी भन्छन्: "ओर्लान-१० ले लक्ष्य पत्ता लगाएको तीनदेखि पाँच मिनेटभित्र रुसी सैनिकले शत्रुमाथि गोलाबारीसहित आक्रमण गर्न सक्छन्।"

किङ्स कलेज लन्डनका रक्षा अध्ययनकी अनुसन्धानकर्ता डा. मरिना मिरोनका अनुसार ड्रोनले युक्रेनलाई आफ्नो सीमित सैन्य शक्ति विस्तार गर्ने मौका उपलब्ध गराएको छ।
"विगतमा शत्रुको स्थान पहिचान गर्न चाहेको खण्डमा विशेष फौज पठाउनुपर्थ्यो र केही सैनिकहरूको गुमाउनुपर्ने हुन्थ्यो," उनी भन्छिन्।
"अहिले केही जोखिममा छ भने त्यो ड्रोन हो।"
सैन्य ड्रोनको समस्या के हो भने ती निकै ठूला हुन्छन् र तुलनात्मक रूपमा ढिलो गतिमा चल्छन्। अनि तिनलाई प्रहार गरेर जमिनमा झार्न सजिलो हुन्छ।
गैरसैन्य ड्रोनको पनि प्रयोग
युद्धका क्रममा खासगरी युक्रेनले डीजेआई माभिक थ्रीजस्ता साना, सस्तो व्यावसायिक मोडलका ड्रोनहरू प्रयोग गरिरहेको छ।
उक्त ड्रोनको मूल्य झन्डै १,७०० पाउन्ड पर्छ।
यस्ता व्यावसायिक ड्रोनमा साना बमहरू जडान गर्न सकिन्छ।
यो ड्रोन मुख्य रूपमा प्रतिद्वन्द्वी सेना फेला पार्न प्रत्यक्ष हुने आक्रमणहरू पत्ता लगाउन प्रयोग गरिन्छ।
यद्यपि व्यावसायिक ड्रोनहरू सैन्य ड्रोनभन्दा निकै कम शक्तिशाली हुन्छन्।

डीजेआई माभिक थ्रीको क्षमता ३० किलोमिटरको दायरामा सीमित छ र यो ४६ मिनेटसम्म मात्र उड्न सक्छ।
यस्ता ड्रोनहरूबाट जोगिन रुसले विद्युतीय उपकरणहरू प्रयोग गरिरहेको डा। मिरोन बताउँछिन्।
"रुसी सैन्य बलसँग स्टुपोर नामक राइफल छ जसले विद्युत् चुम्बकीय तरङ्गहरू पैदा गर्छ," उनले भनिन्।
यसले व्यावसायिक ड्रोनहरूलाई जीपीएसको सहायताले रोक्छ। साथै रुसी बलले एअरोस्कोपजस्तै अनलाइन प्रणालीहरूको पनि प्रयोग गर्छ।
यस प्रणालीले व्यावसायिक ड्रोनहरू र तिनका सञ्चालकबीचको सम्पर्क पहिल्याउने वा अवरोध पुर्याउने काम गर्छ।
तिनीहरूले ड्रोनलाई दुर्घटनाग्रस्त स्थिति वा आधार शिविरसम्म पुर्याउन सक्छन् र ड्रोनलाई जानकारी फर्काउन रोक्न सक्छन्।
यो पनि हेर्नुहोस्












