भाडाका सैनिक पठाउने रुसी कम्पनीको 'मुख्यालयमा आक्रमण'

मेलिटोपोल

तस्बिर स्रोत, BALITSKYEV

तस्बिरको क्याप्शन, मेलिटोपोलमा मस्कोको समर्थनप्राप्त अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरमा त्यहाँ ठूलो आगलागी भएको देखिन्छ

रुसलाई भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको मुख्यालयमा युक्रेनी सेनाले आक्रमण गरेको दाबी पूर्वी युक्रेनको लुहान्स्कका निर्वासित गभर्नरले गरेका छन्।

सेर्हिइ हाइडाईका अनुसार लुहान्स्कको काडिइभ्कामा उक्त समूहले बैठक गर्न प्रयोग गरेको एउटा होटलमा आक्रमण गरिँदा त्यहाँ ठूलो क्षति भएको छ।

बीबीसीले उक्त होटल वाग्नरले प्रयोग गरेको दाबीलाई स्वतन्त्र रूपले पुष्टि गर्न सकेको छैन।

सप्ताहान्तमा दक्षिणी युक्रेनमा समेत लडाइँ चर्किएको छ।

त्यहाँ रुसले ओडेसालाई तारो बनाएको छ भने युक्रेनले मेलिटोपोल सहरको एउटा ठाउँमा बम आक्रमण गरेको छ।

वाग्नर समूहले कार्यालय बनाएको होटलमा युक्रेनले आक्रमण गरेको बताइएको छ

तस्बिर स्रोत, SERHIY HAIDAI

के हो वाग्नर समूह

पश्चिमा राष्ट्रका विज्ञहरूका अनुसार वाग्नर समूह रुसद्वारा प्रायोजित भाडाका सैनिकहरूको समूह हो।

त्यसमा आबद्ध लडाकुहरू क्रेम्लिनको स्वार्थमा काम गर्छन्।

उक्त निजी सैन्य कम्पनीको स्थापना भूतपूर्व रेस्टुराँ व्यवसायी येभ्गेनी प्रिगोजिनले गरेका हुन्। उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी मानिन्छ।

उनीमाथि बारम्बार युद्ध अपराध र मानवाधिकार उल्लङ्घनको आरोप लाग्ने गरेको छ।

वाग्नरले यसअघि क्राइमिया, सिरिया, लिबिया, माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सैनिकहरू पठाएको थियो।

सेन्ट पिटर्सबर्गमा खुलेको पीएमसी वाग्नर सेन्टरको कार्यालय

तस्बिर स्रोत, Reuters

'ठूलो क्षति'

गभर्नर हाइडाईले काडिइभ्कामा गरिएको हमलाबाट रुसले "ठूलो क्षति" भोगेको दाबी गरेका छन्। त्यहाँ बचेकामध्ये "कम्तीमा ५० प्रतिशत सैनिकले औषधोपचारको अभावमा ज्यान गुमाउने" आफूलाई लागेको उनले बताए।

दक्षिणी युक्रेनमा अस्थिरता छाइरहँदा पूर्वी युक्रेनमा पर्ने उक्त होटलमा आक्रमण भएको हो।

शनिवार १० वटा ड्रोन खसालिएको र अन्य पाँचवटा ड्रोनले बन्दरगाह सहर ओडेसाका ऊर्जा केन्द्रहरूमा प्रहार गर्दा झन्डै १५ लाख मानिस ऊर्जाविहीन हुने युक्रेनी सेनाले जनाएको छ।

"ओडेसा क्षेत्रको अवस्था निकै कष्टकर छ," आफ्नो रात्रिकालीन भिडिओ सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने।

"दुर्भाग्यवश ती प्रहारहरू महत्त्वपूर्ण ठाउँमा भएको हुवदा त्यहाँ पुनः बिजुली आपूर्ति गर्न निकै समय लाग्नेछ। त्यसका लागि केही घण्टाले पुग्दैन केही दिन नै लाग्छ।"

कस्ता अस्त्रको प्रयोग

युक्रेनी अधिकारीहरूका अनुसार मुख्य पूर्वाधारमा रुसले इरानमा निर्मित ड्रोनहरू प्रहार गरेको छ।

मेलिटोपोलमा मस्कोपक्षधर अधिकारीहरूले युक्रेनी क्षेप्यास्त्र आक्रमणले दुई जनाको ज्यान लिनुका साथै १० जना घाइते भएको जनाएका छन्।

मस्कोले त्यहाँ राखेका अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरमा त्यहाँ ठूलो आगलागी भएको देखिन्छ।

"हवाई प्रतिरक्षा प्रणालीहरूले दुईवटा क्षेप्यास्त्र निष्क्रिय पार्‍यो भने चार वटा लक्ष्यसम्मै पुगे," उक्त सहरका लागि रुसले नियुक्त गरेका गभर्नर येभ्गेनी बालित्स्कीले टेलिग्राम एपमा जनाएका छन्।

उनले मानिसहरूले राति खाना खाइरहेको बेला उक्त "मनोरञ्जनस्थल" आक्रमणका कारण ध्वस्त भएको र युक्रेनी सेनाले अमेरिकाले उपलब्ध गराएको हाइमार्स रकेट लन्चरहरू प्रयोग गरेको दाबी गरेका छन्।

उक्त अस्त्र युक्रेनले प्रत्याक्रमणमा गर्ने कारबाहीमा महत्त्वपूर्ण मानिएको छ। रुसका कमाण्ड पोस्टसहित अग्रमोर्चाबाट टाढा रहेका स्थानहरूलाई लक्ष्य बनाउँदै उक्त अस्त्र प्रयोग हुन्छ।

के छ मेलिटोपोलको अवस्था

मेलिटोपोलका निर्वासित नगरप्रमुख इभान फेदोरोभले कैयौँ "अतिक्रमणकारीहरू" को मृत्यु भएको जनाएका छन्।

मार्च महिनाको सुरुदेखि नै मेलिटोपोल रुसी नियन्त्रणमा छ र उक्त सहर बन्दोबस्तीका हिसाबले दक्षिणपूर्वमा रुसी सेनाको मुख्य केन्द्रको रूपमा छ।

जापोरीज्या क्षेत्रमा पर्ने उक्त सहर रणनीतिक रूपमा पूर्वमा मारिऊपोल, पश्चिममा खेअर्सन र डिनिप्रो नदी र दक्षिणमा क्राइमियाको बीचमा पर्छ।

जाडोयाम बढिरहँदा युक्रेनले रुसले अधीनमा लिएको भूभाग पुनः प्राप्त गर्ने प्रयास जारी राखेको छ।