युक्रेन युद्धमा ज्यान गुमाएका रुसी सैनिकका आमासँग पुटिनको भेट

तस्बिर स्रोत, REUTERS
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा सहभागी वा त्यसमा ज्यान गुमाएका सैनिकका आमाहरूसँग भेट्दै उनीहरूको जस्तै पीडा आफूहरूले पनि महसुस गरिरहेको बताएका छन्।
रुसी सरकारी सञ्चारमाध्यममा देखाइएको उनको सुरुवाती सम्बोधनमा पुटिनले भनेका छन्, “एक जना छोरा गुमाउनुलाई कुनै कुराले पनि पूर्ति गर्दैन।”
कैयौँ त्यस्ता आमाहरू क्रेम्लिन पक्षधर अभियानका सदस्यहरू हुन्। उक्त बैठकका लागि सावधानीपूर्वक उनीहरूको छनौट गरिएको आलोचकहरूले बताएका छन्।
बीबीसीका रुस सम्पादक भन्छन् राष्ट्रपति पुटिनले युक्रेन युद्धमा सहभागी सैनिक र तीनका परिवारप्रति चासो राखिराखेको देखाउने यो क्रेम्लिनको पहिलो प्रयास थियो।
आमाहरूसँग भेटको अर्थ
युक्रेनमाथिको आक्रमणलाई लिएर रुसभित्रै विरोधहरू बढ्दै गएका छन्।
देशका विभिन्न भागबाट बहालवाला सैनिकका आमाहरूले खुलेआम आफ्ना छोराहरूलाई राम्रोसँग तालिम नै नदिईकन लडाइँमा पठाइएको गुनासो गरिरहेका छन्।
उनीहरूले कठ्याङ्ग्रिँदो चिसो आउनै लाग्दा पर्याप्त पोसाक र हतियार बिना ती सैनिक खटाइएको टिप्पणी गरेका छन्।
हालैका महिनाहरूमा भएका नराम्रा पराजयपछि कतिपयले रुसी सेनाले जबरजस्ती खटाइएका सैनिकहरूलाई ज्यान गुमाउन बाध्य पारेको टिप्पणी गरेका छन्।
एक जना वरिष्ठ अमेरिकी सैनिक जनरल मार्क मिलीका अनुसार फेब्रुअरी २४ मा युद्ध सुरु भएयता लगभग १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका छन्।
एउटा दुर्लभ स्वीकारोक्तिमा क्रेम्लिनले गएको सेप्टेम्बरमा जगेडा सैनिकहरू खटाउँदा गल्ती भएको स्वीकार गरेको थियो।
मस्कोस्थित आफ्नो सरकारी निवासमा शुक्रवार भएको पुटिनले एउटा ठूलो टेबुलमा १७ जना आमाहरूको समूहसँग भेटिरहेको देख्न सकिन्छ।

तस्बिर स्रोत, Getty Images
तीमध्ये कतिपयले टाउको ढाक्ने स्कार्फ लगाएको देख्न सकिन्छ जसलाई शोकमा परेको सङ्केत मानिन्छ।
“म तपाईँहरूले व्यक्तिगत रूपमा म र यो देशको सम्पूर्ण नेतृत्व, तपाईँहरूको यो पीडा महसुस गर्छौँ भन्ने थाहा पाउनुहोस् भन्ने चाहन्छु।”
एक जना आमालाई उनले उनका छोराले ‘आफ्नो लक्ष्य हासिल गरेको’ र ‘त्यो खेर नजाने’ बताए।
पुटिनले प्रत्यक्ष भेटेर आमाहरूसँग आफूले उनीहरूका धारणा सिधै सुन्न चाहेको उल्लेख गरेका थिए।
रुसी सैनिकहरूलाई नायकको संज्ञा दिएका पुटिनले आफूले युद्ध मैदानमा रहेका सैनिकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने गरेको खुलासा पनि गरेका छन्।
पुटिनले ती महिलाहरूलाई टेलिभिजन र इन्टरनेटमा युद्धबारे फैलिरहेका ‘झुट्टा’ र ‘गलत’ विवरणलाई विश्वास नगर्न भनेका थिए।
केम्लिनले सञ्चारमाध्यममाथि नियन्त्रण कायम गरेका हुनाले रुसमा युक्रेनको अवस्थाबारेको सन्तुलित समाचारहरू प्राप्त गर्न कठिन छ।
धेरै मानिसहरूले सेन्सरसीपबाट पार पाउनका लागि भीपीएन नेटवर्कको प्रयोग गर्ने गर्छन्।
के पुटिनलाई जनधनको क्षतिप्रति पश्चात्ताप छ?

तस्बिर स्रोत, Reuters
भेटको केही घण्टापछि क्रेम्लिनले सार्वजनिक गरेको विवरणमा कैयौँ महिलाहरूलाई पुटिन समर्थक अभियानका सदस्यका रूपमा परिचित गराइएको छ।
उनीहरू रुसका विभिन्न ठाउँबाट आएका थिए। जसमध्ये कम्तीमा एक जना पूर्वी युक्रेनको स्वघोषित लुहान्स्क जनगणतन्त्र क्षेत्रबाट आएकी थिइन्। उक्त क्षेत्रलाई अघिल्लो वर्ष मस्कोले आफूमा गाभेको घोषणा गरेको थियो।
सहभागीमा सत्तारुढ युनाइटेड पार्टीकी एक सांसद पनि रहेको केही विपक्षी सञ्चारमाध्यमले जनाएका छन्।
बीबीसीका रुस सम्पादक स्टिभ रोजेनवर्ग भन्छन्, ‘पुटिनको आमाहरूसँगको भेट’ लडाइँमा खटिएका सैनिक र तीनका परिवारप्रति राष्ट्रपति संवेदनशील रहेको विश्वास दिलाउने क्रेम्लिनको प्रयास हो।
रुसी आक्रमणमा कारण युक्रेनमा ठूलो जनधनको क्षति भएकाले पुटिनका शब्दले युक्रेनीहरूलाई आक्रोशित तुल्याउने रोजेनवर्गको विश्लेषण छ।
उनी भन्छन्, “पुटिनले आफू हेरविचार गर्ने खालको नेता भएको देखाउने कोसिस गरेपनि के बिर्सनु हुँदैन भने युक्रेनमा आक्रमण गर्ने निर्णय उनले गरेका थिए। त्यो ‘विशेष सैनिक कारबाही’ उनको अवधारणा थियो।”
सार्वजनिक रूपमा उनले कुनै पश्चात्ताप व्यक्त नगरेको रोजेनवर्ग बताउँछन्।
उनले एक जना आमालाई भने, “केही मानिस भोड्का पिएर मर्छन् र तीनको जीवन कसैले थाहा नपाई बित्छ। तर तपाईँको छोरा वास्तविक रूपमा बाँचे र आफ्नो लक्ष्य पुरा गरे। उनको निधन खेर गएन।”
शुक्रवार पुटिनले “टेलिभिजन वा इन्टरनेटमा देखाइने भन्दा जीवन अझ जटिल रहेको” पनि बताएका थिए।
रोजेनवर्ग भन्छन्, “म उनले भनेको कुरामा सहमत छु। रुसका टेलिभिजनले निरन्तर रूपमा युक्रेनका घटनाक्रमबारे क्रेम्लिनले प्रस्तुत गर्ने समानान्तर धारणालाई प्रस्तुत गर्ने गरिरहेको छ।”








