'८९ जनाको मृत्यु भएको' क्षेप्यास्त्र हमलामा रुसद्वारा आफ्नै सैनिकको मोबाइल प्रयोग 'दोषी' भएको भनाइ

म्याकिइभका

तस्बिर स्रोत, Reuters

नयाँ वर्षका दिन ८९ जना रुसी सैनिकहरूको ज्यान जाने गरी भएको एक क्षेप्यास्त्र हमलाको कारण आफ्ना फौजले नियम तोडेर मोबाइल फोन चलाउनु रहेको मस्कोले जनाएको छ।

अधीनस्थ डोनेत्स्क क्षेत्रमा पर्ने म्याकिइभका सहरमा युक्रेनी हमलामा ४०० रुसी सैनिकहरू मारिएको र अन्य ३०० जति घाइते भएको किएभले दाबी गरेको थियो।

जारी युद्धमा यो एकै घटनामा रुसले स्वीकारेको मृत्युको सबैभन्दा उच्च सङ्ख्या हो।

रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्नुले 'शत्रुलाई उनीहरूको अवस्थिति थाहा पाउने मौका दिएको' जनाएका छन्।

नयाँ वर्षको दिन मस्को समय अनुसार रातको १२ बजेर १ मिनेट जाँदा अमेरिकामा बनेका हाइमार्स रकेट प्रणालीबाट ६ वटा क्षेप्यास्त्र प्रहार भएकोमा दुई वटा खसालिएको रुसले जनाएको छ।

एक सीपमूलक क्याम्पस भवनलाई लक्षित गरिएको उक्त प्रहारको केही क्षणअघि रुसी टेलिभिजनमा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको शुभकामना दिएका थिए।

लाइन
लाइन

मोबाइल सम्बन्ध: 'प्रस्ट भइसक्यो'

रुसी रक्षा मन्त्रालयले बुधवार एक विज्ञप्तिमा जनाए अनुसार त्यहाँस्थित रेजिमेन्टका सहायक कमाण्डर समेत मारिने मध्येमा छन्।

मन्त्रालयको विज्ञप्तिमा उक्त घटनाका परिस्थितिहरू अनुसन्धान गर्नका लागि एक समिति गठन गरिएको जनाइएको छ।

तर हमलाको मुख्य कारण युक्रेनी अस्त्रहरूको दायराभित्र मोबाइल फोनहरू रहनु र त्यसको "व्यापक प्रयोग" रहेको कुरा "प्रस्ट भइसकेको" जनाइएको छ।

लेफ्टिनन्ट जेनरल सर्गेई सेभर्युकोले यसका लागि ‘जिम्मेवार अधिकारीहरूलाई कानुनी दायरामा ल्याइने र तत्कालका लागि भविष्यमा यस्तो दुखद घटना घट्न नदिनका लागि सबै उपाय चालिने’ बताए।

लाइन
लाइन

दुर्लभ स्वीकारोक्ति

म्याकिइभका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म्याकिइभकामा ज्यान गुमाउनेको सम्झनामा एक शोकसभामा मानिसहरु जुटेका थिए

रक्षा मन्त्रालयको विज्ञप्ति दुईवटा कारणले अर्थपूर्ण देखिन्छ।

विज्ञप्तिमा 'जिम्मेवार अधिकारीहरू' भनिनुले त्यहाँ केही गल्ती भएको सङ्केत गर्छ।

आफूबाट गल्ती भएको कुरा उनीहरूले बिरलै स्वीकार्ने भएकाले यो मस्कोले प्रस्तुत गरेको निकै अस्वाभाविक व्यवहार हो ।

रुसी सेनाले यसअघि ६३ जनाको मृत्यु भएको बताउँदा समेत त्यो युद्ध सुरु भए यताको एकै घटनामा मस्कोले स्वीकारेको उच्च सङ्ख्या थियो।

अहिले मस्कोले ८९ जनाको मृत्यु भएको स्वीकारेको छ।

म्याकिइभकामा भएको मृत्युको वास्तविक सङ्ख्या युक्रेन र अनौपचारिक रुसी स्रोतहरूले दाबी गरेझैँ निकै उच्च हुनसक्छ।