रुसको वाग्नर ग्रुपलाई उत्तर कोरियाले हतियार बेचेको अमेरिकाको आरोप

तस्बिर स्रोत, Getty Images
युक्रेनमा प्रयोग गर्नका लागि रुसी भाडाका सैनिकहरूको समूह वाग्नर ग्रुपलाई उत्तर कोरियाले युद्ध क्षेत्रमा प्रयोग हुने क्षेप्यास्त्र र रकेटहरू उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ।
ह्वाइट हाउसले उक्त कारोबारले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको जनाउँदै वाग्नर समूहमाथि थप प्रतिबन्धहरूको घोषणा गर्ने जनाएको छ।
तर उत्तर कोरिया र वाग्नर समूहले भने उक्त विवरण अस्वीकार गरेका छन्।
यूके सरकारका अनुसार युक्रेनमा वाग्नर ग्रुपका सैनिकको सङ्ख्या १ हजारबाट बढेर झन्डै २० हजार पुगेको छ।
हालसालै सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय रहेको उक्त समूहमाथि पटक-पटक युद्ध अपराध र मानव अधिकार उल्लङ्घनको आरोप लाग्ने गरेको छ।
''युक्रेनमा आफ्नो सैन्य कारबाहीलाई सहयोग गर्न वाग्नरले विश्वभर हतियार आपूर्तिकर्ताको खोजी गरिरहेको छ,'' ह्वाइट हाउस राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले सञ्चारकर्मीहरूलाई भने।
''हतियारका लागि रकम तिरेको वाग्नर समूहलाई उत्तर कोरियाले केही मात्रामा हतियार उपलब्ध गराएको हामी अब पुष्टि गर्न सक्छौँ,'' उनले थपे।
दाबी र खण्डन

ह्वाइट हाउसका अनुसार उक्त समूहले उत्तर कोरियाबाट स्थल सेनाले प्रयोग गर्ने रकेट र क्षेप्यास्त्र खरिद गरेको छ।
कर्बीका अनुसार वाग्नरले युक्रेनमा मासिक १० करोड अमेरिकी डलर भन्दा बढी रकम खर्च गरिरहेको छ।
यूकेका विदेश मन्त्री जेम्स क्लेभर्लीले आफूहरू उनको मूल्याङ्कनमा सहमत रहेको जनाएका छन्।
"राष्ट्रपति (भ्लादिमिर) पुटिनले मद्दत माग्न उत्तर कोरियातर्फ फर्केको यथार्थ रुसको निराशा र एक्लोपनको सङ्केत हो," यूके विदेशमन्त्रीले एक विज्ञप्तिमा भने।
तर वाग्नरका समूहका सञ्चालकले भने त्यसलाई ''हल्ला र अनुमानको'' संज्ञा दिँदै उक्त दाबीलाई अस्वीकार गरेका छन् भने उत्तर कोरियाको विदेश मन्त्रालयले उक्त विवरण "निराधार" रहेको जनाएको छ।
उत्तर कोरियाका एक जना प्रवक्ताले आफ्नो देश र रुसबिच कारोबार ''कहिल्यै नभएको'' र आफूहरूको भनाइ ''परिवर्तन नहुने'' बताएका छन्।
वाग्नरको विगत
सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो भूभागमा गाभ्ने क्रममा वाग्नर ग्रुपले पहिलो पटक त्यहाँको युद्धमा सहभागिता जनाएको विश्वास गरिन्छ।
पश्चिमा राष्ट्रका विज्ञहरूका अनुसार वाग्नर समूह रुसद्वारा प्रायोजित भाडाका सैनिकहरूको समूह हो।
त्यसमा आबद्ध लडाकुहरू क्रेम्लिनको स्वार्थमा काम गर्छन्।
उक्त निजी सैन्य कम्पनीको स्थापना भूतपूर्व रेस्टुराँ व्यवसायी येभ्गेनी प्रिगोजिनले गरेका हुन्। उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी मानिन्छ।
उनीमाथि बारम्बार युद्ध अपराध र मानवाधिकार उल्लङ्घनको आरोप लाग्ने गरेको छ।
वाग्नरले यसअघि क्राइमिया, सिरिया, लिबिया, माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सैनिकहरू पठाएको थियो।











