एक क्षेप्यास्त्र हमलामा सयौँ रुसी सैनिक मारिएको युक्रेनको दाबी

तस्बिर स्रोत, TELEGRAM: HOREVICA / ZSU STRATCOM
युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेत्स्क क्षेत्रको पूर्वी भागमा झण्डै ४०० रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ।
रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ।
दुवैतर्फका दाबीको स्वतन्त्र रूपले पुष्टि हुन सकेको छैन।
उसले त्यहाँ सैनिकहरू अस्थायी रुपमा तैनाथ भएको बेला हमला भएको जनाएको छ।
रुस-पक्षधर अधिकारीहरूले हताहत भएको कुरा स्वीकार गरेका छन् तर बाहिर आएको सङ्ख्याबारे परस्पर विरोधी टिप्पणीहरू गरेका छन्।
उक्त क्षेप्यास्त्र रुसी फौजहरू रहेको ठानिएको म्याकिइभका सहरको एक सीपमूलक विद्यालय भवनलाई लक्षित गरी प्रहार गरिएको थियो।
हमला
किएभमा रुसबाट ड्रोन तथा क्षेप्यास्त्र हमलाको क्रम जारी रहँदा आइतबार राती हवाई हमलाहरूको चेतावनी जारी गरिएको थियो।
डोनेत्स्कको अधिनस्त क्षेत्रमा रहेका रुस समर्थित एकजना वरिष्ठ अधिकारी डानिल बेज्सोनोभका अनुसार म्याकिइभकामा नयाँ वर्षको दिन मध्यरातको दुई मिनेटपछि क्षेप्यास्त्र प्रहार भएको थियो।
बेज्सोनोभले मेसेजिङ एप टेलिग्राममा लेखेका छन्, "त्यहाँ मृतक र घाइतेहरू छन्, वास्तविक सङ्ख्या अझै थाहा छैन।"
ती अधिकारीले सो प्रहार अमेरिकाले उपलब्ध गराएको एमएलआरएस हाइमार्स भनिने क्षेप्यास्त्रको प्रयोगबाट भएको बताए।
युक्रेनले उक्त क्षेप्यास्त्रको प्रयोगको विषयमा कुनै पुष्टि गरेको छैन।
किएभले पुरानै रणनीतिको रूपमा आफ्ना हमलाका विवरणहरू सार्वजनिक गर्ने गरेको छैन।

तस्बिर स्रोत, ANDRIY NEBYTOV, KYIV OBLAST POLICE CHIEF
रुसमा के भनिएको छ?
रुस-नियन्त्रित क्षेत्रमा पहुँच प्रतिबन्धित भए तापनि कैयौँ रुसी टिप्पणीकार र ब्लगरहरूले त्यस हमलालाई स्वीकार गरेका छन् तर मृतकको सङ्ख्या दाबी गरिएभन्दा कम हुनसक्ने बताएका छन्।
एकजना रुसी प्रस्तोता भ्लादिमिर सोलोभयोभले टेलिग्राममा "क्षतिहरू उल्लेख्य भए तापनि" ४०० को "नजिक पनि नभएको" लेखेका छन्।
तर हाल टिप्पणीकारका रूपमा रहेका एकजना पूर्व रुसी सैनिक इगोर गिर्किनले सयौँ घाइते हुनुका साथै मारिएको र भवन "लगभग पूरै ध्वस्त भएको" बताएका छन्।
उनले पीडितहरू खास गरी हालसालै भर्ती गरिएका र स्वेच्छाले लड्न गएका बाहेकका सैनिकहरू भएको बताएका छन्।
गोलाबारूद समेत त्यसै भवनमा राखिएको कारण क्षति झन् भयानक भएको उनले जनाएका छन्।
युक्रेनी सेनाका अनुसार ज्यान गुमाउने अनुमानित ४०० बाहेक ३०० जति घाइते भएका छन्।
युक्रेनको सेनाले दैनिक जसो दर्जनौँ एवं बेलाबखत सयौँको सङ्ख्यामा विरोधी सैनिकहरू मारेको दाबी गर्ने हुँदा सजगता आवश्यक पर्छ।
तर यस दाबी पुष्टि भएमा यो युक्रेन युद्धमा रुसी निशानामा किएभले गरेको सबैभन्दा घातकमध्येको हमला हुनसक्छ।











