युक्रेनबाट रुसमा घुसपैठ गर्ने यी लडाकु को हुन्

रुसले दुवै समूहका लडाकुहरूलाई आफ्नो भूमिबाट धपाइदिएको बताएको छ

तस्बिर स्रोत, Liberty of Russia Legion

तस्बिरको क्याप्शन, रुसले दुवै समूहका लडाकुहरूलाई आफ्नो भूमिबाट धपाइएको दाबी गरेको छ

युक्रेनबाट रुसी भूमिमा प्रवेश गरेका लडाकुहरूलाई बेल्गोरोड क्षेत्रमा “प्रतिआतङ्कवाद कारबाही”का क्रममा धपाइएको रुसले जनाएको छ।

ती लडाकुलाई रुसले युक्रेनी “ध्वसंकारी” को सङ्ज्ञा दिएको छ।

तर युक्रेनले उनीहरू क्रेम्लिनविरोधी समूह रसिअन भोलन्टिअर कोर (आरडीके) र फ्रीडम अफ रसिअन लीजन (एफआरएल) मा आबद्ध रुसी नागरिक भएको बताएका छन्।

सैन्य विश्लेषकहरूका अनुसार ती दुवै समूहले आफ्ना गतिविधि सञ्चालनका लागि युक्रेनको सशस्त्र फौजहरूबाट थुप्रै सहयोग पाइरहेको हुनसक्छ।

रातो धर्सा
रातो धर्सा

रसिअन भोलन्टिअर कोर (आरडीके) के हो?

युक्रेनसँग सीमा जोडिएको रुसको ब्रियान्स्क क्षेत्रमा मार्च महिनामा सीमापार कारबाहीमा सहभागी भएपछि रसिअन भोलन्टिअर कोर (आरडीके) को अस्तित्वबारे पहिलो पटक थाहा भयो।

उसका अनुसार उक्त कारबाहीमा ४५ जना सहभागी थिए।

रुस सरकारविरुद्ध विद्रोहका लागि रुसी नागरिकहरूलाई उत्प्रेरित गर्न त्यो कारबाही गरेको आरडीकेले बतायो।

गोली हानाहान भएको, मानिसहरूको मृत्यु भएको र केहीलाई बन्धक बनाइएको कुरा अपुष्ट विवरणहरू सार्वजनिक भए।

रसिअन भोलन्टिअर कोरका सदस्यहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रसिअन भोलन्टिअर कोरका सदस्यहरू

आरडीकेले कसैलाई बन्धक नबनाइएको र सुरक्षित रूपमा फेरि युक्रेनी भूभागमा फर्केको बतायो।

आरडीकेका नेताले आफूलाई 'डेनिस कापुस्टिन' अथवा 'डेनिस निकिटिन' भनेर चिनाउँछन्।

उनी रुसी राष्ट्रवादी हुन् र उनको समूहले रुसमाथि आदिवासी रुसीहरूको वर्चस्व हुनुपर्ने कुरालाई खुला रूपमा समर्थन गर्दै आएको छ।

सन् २०२० मा युक्रेनको एउटा अनुसन्धात्मक वेबसाइटले डेनिस कापुस्टिनको सम्बन्ध नवनाजीहरूसँग भएको आरोप लगाएको थियो।

कापुस्टिनले विगतमा आफू 'फुटबल हुल्याहा' समूहमा आबद्ध रहेको बताएका छन्।

आरडीकेले पुटिन प्रशासनलाई “बोल्शेभिक” (जसको अर्थ कम्युनिस्ट हुन्छ) भन्दै निन्दा गर्छ र मूलधारका विपक्षीहरूलाई युक्रेन युद्धबारे अनिर्णित रहेको आरोप लगाउँछ।

तर रुसको उग्रराष्ट्रवादी समूह नै रुसविरुद्ध किन लडिरहेको छ भन्ने कुरा आश्चर्यजनक भएको किङ्स कलेज लन्डनस्थित रक्षा विषयकी अध्येता मारिना मिरोन बताउँछन्।

“आरडीकेलाई युक्रेनले बनाएको हुनुपर्छ,” उनी भन्छिन्, “युक्रेन युद्धअघि त्यो एउटा सानो समूहको रूपमा थियो र त्योसँग कुनै सशस्त्र टोली थिएन।”

'फर्चुना' उपनाम भएका आरडीकेका एक सदस्यले सो समूहमा १२० जना रहेको गत नोभेम्बरमा युक्रेनी सञ्चारमाध्यमलाई बताएका थिए।

“हामी स्वयंसेवक एकाइ हौँ, हामी युक्रेनी नागरिकहरूजस्तो भाडामा अथवा ठेक्कामा काम गर्ने होइनौँ,” उनले भने।

रातो धर्सा
रातो धर्सा

फ्रीडम अफ रसिअन लीजन (एफआरएल) के हो?

फ्रीडम अफ रसिअन लीजन (एफआरएल) लिबर्टी अफ रसिअन लीजन भनेर पनि चिनिन्छ।

युक्रेनी फौजहरूसँगै रुसी फौजविरुद्ध लडाइँ गर्ने एफआरएल नितान्त पृथक् खालको समूह हो।

सो समूहले सेतो-नीलो-सेतो झण्डा प्रयोग गर्छ। कतिपय रुसी विपक्षीले त्यसलाई “स्वतन्त्र रुसी” झण्डाको रूपमा लिन्छन्।

राजनीतिक रूपमा एफआरएललाई आरडीकेभन्दा कम कट्टर ठानिन्छ।

मे २२ तारिखमा उसले युक्रेनी सीमासँग जोडिएको र बेल्गोरोडको दक्षिणपश्चिममा पर्ने रुसको कोजिन्का गाउँलाई “स्वतन्त्र बनाएको” घोषणा गर्‍यो।

“एफआरएल र आरडीकेले बेल्गोरोड क्षेत्रलाई स्वतन्त्र बनाउने प्रयास जारी राखेका छन्,” उसले दाबी गर्‍यो।

“रुसी नागरिकहरू सुरक्षित रहेका र रुसी महासङ्घ बलियो रहेको मान्यता फेरि पनि भङ्ग भएको छ,” उसले भनेको छ।

त्यसपछि उसले आफ्नो झण्डा राखिएका बलूनहरू उसले मस्कोको आकाशमा उडायो।

सीजर उपनामले चिनिने समूहका चिरपरिचित सैनिकले “लीजन क्षेत्रका कसैलाई पनि आबद्ध हुन बाध्य नपारिएको” बताए।

रातो धर्सा
रातो धर्सा

रुसी लडाकुहरूलाई के युक्रेनले सघाएको छ?

किएभको गुप्तचर निर्देशनालयका एन्ड्री युसोभका अनुसार दुवै समूहले “स्वायत्त रूपमा रुसी भूभागमा काम गरिरहेका छन्” र त्यसमा युक्रेनीहरू संलग्न छैनन्।

उनीहरू लडाकु र “रुसी स्वयंसेवक” भएको युक्रेनी टेलिभिजनले जनाएको छ।

यद्यपि किङ्स कलेज लन्डनस्थित डिफेन्स स्टडीजकी अध्येता डा. मारिना मिरोन युक्रेनी फौजको सहयोगबिना ती समूहहरू रुसी सीमा क्षेत्रमा आक्रमणहरू गर्न सक्षम रहेकोमा संशय व्यक्त गर्छिन्।

“निश्चित रूपमा उनीहरू बाह्य सहयोग र युक्रेनी गुप्तचर सूचनामा निर्भर भइरहेका छन्,” उनले भनिन्।

"युक्रेनले रुसी सीमापारि आक्रमण गर्न सक्छ - रुसीहरूको ध्यान युक्रेनभित्र भइरहेको लडाइँबाट मोड्न। अनि त्यसका लागि ती समूहहरू जिम्मेवार छन् भन्नु सम्भावित खण्डन हो।"

युक्रेनका राजनीतिक विश्लेषक भोलोदिमिर फेनेस्कोका अनुसार थुप्रै अर्धसैनिक समूहहरू युक्रेनसँग सहकार्य गर्दै आएका छन्।

तर ती वास्तविक काममा भन्दा जनसम्पर्कमा धेरै व्यस्त रहेको देखिन्छ।

बीबीसी मोनिटरिङको रिपोर्ट।