रुसी हाइपरसोनिक क्षेप्यास्त्रहरू खसालिदिएको किएभको भनाइ

तस्बिर स्रोत, Reuters
युक्रेनले आफूले किएभमाथि गरिएका व्यापक गोलाबारीमाझ कैयौँ रुसी हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई खसालिदिएको जनाएको छ।
किएभले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किन्जाल हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई विफल तुल्याएको जनाएको छ।
रुसले सबै हवाई सुरक्षा प्रणालीलाई उक्त क्षेप्यास्त्रले पार गर्न सक्ने दाबी गर्दै आएको थियो।
अधिकारीहरूका अनुसार छोटो समयभित्रै प्रहार गरिएका १८ प्रकारका क्षेप्यास्त्रहरूमा किन्जाल पनि थियो।
रुसले त्यसलाई खसालिएको भन्ने दाबी अस्वीकार गर्दै एउटाले अमेरिकाले आपूर्ति गरेको पेट्रिअट हवाई प्रतिरक्षा प्रणालीलाई नष्ट गरिदिएको जनाएको छ।
युक्रेनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको थियो। बीबीसीले दुवै देशले गरेका दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
रुसले अत्याधिक भरपर्दो भनेको क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी
रुसले हालैका हप्ताहरूमा हवाई आक्रमणहरूमा वृद्धि गरेको छ।
अपेक्षा गरिएको युक्रेनी प्रत्याक्रमणअघि यो महिनामात्रै उसले आठ पटक युक्रेनी राजधानीमा बमबारी गरेको छ।
मङ्गलवार साँझ रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले किएभले दाबी गरेको सङ्ख्यामा मस्कोले किन्जाल क्षेप्यास्त्रहरू प्रहार नगरेको बताए।
तर किएभको दाबी सत्य पुष्टि भएको खण्डमा आफ्नो क्षेप्यास्त्र प्रणालीको सबैभन्दा भरपर्दो अस्त्र नष्ट गर्नसक्ने युक्रेनको क्षमताले मस्कोलाई निराश तुल्याउनेछ।
खासगरी पेट्रिअटसहित अत्याधुनिक पश्चिमा प्रतिरक्षा प्रणाली किएभले प्राप्त गरेसँगै यस्तो अवस्था बनेको हो।
रुसले आफ्ना क्षेप्यास्त्रहरू ११ हजार किलोमिटर भन्दा बढी वेगले यात्रा गर्नसक्ने बताउँदै आएको छ। उसले विश्वको कुनै पनि हवाई प्रतिरक्षा प्रणालीले त्यसलाई नष्ट गर्ननसक्ने धारणा राख्दै आएको छ।
किन्जाल विमानबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र हो। अधिकांश बलिस्टिक क्षेप्यास्त्रहरू निश्चित विन्दुमा ध्वनिको गतिभन्दा पाँच गुणा अर्थात ६ हजार किलोमिटर प्रतिघण्टा भन्दा तेज हुन्छन्।
किएभले अघिल्लो साता आफूले पहिलो पटक किन्जाललाई खसालिदिएको जनाएको थियो।
केही दिन यता युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्की युरोपको भ्रमणमा छन्। त्यसक्रममा यूकेका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोंसहितका नेताहरूले अर्बौँ डलर बराबरका सैन्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तस्बिर स्रोत, STATE EMERGENCY SERVICE OF UKRAINE
रुसको रणनीति के हो
मङ्गलवारको गोलाबारीका फुटेजहरूमा हवाई प्रतिरक्षा प्रणालीले शहरमाथि निशानाहरूलाई नष्ट पारिरहेको देख्न सकिन्छ।
युक्रेनी सशस्त्र फौजका प्रमुख भ्यालेरी जलूज्नीले रुसले किएभलाई उत्तर, दक्षिण र पूर्वबाट आक्रमण गरेको र आकाश, समुद्र र स्थल प्रणालीमा आधारित १८ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए।
युक्रेनी राजधानीको सैनिक प्रशासनसम्बन्धी प्रमुख सार्ही पोप्कोले पछिल्लो प्रहारहरूलाई ‘सबैभन्दा छोटो अवधिमा गरिएको सर्वाधिक सङ्ख्याको हमला’ भनेका छन्।
मङ्गलवार सर्वसाधारणहरूलाई नष्ट गरिएका क्षेप्यास्त्रहरूको भग्नावशेष खस्नसक्ने भन्दै झ्यालभन्दा पर बस्न भनिएको थियो।
मेयर भिताली क्लित्च्कोले रकेटका भग्नावशेषहरू शहरको मध्य जिल्लामा अवस्थित चिडियाघरमा खसेको बताए। कुनै पनि जनावर र कामदार घाइते भएका छैनन्।
यसैमहिनाबाट सुरुमा ५० दिनपछि रुसले किएभमाथि पुनः हवाई आक्रमण सुरु गरेको थियो।
युक्रेनी अधिकारीहरूले अधिकांश क्षेप्यास्त्र र ड्रोन हमलालाई निष्क्रिय पार्न सफलता हासिल गरेको हवाई प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने रणनीति लिएको ठानिरहेका छन्।
रुसले युक्रेनमाथि हमला गरे यता हजारौँ सर्वसाधारण र सुरक्षा बलहरूले ज्यान गुमाएका छन् वा घाइते भएका छन् भने कैयौँ शहर र नगरहरू ध्वस्त भएका छन्।
युरोपमा करिब ८२ लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएका छन् जसमध्ये २८ लाख रुसमा रहेको शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय निकायले जनाएको छ।








