दक्षिण अफ्रिकामाथि रुसलाई हतियार उपलब्ध गराएको आरोप

सैन्य अभ्यासका लागि आएको रुसी नौसैनिक पानीजहाज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सैन्य अभ्यासका लागि आएको रुसी नौसैनिक पानीजहाज

दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूतले उक्त देशले युक्रेन द्वन्द्वमा तटस्थ रहने घोषणा विपरीत रुसलाई हतियारहरू आपूर्ति गरेको आरोप लगाएका छन्।

रुबेन ब्रिगेटीले गत डिसेम्बरमा हतियार तथा गोलीगठ्ठाले भरिएको रुसी पानीजहाज केप टाउनमा देखिएको बताए।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले आफू उक्त दाबी प्रति दुखी भएको जनाउँदै त्यसलाई पुष्टि गर्ने आधार प्रदान नगरिएको जनाएको छ।

दक्षिण अफ्रिकाले युक्रेन अतिक्रमणको मुद्दामा तटस्थता दाबी गर्दै आएको छ।

अमेरिकी राजदूतले के भने

प्रिटोरियामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा राजदूत ब्रिगेटीले उक्त द्वन्द्वलाई लिएर दक्षिण अफ्रिकाले व्यक्त गरेको असंलग्नताको नीतिप्रति वासिङटनको चासो रहेको बताए।

सिमोन्स टाउन जलसेना शिविर नजिकै गएको डिसेम्बर ६ देखि ८ को बीचमा एउटा मालवाहक पानीजहाज रोकिएको प्रसङ्ग उल्लेख गर्दै उनले रुसतर्फ जानुअघि त्यसमा हातहतियार र गोलीगठ्ठा भरिएकोमा आफू ‘विश्वस्त’ रहेको बताए।

लेडी आर नामक सो पानीजहाजको उपस्थितिलाई लिएर त्यसबेला जिज्ञासाहरू उठेका थिए र कतिपय स्थानीय नेताहरूले त्यसबारे प्रश्न पनि गरेका थिए।

“रुसीहरूलाई हतियारले सज्जित बनाउनु ज्यादै गम्भीर हो र हामीलाई यो विषय सम्बोधन भएको जस्तो लाग्दैन,” ब्रिगेटीले भने।

उनले लगाएको आरोपले दक्षिण अफ्रिकाको सत्तापक्षलाई आश्चर्यमा पारिदिएको छ।

रेखा
रेखा

उक्त आरोपपछि दक्षिण अफ्रिकाको सरकारले अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र जाँच निकाय गठन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ताले जानकारी दिएका छन्।

संयुक्त राज्य अमेरिकाले केही महिना यता दक्षिण अफ्रिका र रुसबीचको निरन्तरको निकट सम्बन्धलाई आलोचनात्मक रूपले हेर्दै आएको थियो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले बिहीवार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले लेडी आर पानीजहाजको विषयलाई लिएर कैयौँ दक्षिण अफ्रिकी अधिकारीहरूसँग चिन्ता व्यक्त गरेको जनाए।

उनले ‘युक्रेनमा जारी रुसको गैरकानुनी र क्रूर युद्धप्रति समर्थन जनाउने कदम चाल्ने कुनै पनि देशविरुद्ध’ अमेरिकाले बोल्ने चेतावनी दिए।

यदि पछिल्लो आरोप प्रमाणित भए त्यसले दक्षिण अफ्रिकालाई पुर्‍याउनसक्ने नोक्सानीबारे भने उनले जवाफ दिएनन्।

रुस र चीनसँगको सैन्य अभ्यासले निम्त्याएको तरङ्ग

वासिङटनले युक्रेन हमलाको वर्षगाँठको समयमा रुस र चीनसँग भएको सैन्य अभ्यासमा सहभागी हुने दक्षिण अफ्रिकाको कदमप्रति पनि चिन्ता जनाएको थियो।

उक्त नौ सैनिक अभ्यास फेब्रुअरी महिनामा १० दिनसम्म चलेको थियो र त्यसलाई विपक्षीहरूले रुसी आक्रमणको अनुमोदन भन्दै आलोचना गरेका थिए।

तर दक्षिण अफ्रिकाका अधिकारीहरूले उत्तेजना फैलाउने गरी उक्त अभ्यासको समय तय गरिएको भन्ने आरोप खण्डन गरेका थिए।

उनीहरूले फ्रान्स र अमेरिकासहितका देशहरूसँग पनि त्यस्तै प्रकारका अभ्यासहरू हुने गरेका जनाएका थिए।

दक्षिण अफ्रिकामा रुसी पानीजहाजहरू

तस्बिर स्रोत, Getty Images

विगतमा दक्षिण अफ्रिका रुसी अतिक्रमणलाई निन्दा गर्दै राष्ट्रसङ्घमा भएको मतदानमा तटस्थ बसेको थियो। अमेरिका र युरोपले रुसमाथि लगाएका प्रतिबन्धमा सहभागी हुनसमेत उसले अस्वीकार गरेको थियो।

संसद्‌मा विपक्षी नेताले उठाएको प्रश्नको जवाफ दिँदै राष्ट्रपति रामाफोसाले अमेरिकी राजदूतको प्रतिक्रियालाई ध्यान दिइने बताए।

उनले विपक्षी दलहरूलाई उक्त प्रक्रिया पुरा गर्न दिन आग्रह गर्दै उपयुक्त समयमा आफूहरूले त्यसबारे बोल्ने उल्लेख गरेका थिए।

आरोप प्रमाणित भए कस्तो असर पर्नसक्छ

पछिल्लो दाबी पुष्टि भएको खण्डमा त्यसले दक्षिण अफ्रिकाको तटस्थताको नीतिलाई कमजोर तुल्याउने मात्र नभई रुसले युक्रेनमाथि गरिरहेको आक्रमणलाई साथ दिएको आरोप कतिपयले उसलाई लगाउनसक्ने देखिन्छ।

“यदि दक्षिण अफ्रिकाका गोलीहरू युक्रेनी शवहरूमा फेला परे भने, त्यो हामीले चाहेको जस्तो अवस्था हुने छैन,” अन्तर्राष्ट्रिय सम्बन्धका एक जना विज्ञले भने।

हालसम्म हतियार तथा गोलीगठ्ठाका बारेमा धेरै विवरणहरू आएका छैनन्। सरकारी स्वामित्वको कम्पनी वा दक्षिण अफ्रिकामा रहेको अस्त्र निर्माता कम्पनीबाट कारोबार भएको हो भन्ने पनि प्रस्ट छैन।

तर यी दुईमध्ये जुनै अवस्थामा पनि त्यसले दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो गर्नेछैन। अमेरिका दक्षिण अफ्रिकाको प्रमुख व्यापार साझेदार हो।

पश्चिमा देशहरूले रुसलाई गम्भीर मानव अधिकार उल्लङ्घनका लागि दोषी ठहर गरिरहेका छन्।

यदि यो समयमा पछिल्लो आरोप प्रमाणित भएको खण्डमा आफूलाई असंलग्न बताइरहेको दक्षिण अफ्रिकालाई मस्कोको ‘नरम साझेदार’ का रूपमा कतिपयले लिनसक्ने अवस्था देखिन्छ।

दक्षिण अफ्रिका
तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकाका राष्ट्रपतिले आफ्नो सरकारले अमेरिकी दाबीबारे अध्ययन गरिरहेको बताएका छन्

मस्कोसँग परम्परागत रुपमा निकट दक्षिण अफ्रिका

दक्षिण अफ्रिका ब्रिक्स गठबन्धनको सदस्य हो जसमा रुससहित विश्वका अग्रणी अर्थतन्त्र चीन, ब्राजिल र भारत समावेश छन्।

देशको सत्तारुढ दल अफ्रिकन न्याश्नल कंग्रेसको पनि रुससँग लामो समयदेखि निकट सम्बन्ध रहेको छ।

गएको मार्च महिनामा अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि पक्राउ पुर्जी जारी गर्दा दक्षिण अफ्रिकालाई कस्तो कूटनीतिक प्रतिक्रिया जनाउने भन्ने निर्णय गर्न अप्ठेरो परेको थियो।

पुटिनले युक्रेनमा भएका युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप खेपिरहेका छन्।

अगस्ट महिनामा दक्षिण अफ्रिकामा हुने ब्रिक्सको शिखर सम्मेलनमा उनले भाग लिने ठानिएको थियो। तर उक्त पक्राउ पुर्जीका कारण आफ्नो देशमा आउने बित्तिकै प्रिटोरियाले उनलाई गिरफ्तार गर्नुपर्ने हुन्थ्यो।

अघिल्लो महिना रामाफोसाले आफ्नो दलले दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट अलग हुनुपर्ने निर्णय लिएको बताएका थिए। तर केही घण्टापछि नै उनको कार्यालयले सञ्चारमा ‘त्रुटि’ भएको भन्दै त्यसलाई सच्चाएको थियो।

वर्षौँदेखि दक्षिण अफ्रिकाको अस्त्र उद्योगले राम्रो गरिरहेको छ र त्यहाँ निर्मित हतियार उक्त महादेशभर बिक्री गरिन्छन्। अहिलेको उसको अस्त्र सामर्थ्यको स्तर भने प्रस्ट छैन।

दक्षिण अफ्रिकाका अधिकारीहरू अमेरिकी राजदूतको आरोपबाट प्रसन्न देखिदैँनन र उनीहरूले यो विषय उपयुक्त कूटनीतिक माध्यमबाट राखिनुपर्ने धारणा राखेका छन्।

कुनै पनि कूटनीतिज्ञले गुप्तचरी जानकारी रहेको भन्दै दाबी गर्नु पर्याप्त हुँदैन र दक्षिण अफ्रिकाका धेरैले अमेरिकाले आफ्नो दाबी प्रमाणित गर्ने आधारहरू प्रस्तुत गर्ने अपेक्षा राख्नेछन्।

कुनै बेला अमेरिकाले आम नंरसम्हार गर्नसक्ने अस्त्र रहेको दाबी गरेको थियो जसले इराक युद्ध निम्त्याएको थियो।