चीनले युक्रेनमा युद्ध गर्न रुसलाई घातक अस्त्र दिन सक्ने अमेरिकाको चेतावनी

अमेरिका र चीनका विदेशमन्त्री

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिका र चीनका विदेशमन्त्री

चीनले युक्रेन युद्धका लागि रुसलाई हातहतियार र गोलाबारुद दिने विषयमा विचार गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आरोप लगाएका छन्।

ब्लिङ्कनले सीबीएस न्यूजलाई चिनियाँ कम्पनीहरूले पहिले नै रुसलाई "गैरघातक सहयोग" उपलब्ध गराउँदै आएको र नयाँ सूचनाले बेइजिङले मस्कोलाई "घातक खालका सहयोग" पनि प्रदान गर्न सक्ने सङ्केत दिएको बताए।

यदि चीनले त्यसो गरे त्यसको परिणाम "गम्भीर" हुने चेतावनी उनले दिए।

चीनले चाहिँ मस्कोले सैन्य उपकरण माग गरेको समाचारलाई अस्वीकार गरेको छ।

चीनको चेतावनी

चिनियाँ राष्ट्रपति सी जिन्पिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी हुन् र उनले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरेका छैनन्।

तर यो द्वन्द्वमा तटस्थ रहन खोज्दै उनले शान्तिका लागि आह्वान गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयले रुससँगको सम्बन्धलाई लिएर अमेरिकाको "औँला देखाउने" र "जबरजस्ती" गर्ने कार्यलाई स्वीकार नगर्ने बताएको छ।

ब्लिङ्कनले शनिवार म्युनिख सुरक्षा सम्मेलनमा चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीसँग भेट गरेपछि सीबीएससँग कुराकानी गर्दै चीनलाई चेतावनी दिएका थिए।

रेड लाइन
यो पनि हेर्नुहोस्
रेड लाइन

ब्लिङ्कनले के भने?

उनले बैठकमा आफूले "चीनले रुसलाई घातक सामग्री सहयोग गर्ने सम्भावना"बारे "गहिरो चिन्ता" व्यक्त गरेको बताए।

"...युक्रेनमा प्रयोग गर्न चिनियाँ कम्पनीहरूले रुसलाई गैरघातक सहयोग प्रदान गरिरहेका छन्। हामीसँग भएको जानकारीका आधारमा हामीलाई के चिन्ता छ भने उनीहरूले घातक सहयोग प्रदान गर्नेबारे सोचिरहेका छन्," उनले भने।

ब्लिङ्कन

तस्बिर स्रोत, Getty Images

तर उनले चीनको सम्भावित योजनाबारे अमेरिकाले के जानकारी पाएको छ भन्ने विस्तृत विवरण भने दिएनन्।

चीनले रुसलाई कस्तो सहयोग गर्न सक्छ भन्ने अमेरिकाले ठानेको छ भन्नेबारे सोध्दा उनले त्यो मुख्य रूपमा हातहतियार र गोलाबारुद हुने दाबी गरे।

अमेरिकाले रुसलाई हजारौँ लडाकु विमानहरू आपूर्ति गर्ने वाग्नर समूहलाई युक्रेनको स्याटलाइट नक्साहरू उपलब्ध गराएको आरोपमा एउटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिका-चीन सम्बन्धमा ‘गम्भीर समस्या’

ब्लिङ्कनले सीबीएसलाई "निस्सन्देह चीनमा निजी कम्पनीहरू र राज्यबीच वास्तवमा कुनै भिन्नता" नभएको बताए।

"यदि चीनले रुसलाई हतियार उपलब्ध गरायो भने हाम्रो सम्बन्धमा गम्भीर समस्या निम्त्याउनेछ," उनले भने।

फेब्रुअरीको सुरुमा अमेरिकाले जासुसीका लागि प्रयोग गरिएको भन्दै चिनियाँ बलुनलाई खसालेपछि वाशिङ्टन र बेइजिङबीच सम्बन्ध बिग्रिरहेकिो बेला उनको यस्तो भनाइ आएको हो।

यद्यपि बलुनसम्बन्धी मामिलामा दुवै पक्षले आक्रोशपूर्ण अभिव्यक्ति दिए पनि समान रूपमा दुवै पक्ष घटनाबाट लज्जित भएका र सम्बन्ध अघि बढाउन तयार देखिएका थिए।

तर यदि चीनले रुसी सेनालाई सहयोग पुर्‍याउन हतियार आपूर्ति गरेमा अमेरिका-चीन सम्बन्ध झन् बिग्रने देखिन्छ।

ब्लिङ्कनको चेतावनी स्पष्ट रूपमा चीनलाई त्यसो गर्नबाट रोक्नको लागि दिइएको जस्तो देखिन्छ।

अमेरिकाले रुसको अर्थतन्त्रलाई कमजोर बनाउनका लागि लगाइएका पश्चिमी प्रतिबन्धबाट बच्न रुसलाई चीनले सहयोग गरेकोमा पनि अमेरिका चिन्तित भएको उनले बताए।

रुससँग चीनको व्यापार बढ्दै गएको छ र यो रुसी तेल, ग्यास र कोइलाको सबैभन्दा ठूलो बजार पनि हो।

अमेरिकालगायत नेटो सदस्यहरूले युक्रेनलाई ट्याङ्कसहित विभिन्न प्रकारका हतियार, गोलाबारुद र उपकरण पठाइरहेका छन्।

चिनियाँ विदेशमन्त्री

तस्बिर स्रोत, Getty Images

चिनियाँ विदेशमन्त्रीले के भने?

शीर्ष अमेरिकी कूटनीतिज्ञको टिप्पणी चिनियाँ विदेशनीति प्रमुखको युरोप भ्रमणको एक भागको रूपमा वाङको मस्कोको निर्धारित भ्रमणअघि आएको हो।

वाङले शनिवार म्युनिखमा चीनले युक्रेन युद्धको लागि "आगोमा घिउ नथपेको" बताएको समाचारसंस्था रोयटर्सले जनाएको छ।

चीनले द्वन्द्व समाधान गर्न आफ्नो अडान प्रस्तुत गर्ने दस्तावेज प्रकाशित गर्ने र त्यसमा सबै देशको भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने उल्लेख हुने उनले बताए।

"म के सुझाव दिन्छु भने सबैजनाले शान्तपूर्वक सोच्न थालून्, विशेषगरी युरोपका साथीहरूले यो युद्ध रोक्न हामीले कस्तो प्रयास गर्न सक्छौँ भनेर सोचून्," वाङले भने।

उनले थप भने, "केही शक्तिहरू छन् जसले वार्ता सफल होस् वा युद्ध चाँडै अन्त्य होस् भन्ने चाहँदैनन्।"

तर वाङले त्यस्तो शक्ति को हो भन्ने खुलाएनन्।