जासुसी बलुन, भूउपग्रह र उड्ने वस्तुहरू- हामीलाई आकाशबाट केले हेरिरहेछ?

तस्बिर स्रोत, Getty Images
- Author, पेट्रा जिभिक
- Role, पत्रकार
अमेरिकाको मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर, बिलिङ्सका चकित सर्वसाधारणले आकाशमा ‘ठूलो सेतो घेरो’ देखेर तस्बिरहरू कैद गरेको केही दिनमै अमेरिकाले थप तीन वटा आकाशमा उडिरहेको सन्दिग्ध वस्तुलाई प्रहार गरेर खसालिदियो।
तर, ती 'उड्ने वस्तु'हरूबारे जानकारी सीमित छन् र पछिल्ला दिनहरूमा ती के हुन् भन्नेबारे फरक फरक अनुमानहरू भएका छन्।
पछिल्लो पटक क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमा एक उडिरहेको वस्तु खसालिएको थियो। अमेरिकी रक्षा अधिकारीहरूले त्यस वस्तु मानवरहित “अष्टभुज आकार” को भएको बताएका थिए।
अमेरिकी नोर्दन कमान्डका कमान्डर जनरल ग्लेन भ्यानहर्कले त्यसबारे धेरै कुरा थाहा नभएको तर ती वस्तुले कुनै खतराको सङ्केत नगर्ने पनि बताएका छन्।
“पछिल्लो दुई सातामा जे भयो त्यो एक किसिमको अचम्म लाग्ने कुरा थियो," मोन्टानाको प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक पार्टीका सेनेटर जन टेस्टरले अमेरिकास्थित बीबीसीको साझेदार संस्था सीबीएससँग भने।
अमेरिकाले खसालेका वस्तुहरू के हुन्?

तस्बिर स्रोत, Reuters
अधिकारीहरूले अझै पनि अमेरिका र क्यानडामा खसालिएका उडिरहेका वस्तुहरूको अवशेषहरू खोजिरहेका छन्। तर ती वस्तुहरू कहाँबाट आए वा तिनको उद्देश्य के थियो भन्ने बारे निकै कम बोलेका छन्।
"मलाई लाग्छ अमेरिकीहरूले अहिले यी वस्तुहरूद्वारा सङ्कलित कुनै पनि विवरण उनीहरूले पुनः प्राप्त गर्न सक्छन् वा सक्दैनन् भन्ने पत्ता लगाउन खोजिरहेका छन्," युनिभर्सिटी अफ ब्राडफोर्डका अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा विषयका प्राध्यापक क्रिस्टोफ ब्लुथले बीबीसीलाई भने।
तर, गत हप्ता शुक्रवार अलास्का माथि र शनिवार उत्तर-पश्चिम क्यानडाको युकोनमा खसालिएका अन्य दुई उडिरहेका वस्तुहरू जस्तै, मिशिगनमा आइतवार खसालिएको पनि जासुसी प्रयोजनको हो या होइन भन्ने कुरा स्पष्ट छैन।
"यी वस्तुहरू उस्तै देखिने खालका थिएनन् र बलुनभन्दा निकै सानो आकारका थिए। ती वस्तुहरूको अवशेष नभेटेसम्म हामीले तिनीहरूको विशेषता बताउन सक्दैनौँ," ह्वाइट हाउसको 'न्याशनल सेक्युरिटी' प्रवक्ताले गत साताको अन्त्यमा भनेका थिए।
उनले एक सन्दिग्ध चिनियाँ जासुसी बलुनबारे बताएका हुन् जुन पहिलो पटक ज्यानुअरीमा अलास्काको अलेउटियन टापुहरू पार गर्दै गर्दा पहिचान भएको थियो। त्यसलाई फेब्रुअरी ४ मा साउथ क्यारोलाइनाको तटमा एफ-२२ लडाकु जेटले प्रहार गरेर खसालेको थियो।
अधिकारीहरूले उक्त बलुन चीनको भएको र संवेदनशील क्षेत्रहरूको निगरानी गर्न प्रयोग गरिएको बताएका थिए।
जासुसी गर्न बलुनको प्रयोग, तिनीहरूले कसरी खुफिया जानकारी हासिल गर्छन्?

तस्बिर स्रोत, Getty Images
“यस्तो घटना पहिले पनि घटेको छ। ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाभर तीन वटा त्यस्ता बलुन देखिएका थिए। यद्यपि, तिनीहरूले अमेरिकी हवाई क्षेत्र छोडेपछि मात्र देखिएका थिए,” रोयल यूनाइटेड सर्भिसेस इन्स्टिच्युटकी अनुसन्धान विश्लेषक एवं नीतिगत नेतृत्व लिने जुलिआना जुसले बीबीसीसँग भनिन्।
सन्दिग्ध चिनियाँ बलुन धेरै दिनसम्म अमेरिकाको आकाशमा उडेको थियो। उक्त बलुन पश्चिमी राज्य मोन्टाना सहर जहाँ त्यहाँ पारमाणविक क्षेप्यास्त्रको अड्डा छ, त्यहाँ देखा पर्नुअघि क्यानडाको हवाई क्षेत्रमा देखा परेको अमेरिकी अधिकारीहरूले बताए।
पेन्टागनका अनुसार त्यस बलुनमा तीन वटा बसको आकार जत्रो टोकरी जस्तो संरचना थियो जसको तौल एक टनभन्दा बढी थियो। त्यसमा धेरै वटा एन्टेनाहरू जडित थिए र खुफिया जानकारी सङ्कलन गर्न सक्ने सेन्सरहरूलाई ऊर्जा दिन सौर्य प्यानलहरू थिए।
"बलुनहरू तुलनात्मक रूपमा जासुसीका लागि कम प्रयोग गरिन्छन्। किनकि तिनीहरूको गति निकै सुस्त हुन्छ र मानिसहरूले तिनलाई आजभोलि कम महत्त्वको प्रविधि ठानेका छन्," प्राध्यापक ब्लुथले भने।
तर बलुनको प्रयोग १८ औँ शताब्दी देखि हुँदै आएको छ।
"फ्रान्सेली क्रान्तिताकाका युद्धहरूदेखि नै बलुन खुफिया प्रयोजनको लागि प्रयोग हुँदै आएको छ," जुस बताउँछिन्।
आज हामीले आकाशमा देख्ने बलुन सुरुवाती दिनहरूमा प्रयोग गरिएका पूराना शैलीका भन्दा भिन्न छन्।
"आज तिनीहरूमा हाइड्रोजनको सट्टा हिलियम भरिएका हुन्छन्। तिनीहरू दिनमा माथि उड्छन् र रातको समयमा तल झर्छन्। बलुनमा प्रयोग भएको हिलियम नसकिएसम्म तिनीहरू हावामा तैरिरहन्छन्," जुसले व्याख्या गरिन्।
एक सामान्य खुफिया जानकारी सङ्कलन गर्ने बलुनमा सामान्यतया त्यस्ता उपकरणहरू हुन्छन् जुन रेडार वा सञ्चार प्रणालीहरूमा जोडिन सक्छन्। वा, त्यसमा क्यामेराहरू हुन सक्छन् र तस्बिरहरू खिच्न सक्छन्। "आजको समयमा बलुनले निकै कम महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। किनकि अहिले हामीसँग भूउपग्रह प्रविधि छ जुन निकै विशिष्टीकृत छ र जमिनमा रहेका निकै साना वस्तुहरूलाई पनि क्यामरामा कैद गर्न सक्छ," प्राध्यापक ब्लुथले भने।
त्यसो भए किन अझै पनि भूउपग्रहको साटो आम मानिसले देख्न सक्ने बलुनहरूको प्रयोग हुँदै छ त?
"तपाईँले माथिबाट देख्न सक्ने विवरणहरू वस्तुसँगको दूरीमा निर्भर हुन्छ र भूउपग्रहहरू बलुनहरू भन्दा धेरै माथि हुन्छन्। त्यसैले भूउपग्रह प्रविधि निकै विकसित भए पनि जति वस्तु निकट हुन सक्यो त्यति राम्रो हुन्छ,” ब्लुथ भन्छन्।

तस्बिर स्रोत, Getty Images
अमेरिकी तथ्याङ्कका अनुसार चीनसँग अन्तरिक्षमा आधारित लगभग ३०० भूउपग्रहहरूको वृहत् निगरानी सञ्जाल छ। उक्त सङ्ख्या अमेरिकाको भन्दा दोस्रो धेरै हो।
तर जुसले कहिलेकाहीँ बलुनहरू बढी प्रभावकारी हुनसक्ने बताइन्।
"बलुनहरू निकै सस्ता छन् र छिटो परिचालन गर्न सकिन्छ। भूउपग्रहहरू अनुमानित कक्षहरूमा मात्र घुम्छन् र एकै दिनमा एउटै क्षेत्रमा पटक पटक उड्न सक्छन्। " जुसले भनिन्।
यसअघि भूउपग्रहहरू पनि खसालिएका थिए।
“तर ती राज्यको स्वामित्व रहेका भूउपग्रहहरू थिए। चिनियाँहरूले आफ्नै एउटा भूउपग्रहमाथि प्रहार गरेका थिए। रुसीहरूले पनि त्यस्तै गरेका छन्। कसैले पनि अरू कुनै देशको भूउपग्रह खसालेका छैनन्," उनले थप जानकारी दिइन्।
जुसले आजभोलि ड्रोनहरूको व्यापक प्रयोगबारे पनि चर्चा गरिन्। यद्यपि तिनीहरू प्रायः सम्बन्धित देशबाट बिरलै अन्यत्र उड्छन्।
तर शीतयुद्धको समयमा निगरानीका अन्य माध्यमहरू प्रयोग गरिँदा स्थिति त्यस्तो थिएन।
शीतयुद्धले खुफिया अभ्यासबारे नयाँ नियमहरू ल्यायो।
"जासुसी विमान पठाउनुलाई स्पष्ट रूपमा भौगोलिक सीमा उल्लङ्घन गर्ने कार्य समान मानियो। त्यस्तै अवलोकनका लागि प्रयोग हुने भूउपग्रहहरूको प्रयोगलाई अन्तर्राष्ट्रिय कानुन उलङ्घन भएको नमान्ने र अनुमति दिने भनिएको थियो," ब्लुथले थप भने।
तर खुफिया जानकारी सङ्कलनका लागि उडने वस्तु प्रयोग गर्नु "एक जटिल विषय" भएको उनी बताउँछन्। "केही वस्तुहरूलाई अनुमति दिइएको छ र केहीलाई छैन। विदेशी बलुनहरूलाई अमेरिकी सरकारले आफ्नो आकाशमा उड्ने अनुमति दिँदैन," उनले भने।
तर जासुसी विमानहरू आज पनि प्रयोग गरिने ब्लुथले बताए।
"संयुक्त राज्य अमेरिका स्वयंले थुप्रै जासुसी विमानहरू प्रयोग गर्छ। ती विमानहरू अन्य देशहरूको क्षेत्र वरपर छन्। त्यस्ता विमान खसालिएका घटनाहरू पनि छन्। एक अमेरिकी विमान चीनमा खसालिएको थियो र त्यो एक कूटनीतिक घटना थियो जसबारे बुश सरकारमा रहँदा केही समयसम्म चर्चा भयो,” ब्लुथले भने।
परिणामहरू कस्ता हुन सक्छन्?

तस्बिर स्रोत, Reuters
आकाशमा उडिरहेका चार वटा वस्तु खसालेपछि अमेरिकी सेनाले उच्च सतर्कता अपनाएको छ।
पहिलो बलुन खसालिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको बेइजिङ भ्रमण रद्द भएको थियो।
चीनले उक्त वस्तु जासुसी प्रयोजनको निम्ति नभई मौसम अनुगमन गर्न छाडिएको उपकरण भएको बताएको थियो।
सोमवार चीनको विदेश मन्त्रालयले, अमेरिकाले गत वर्ष मात्रै आफ्नो हवाई क्षेत्रमा १० पटक भन्दा बढी बलुनहरू उडाएको बताएको थियो।
अमेरिकी अधिकारीहरूले हालसम्म अज्ञात रहेका तीन वस्तुहरूको उद्देश्य खोजिरहँदा, ब्लुथले भने खुफिया जानकारी सङ्कलन गरिरहेका हुन् भन्ने प्रमाण नहुँदा उनीहरू गैरसैनिक हुनसक्ने आकलन गरेका छन्।
"उनीहरू वायुमण्डलको तल्लो तहमा थिए र तिनीहरूलाई तल खसाल्नुको उद्देश्य सम्भवतः व्यावसायिक हवाई उडानलाई असहज बनाएको हुनसक्ने भएर हो," उनले भने।
बलुन प्रकरणले नयाँ नियमहरू अघि सार्न सकिने ब्लुथले ठानेका छन्।
"समयसँगै संयुक्त राज्य अमेरिकाले चीनसँगको तनाव कम गर्न र त्यस्ता बलुनहरू उडाउने कार्यलाई अनुमति नदिन कुनै किसिमको सम्झौता गर्नेछ। यदि कुनै किसिमको मौसमी बलुन वा गैरसैनिक उड्ने वस्तुहरू अमेरिकी हवाई क्षेत्रमा प्रवेश गर्दै छन् भने, त्यहाँ कुनै किसिमको सूचना प्रणाली राखिनु पर्छ, " उनले थप भने।
"मानिसहरूले तिनीहरूलाई नदेखेसम्म खुफिया जानकारी सङ्कलन गर्ने वस्तुहरूको बारेमा सायदै सोच्छन्" त्यसैले उक्त सन्दिग्ध चिनियाँ जासुसी बलुनका कारण आम मानिस क्रुद्ध बनेको अनुसन्धान विश्लेषक जुसको राय छ।
"मलाई लाग्छ मानिसहरूले माथि कति वटा भूउपग्रहहरू छन् र तिनीहरूले प्रत्येक दिन कसरी तस्बिरहरू कैद गरिरहेका छन् वा अन्य खुफिया जानकारीहरू सङ्कलन गरिरहेका छन् भन्ने कुरा बिर्सन्छन्," उनले भनिन्।








