जेलेन्स्की भन्छन्- शान्ति सम्झौताका लागि रुसलाई ‘हाम्रो कुनै पनि भूभाग छाड्दैनौँ’

जेलेन्स्की

तस्बिर स्रोत, EPA

    • Author, जोन सिम्पसन र जेम्स वाटरहाउस
    • Role, बीबीसी न्यूज, किएभ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको सम्भावित शान्ति सम्झौतामा आफ्नो देशको कुनै पनि भूभाग नत्याग्ने बताएका छन्।

रुसले पूर्ण मात्राको आक्रमण सुरु गरेको एक वर्ष भएका बेला बीबीसीसँगको अन्तर्वार्तामा उनले भूमि दिने कुरा स्वीकार गर्नुको अर्थ रुस फेरि "फिर्ता आउन सक्छ" भन्ने रहेको चेतावनी दिए।

उनका दाबीमा पश्चिमा देशहरूले युक्रेनलाई दिएका अस्त्रका कारण शान्तिलाई नजिक ल्याउनेछ।

जेलेन्स्कीले वसन्त ऋतुमा हुनसक्ने सम्भावित आक्रमण अहिले नै सुरु भइसकेको बताए।

"अहिले नै विभिन्न दिशाबाट रुसी आक्रमण भइरहेका छन्," उनले भने।

सैन्य सहायताका लागि पुन: आह्वान

उनी युक्रेनी सैनिकहरूले उनीहरूले प्रत्याक्रमण सुरु गर्नसक्ने बेलासम्म रुसी विस्तारको गतिलाई रोक्ने कुरामा विश्वस्त देखिए।

यद्यपि उनले पश्चिमी देशहरूलाई सैन्य सहायताका लागि पुन: आह्वान गरे।

"निस्सन्देह रूपमा परिष्कृत र आधुनिक अस्त्रले मात्र शान्तिलाई गति दिन्छ। अस्त्रको भाषा मात्र रुसले बुझ्ने भाषा हो," जेलेन्स्कीले बीबीसीसँग भने।

राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय समर्थन मजबुत बनाउन र आफ्नो देशको रक्षाका लागि आधुनिक हतियार माग्ने प्रयासमा गत साता ब्रिटेन र ईयूका नेताहरूसँग भेटेका थिए।

युक्रेनका राष्ट्रपतिले अत्याधुनिक लडाकु विमानको माग गर्दा ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले भनेका थिए, “कुनै पनि कुरा छलफलभन्दा बाहिर छैन।”

तर पश्चिमी देशहरूले उपलब्ध गराउने हतियार जुन गतिमा युक्रेन पुगिरहेका छन् त्यो गतिबाट किएभ निराश भएको छ।

किएभको निराशा

गत महिना जर्मनी, अमेरिका र ब्रिटेन लगायतका पश्चिमी देशहरूले दिने प्रतिबद्धता जनाएका युद्धमा प्रयोग हुने ट्याङ्कहरू अझै पनि युद्धको मैदानमा पुग्न केही साता लाग्ने देखिएको छ।

राष्ट्रपति जेलेन्स्कीले बेलारुसका राष्ट्रपतिले युक्रेनी इलाकाबाट आफ्नो देशमा एउटा मात्र युक्रेनी सैनिक छिरे पनि रुसी सेनालाई आफ्नो देशभित्रबाट युक्रेनमा हमला गर्न दिन्छु भनेको कुरालाई पनि सम्बोधन गरे।

"मलाई आशा छ [बेलारुस] [युद्ध] मा सामेल हुनेछैन," उनले भने।

"यदि त्यस्तो भयो भने हामी लड्नेछौँ र हामी टिक्नेछौँ।"

रुसलाई बेलारुसले फेरि आक्रमणका लागि आफ्नो भूमि प्रयोग गर्ने अनुमति दिनु "ठूलो गल्ती" हुने उनको भनाइ छ।

रुसी सेनाले १२ महिनाअघि आफ्नो पूर्ण आक्रमणका केही कारबाहीहरू बेलारुसबाट सुरु गरेको थियो।

उनीहरू युक्रेनको राजधानी किएभ पुग्नका लागि दक्षिणतिर लागेका थिए तर ठूलो क्षति भोगेपछि उनीहरूसँग युद्ध भयो र केही साताभित्रै पछि हट्न बाध्य भए।

युद्धमा रुसको कार्यनीति देखेर उनी चकित छन् कि भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले त्यसलाई "मूल्यहीन" भने।

रुसी सेनाको मृत्यु

यस साता जारी गरिएको युक्रेनी तथ्याङ्कले युक्रेनमा रुसी सेनाको आक्रमण भएको पहिलो सातायता कुनै पनि समयको तुलनामा यस महिना धेरै सङ्ख्यामा रुसी सैनिकहरूको मृत्यु भएको देखाएको छ।

ती विवरणलाई प्रमाणित गर्न सकिँदैन तर ब्रिटेनको रक्षा मन्त्रालयले प्रवृत्तिहरू हेर्दा त्यो "सम्भवतः सही" भएको हुनसक्ने बताएको छ।

उनले आफूहरू अस्तित्व रक्षाका लागि लडिरहेको दोहोर्‍याए।

आफ्नो देश आर्थिक र अन्य मूल्य मान्यताका आधारमा युरोपतर्फ फर्किएको उनले बताए।

उनले आफूहरूले नै अहिलेको बाटो रोजेको बताउँदै आफ्नो भूभागमामा गरिने कुनै पनि सम्झौताले देशका रूपमा आफूहरूलाई कमजोर पार्नेमा जोड दिए।

"यो आफैँमा सम्झौताको कुरा मात्र होइन," उनले भने।

"हामी किन त्यसबाट डराउने? जीवनमा हरेक दिन हाम्रा कैयौँ सम्झौताहरू हुन्छन्।”

"यो प्रश्न को सँगसम्बन्धित छ? पुटिनसँग? होइन। किनभने त्यसबारे कुनै विश्वास छैन। उनीसँग वार्ता? हुन्न। किनभने त्यहाँ कुनै विश्वासको अवस्था छैन।"