अमेरिकाले युक्रेनलाई एफ-१६ लडाकु विमान नदिने

तस्बिर स्रोत, Getty Images
युक्रेनी अधिकारीहरूले पटकपटक आग्रह गरेको भए पनि अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा एफ-१६ लडाकु विमान पठाउने सम्भावना नरहेको बताएका छन्।
एक सञ्चारकर्मीले के अमेरिकाले युक्रेनलाई ती विमानहरू उपलब्ध गराउँछ भनेर प्रश्न गर्दा बाइडनले मात्र "होइन" भनेर उत्तर दिए।
जर्मनीले पनि युक्रेनलाई लडाकु विमान पठाउन अस्वीकार गरेको थियो। त्यसको एक दिनपछि अमेरिकी नेतृत्वबाट पनि त्यस्तो प्रतिक्रिया आएको हो।
युक्रेनले रुससँगको युद्धमा आफ्नो हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न ती विमानहरू आवश्यक रहेको जनाएको छ ।
'एफ-१६ फाइटिङ फाल्कन'लाई विश्वको सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ। यो विमान बेल्जियम र पाकिस्तानजस्ता देशहरूले प्रयोग गर्छन्।
युक्रेनले हाल सोभियत युगका लडाकु जेट विमानहरू प्रयोग गरिरहेको। ती विमान ३० वर्षभन्दा पहिले युक्रेनले सोभियत सङ्घबाट स्वतन्त्र भएको घोषणा गर्नुअघि बनेका थिए।
लडाकु विमान दिन युक्रेनले गरेको अनुरोध जो बाइडनले बारम्बार अस्वीकार गर्दै आएका छन्। उनले अरू किसिमका सैन्य सहायता उपलब्ध गराउँदै आएका छन्।
गत साता संयुक्त राज्य अमेरिकाले किएभलाई ३१ वटा एब्रम्स एमवन ट्याङ्क उपलब्ध गराउने घोषणा गरेको थियो। यूके र जर्मनीले पनि त्यस्तै प्रतिबद्धता जनाएका छन्।
युक्रेनका उपविदेशमन्त्री आन्द्री मेल्निकले उक्त घोषणालाई स्वागत गरेका छन्। उनले सहयोगी राष्ट्रहरूलाई लडाकु विमानका लागि पनि "गठबन्धन" बनाउन आग्रह गरेका छन्। उक्त गठबन्धनले युक्रेनलाई युरोफाइटर, टोर्नेडो, फ्रान्सेली रफाएल र स्वीडिश ग्रिपेन जेटहरू पनि उपलब्ध गराओस् भन्ने किएभको चाहना छ।
युक्रेनलाई भर्खरै लेपर्ड-टू ट्याङ्क पठाउने प्रतिबद्धता व्यक्त भइसकेकाले अन्य सैन्य सहायता पठाउने विषयबारे छलफलको “गम्भीर अर्थ नरहने देखिएको” टिप्पणी जर्मनीका चान्सलरले आइतवार एउटा अन्तर्वार्तामा गरेका छन्।
ओलाफ शोल्ट्सले जर्मन पत्रिका 'टागेस्स्पीगल' सँगको कुराकानीका क्रममा नेटो सैन्य गठबन्धन रुससँग युद्धमा नरहेको र उसले "यस्तो गतिविधि झन् बढ्न नदिने" बताए।
मस्कोले नेटोलाई युद्धका लागि उक्साएको आरोप लगाउँदै आएको छ।
त्यसले संयुक्त राज्य अमेरिका र जर्मनलगायत नेटो सदस्यराष्ट्रहरू द्वन्द्व बढ्न सक्ने सम्भावनाका कारण सैन्य सहायता उपलब्ध गराउन हिचकिचाउँदै आएका छन्।
द नेदरल्यान्ड्सलगायत युरोपेली सङ्घका अन्य सदस्यराष्ट्रहरूले पनि लडाकु विमान पठाउने वा नपठाउने भन्ने विषयबारे अझै ठोस प्रतिक्रिया दिएका छैनन्।
तर पोल्यान्डले भने नेटोसँगको समन्वयमा लडाकु विमान उपलब्ध गराउन तयार रहेको सङ्केत गरेको छ ।














