युक्रेनमा रुसी सेनाका कमाण्डर किन फेरिए?

तस्बिर स्रोत, Getty Images
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डरलाई जिम्मेवारी सम्हालेको तीन महिनामै हटाएका छन्।
चीफ अफ जेनरल स्टाफ भलेरी गुरासिमफले अब पुटिनले भन्ने गरेको "विशेष सैन्य कारबाही"को नेतृत्व गर्नेछन्।
उनले पछिल्ला दिनमा युक्रेनका ऊर्जा पूर्वाधारमा निर्दयी हमलाहरूका नेतृत्व गर्ने सर्गेई सुरोभिकिनलाई विस्थापित गरेका छन्।
रुसीहरूले पछिल्ला महिनामा युक्रेनमा शृङ्खलाबद्ध क्षतिहरू बेहोरेका थिए।
तर हालैका दिनमा पूर्वी युक्रेनमा प्रगति हासिल गरिरहेको दाबी गरिरहँदा सैन्य नेतृत्वमा यस्तो परिवर्तन देखा परेको हो।
यसअघिका कमाण्डर कस्ता थिए?
रुसले २४ फेब्रुअरीमा युक्रेनमा अतिक्रमण सुरु गरेको थियो।
सन् २०१२ यता उक्त पदमा रहेका जेनरल गुरासिमफ सोभियत सङ्घको समयपछि सबैभन्दा लामो समय रुसका चीफ अफ जेनरल स्टाफ हुने व्यक्ति हुन्।
हाल उनका सहायक रहेका जेनरल सुरोभिकिन उनका यसअघिका युद्धका निर्मम शैलीका लागि चिनिन्छन्। जो सिरियामा रुसी अपरेसनमा र खासगरी अलेपोमा भएको भारी बमबारीका लागि जिम्मेवार थिए।
अक्टोबरमा उनले युक्रेनमा ‘सैन्य कारबाही’को जिम्मेवारी लिएपछि रुसले त्यहाँ ऊर्जा पूर्वाधार ध्वस्त पार्ने काम अभियानकै रूपमा सञ्चालन गरेको थियो।
दशौँलाख युक्रेनी नागरिकहरूले त्यसका कारण मध्य जाडोमा लामो समय बिजुली र पानीको आपूर्तिको अभाव झेलेका थिए।
उनकै नेतृत्वका बेला युक्रेनको दक्षिण सहर खेअर्सनबाट रुस पछाडि हटेको थियो जसलाई युक्रेनीहरूले आफ्नो एउटा मुख्य सफलता बताउने गरेका छन्।
कमाण्डर फेरिनुका कारण

तस्बिर स्रोत, Reuters
रुसको रक्षा मन्त्रालयले जेनरल सुरोभिकिनलाई विस्थापित गर्ने काम "रुसी फौजका विभिन्न अङ्गहरूबिच निकट सम्बन्ध बनाउन र रुसी फौजको गुणस्तर र प्रभावकारितालाई व्यवस्थापन गर्नु" रहेको जनाएको छ।
तर कतिपयले उनले धेरै शक्ति सञ्चय गरिरहेको हुनसक्ने आकलनका बीच यस निर्णय लिइएको ठान्छन्।
"युक्रेनमा एकीकृत कमाण्डरका रूपमा सुरोभिकिन निकै शक्तिशाली बनिरहेका थिए र उनले पुटिनसँग कुरा गर्दा [रुसी रक्षामन्त्री सर्गेई] शोइगु र गुरासिमफलाई छल्न सक्ने सम्भावना थियो, " सैन्य विश्लेषक रब लीले ट्विटरमा लेखेका छन्।
केही हकी स्वभावका रुसी ब्लगरहरू छन् जसले युद्धको समर्थन गरे तापनि त्यसको सञ्चालनका विषयमा रुसी सैनिक नेतृत्वको आलोचना गर्छन्।
उनीहरूको आलोचनामा जेनरल गुरासिमफ समेत छुट्दैनन्।
कस्तो बेला यो निर्णय भएको छ?
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
बुधवारको घोषणा सोलेदार नगरमा लडाइँ जारी रहेका बेला आएको हो।
सोलेदार मस्कोको नियन्त्रणमा जानु भनेको रुसी फौजहरूले त्यहाँबाट १० किलोमिटर दक्षिण-पश्चिममा पर्ने रणनीतिक सहर बक्मुदमा हमलाका लागि सहयोग पुग्नु हो।
त्यहाँ उनीहरूले बक्मुद सहरभित्र हमला गर्नका लागि सुरक्षित आधार पाउँछन्।
सोलेदारमा भूमिगत नुनखानीहरू छन् जहाँ युक्रेनी क्षेप्यास्त्रहरूबाट बच्दै सैनिकहरू राख्न, बन्दोबस्तीका सामानहरू भण्डारण गर्न सकिन्छ।
रुसको भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले त्यहाँ बमबारीका लागि श्रेय लिएको छ।
मङ्गलवार राती उक्त समूहका नेता येभ्गेनी प्रिगोजिनले आफ्ना फौजले सोलेदारमा पूर्ण नियन्त्रण जमाएको बताएका थिए।
यद्यपि बुधवार रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक विज्ञप्ति उनको दाबीसँग मेल खाँदैन। अथवा त्यहाँ वाग्नर समूहका फौज मात्र संलग्न भएको हुनसक्छ।
जसले गर्दा प्रिगोजिनले बुधवार साँझ पुनः आफ्नो दाबी दोहोर्याउनु परेको थियो।
टेलिग्राममा एउटा संक्षिप्त वक्तव्य जारी गर्दै उनले आफ्ना सैनिकहरूले झण्डै ५०० युक्रेन पक्षधर सैनिकहरू मारेको दाबी गरेका थिए।
उनले लेखेका छन्, "पूरा सहरभरि युक्रेनी सैनिकका शव यत्रतत्र छरिएका छन्।"
युक्रेनले समेत हालै उस्तै प्रकृतिको वक्तव्य जारी गर्दै रुसी शवहरूको चाङ रहेको जनाएको थियो।
ती दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
अमेरिकामा रहेको म्याक्सार टेक्नोलोजिज कम्पनीले सार्वजनिक गरेको अगस्ट र ज्यानुअरीको सुरुवाती दिनका तस्बिरमा त्यहाँ हालैका दिनमा भएको क्षतिको एउटा प्रारूप देखिन्छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने सोलेदारमा आफ्नो नियन्त्रण गुमेको कुरा अस्वीकार गरेका छन्।











