युक्रेन युद्ध: सन् २०२३ मा के होला भन्ने बिषयमा समीक्षा गर्नुपर्ने ५ मुख्य प्रश्न

तस्बिर स्रोत, Getty Images
आगामी फेब्रुअरीमा युक्रेन युद्ध सुरु भएको एक वर्ष पुग्नै लाग्दा सन् २०२३ युक्रेनमा थप युद्ध चर्कने, नयाँ प्रतिबद्धताहरू थपिने वा निर्दयी गतिरोधको अवस्था जारी रहने, के होला?
बीबीसीका रुस मामिला सम्पादक स्टीभ रोजनबर्ग र अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बउअनले आफ्ना विचार बीबीसीको टुडे कार्यक्रममा व्यक्त गरेका छन्।
महिनौँको थकानयुक्त लडाइँ र दुवैतर्फ भइरहेका दुर्भाग्यपूर्ण क्षतिपछि के रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमा युद्धको खिन्नता देखिन्छ?
स्टीभ रोजनबर्ग: "खिन्नता छैन, छैन - त्यसको सङ्केत छैन। रुसी राष्ट्रपतिको नयाँ वर्षको सन्देशमा हामीले पुटिन यतिखेर कहाँ छन्, के सोचिरहेका छन् र सन् २०२३ मा उनले रुसलाई कहाँ लैजान खोजिरहेका छन् भन्ने भेउ पाउन सक्छौँ।

तस्बिर स्रोत, Getty Images
"उनले वास्तवमा के भने भन्ने कुरालाई अलग्गै राख्ने हो भने दृश्यहरूले वास्तवमै सबै कुरा भनिरहेका छन् भन्ने लाग्छ। किनभने जब उनले आफ्नो भाषण गरिरहेका थिए उनी पछाडी बर्दी पोशाक लगाएका पुरूष र महिलाहरू उदास अनुहारमा देखिन्थे। त्यो धेरैको ध्यान आकृष्ट गर्ने तस्विरले देशलाई भनिरहेको थियो: 'यो तपाईँहरूको अहिलेको देश हो। यो सन् २०२३ को रुस हो - युद्धमा रहेको देश।'
उनले यसलाई युद्ध नभनिरहे तापनि यो त्यस्तो देश हो जहाँ सबथोक युक्रेन, नेटो, पश्चिमा विश्वमाथि सैन्य जित हासिल गर्न लागिपरेका छन्।
जहाँ सबै यी उद्देश्यमा सघाउन भन्ने अपेक्षा गरिएको छ र उनीहरूबाट उच्चतम त्यागका लागि तयारी खोजिएको छ - यसबारे कुनै बहस, छलफल आवश्यक छैन। झण्डाको वरपर घुम्नु र तपाईँका नेताको रूपमा मेरो वरपर घुम्नु।
ती दृश्यहरू मात्र थिए र जब तपाईँले उनले वास्तवमै भनेको कुरा सुन्नुहुन्छ भने त्यसमा कुनै मेलमिलापको कुरा छैन, सम्झौताको सङ्केत भेटिँदैन, 'यस भद्रगोलबाट मुक्ति खोजौँ' भन्ने आभास देखिँदैन।
यो राष्ट्रपतिको जित सुनिश्चित गर्ने मनसाय हो। या त उनले साँच्चिकै जित सम्भव छ भन्ने विश्वास गर्छन् वा यस अवस्थामा उनी पछाडी फर्कन नसक्ने ठान्छन्।
र यतिखेर पुटिनसँग रहेको विकल्प भनेको अगाडि बढिरहनु र उनीलाई लाभ हुनेगरी के परिवर्तन होला भन्ने आशा गर्नु मात्र रहेको हुनसक्छ।
युक्रेनीहरूले के सोचिरहेका छन्? के उनीहरू पनि लड्नका लागि दृढ छन्?

तस्बिर स्रोत, Reuters
जेरेमी बउअन : "[युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चर्चा गरिरहेको बिषय] भनेको आफूहरूले गुमाएका जमिन फिर्ता ल्याउनु हो - र त्यसमा उनले सन् २०१४ मा गुमाएको एउटा विशाल प्रान्त क्राइमियाको समेत कुरा गरेका छन्।
यतिखेर जेलेन्स्कीले आफूलाई उत्कृष्ट युद्धकालिन नेताका रूपमा प्रस्तुत गरेका छन्। तर उनीहरूले के कति सफलता हासिल गर्न सक्छन् भन्ने प्रश्न नेटो र खासगरी अमेरिकाबाट प्राप्त हुने सहायतासँग गएर जोडिन्छ। हाइमार्सजस्ता परिस्कृत क्षेप्यास्त्र प्रणालीले धेरै क्षति पुर्याएका समेत छन्।
तर वासिङ्टनमा राष्ट्रपति बाइडन भने युक्रेनलाई हार्न दिन नहुने भन्दै त्यसका लागि उसलाई साथ दिइनुपर्ने बताइरहेका छन्। उनले साँच्चिकै परमाणु अस्त्रको जोखिम देखा पर्नेगरी रुसलाई त्यति धेरै कुनामा पुर्याउन नहुने समेत भन्दै आएका छन्।
यतिखेर युक्रेनीहरूले आफ्ना गुमेका जमिन पुन:प्राप्तिका लागि निकै धेरै हमला गर्नसक्ने शक्ति आवश्यक पर्ने बताउँदै आएका छन्। रुसीहरू दक्षिणी सहर खेअर्सनबाट पछाडि हटिरहँदा म युक्रेनमा थिएँ। त्यस क्षेत्रमा रहेका मैले कुरा गरेका सबै कमाण्डरहरूले युद्ध चाहे जसरी जित्नका लागि निकै धेरै हमला गर्ने शक्ति हुनुपर्ने बताएका छन्। जसमा उनीहरूले आधुनिक ट्याङ्क, विमानहरू मागिरहेका छन् र ती उनीहरूले नपाइरहेका सामग्री हुन्।"
के युक्रेनका लागि वैदेशिक सहायता घट्ला?

तस्बिर स्रोत, Reuters
स्टीभ रोजनबर्ग: "मलाई लाग्छ त्यो [पुटिनको] मूल्याङ्कनको एउटा पाटो हो। किनभने २४ फेब्रुअरीपछि जति खराब अवस्थाहरू आए तापनि उनले आफूसँग बलिया कार्डहरू भएको ठान्छन् र मलाई लाग्छ पश्चिमा विश्वले युद्धबाट थकित भएर युक्रेनका लागि सहायता कम गर्न थाल्नेछ।
त्यहाँ अनेकखाले हल्ला र अनुमानहरू चलिरहेका छन्। जस्तो, बसन्त यामसँगै रुसी फौजले पुन: हमलाका गति बढाउने सम्भावना, सैन्य परिचालनको नयाँ लहरका कुरा। तर [युक्रेनमा] अधिकारीहरू त्यसबाट प्रभावित देखिन्नन् र जितकै कुरा गरिरहेका छन्।"
जेरेमी बउअन: "नोभेम्बरमा अमेरिकी सेनाको ज्वइन्ट चीफ अफ स्टाफका प्रमुख जेनरल मार्क मिलिले क्राइमियालाई पुन: कब्जा गर्ने काम कठिन हुने बताएका थिए। मलाई लाग्छ सायद उनले त्यसका लागि जोड नदिइएको बताएका थिए। तर अहिले छिट्टै उनी त्यस भनाइबाट पछि हटेका छन्। तर तथ्य के हो भने उनले त्यस्तो भनेकै थिए।"
रुसलाई सहायता गर्नेबारे के कुरा छ?
स्टीभ रोजनबर्ग: "अहिलेको अवस्थामा क्रेमलिनबाट आउने अभिव्यक्ति र धरातलीय यथार्थमा सामञ्जस्य छैन।
एकातर्फ पुटिनले देशलाई नयाँ वर्षको सन्देश सुनाउँदै जिततर्फ लम्किरहेको बताउँछन्, र त्यसको केही मिनेटमा -वास्तवमै- युक्रेनले ठूलो क्षति पुर्याउनेगरी म्याकिइभकाको ब्यारेकमा क्षेप्यास्त्र हमला गर्छ।

तस्बिर स्रोत, Reuters
मैले असामञ्जस्यताको कुरा गरे तापनि हामीले देखिरहेको कुरा यथार्थ हो जसबारे हामीले झण्डै एक वर्षदेखि चर्चा गरिरहेका छौँ।
यदि तपाईँ सन् २०२३ मा रुस कस्तो हुन्छ भन्ने जान्न चाहनुहुन्छ भने त्यसको जवाफ एकदमै गञ्जागोल हुन पुग्छ। अवस्था 'युद्ध नै शान्ति हो, अज्ञानता नै ताकत हो' भन्नु पर्ने जस्तो भद्रगोलको छ।
क्रेमलिनले यसप्रकारको 'वैकल्पिक तथ्य' बनाइरहेको छ जुन दिनभर सरकारी मिडियामा देखाइन्छ। जसमा रुसलाई पीडितको रूपमा र पश्चिमालाई युद्ध सुरु गर्ने हमलाकारीका रूपमा प्रस्तुत गरिएको छ।"
के दुवै पक्षले कुनै सम्झौताबारे पनि सोचिरहेका छन्?
जेरेमी बउअन : "के लडाइँ बिसाउनका लागि वार्ता गर्न केही आधारहरू छन्? मलाई त्यस्तो लाग्दैन किनभने पुटिनलाई कि लडाइँ जित्छु भन्ने लाग्छ वा जेसुकै भए तापनि यसलाई जारी राख्नुपर्नेमा उनी विश्वस्त देखिन्छन्।

तस्बिर स्रोत, Getty Images
र युक्रेनीहरू जित्नेमा विश्वस्त छन् र यति ठूलो रक्तपात र क्षति बेहोरेपछि उनीहरू आफूले नचाहेको सहुलियत स्वीकार गर्ने अवस्थामा पुग्न चाहँदैनन्।
युद्ध सुरु भएयता जेलेन्स्कीको अभिव्यक्तिको लय समेत फेरिएको छ।
मार्च महिनाको सुरुवाती केही सातामा जतिखेर राजधानी किएभ रुसीहरूको साँच्चिकै त्रासमा थियो त्यसबेला उनको भनाइ " मान्छेको ज्यान महत्त्वपूर्ण, निकै महत्त्वपूर्ण रहेको, र त्यो सायद भूभाग भन्दा पनि बढी महत्त्वपूर्ण हो " भन्ने जस्तो हुन्थ्यो।
यतिखेर भने उनीहरू आफ्नो देशको प्रत्येक वर्ग इन्च जमिन फिर्ता चाहन्छन् र रुसीहरू वार्तामा बस्न चाहन्छन् भने तिनीहरू फिर्ता जानु पर्छ भन्दैछन्।"






















