रुसद्वारा युक्रेनी नुनखानीहरूको सहर सोलेदार कब्जा गरेको दाबी, किएभ चाहिँ के भन्छ?

युक्रेन

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

रुसले महिनौँको भिडन्तपछि युक्रेनी नुन खानीहरूको नगर सोलेदार आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ - जसलाई मस्कोले आक्रमणमा "महत्त्वपूर्ण कदम" बताएको छ।

उक्त जितले रुसी फौजलाई नजिकैको ठूलो युक्रेनी सहर बख्मुतका लागि आपूर्ति मार्ग अवरुद्ध पार्न सघाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

मस्कोस्थित रक्षा मन्त्रालयले भनेको छ, "अब रुसी फौजले महिनौँदेखि आक्रमण गरिरहेको बख्मुत सहरमा युक्रेनी फौजलाई सम्पर्क विच्छेद गर्दै एक्ल्याउन सक्ने अवस्था बनेको छ।"

युक्रेनी अधिकारीहरूले भने सोलेदारमा लडाइँ जारी रहेको भन्दै रुसले ‘सूचनाको हल्ला’ मच्चाएको आरोप लगाएका छन्।

सोलेदार र आसपास भएका लडाइँ यस युद्धकै सबैभन्दा रक्तपातपूर्ण मध्येका छन्।

अवस्था

युक्रेन

तस्बिर स्रोत, Maxar Technologies

यस साताको सुरुमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले आफ्ना फौजले सोलेदार कब्जा गरेको दाबी गरेको थियो। जुन कुरा रुसी रक्षा मन्त्रालयको भनाइसँग बाझ्न पुगेको थियो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको अवस्था बताउन यसै साता नगरमा बिरलै कुनै भित्ता सद्दे रहेको जनाएका थिए।

उनका चीफ अफ स्टाफले सोलेदार र बख्मुतका लागि भएका लडाइँ पहिलो विश्वयुद्धको सबैभन्दा पीडादायीमध्येको फ्रान्सेली सहर भेर्दनमा भएको लडाइँसँग तुलना गरेका छन्।

बिहीबार त्यहाँका क्षेत्रीय गभर्नरले १५ जना बालबालिकासहित ५५९ सर्वसाधारण सहरमा बाँकी रहेको र उनीहरू निस्कन नसकेको बताएका थिए।

रुसी सेनाका लागि सोलेदारको महत्त्वबारे सैन्य विश्लेषकहरूले फरक-फरक धारणा राखेको पाइन्छ।

तर १० महिना लामो युद्धमा महिनौँ हार र क्षति बेहोरिरहेको मस्कोका लागि यो एउटा जितको रूपमा हेर्न सकिनेछ।

वास्तविकता के हो?

युक्रेन

तस्बिर स्रोत, Reuters

अमेरिकामा रहेको इन्स्टिच्युट फर द स्टडी अफ वारले केही घण्टाअघि रुसी फौजले सोलेदार कब्जा गरेजस्तो देखिएको जनाएको थियो।

तर उक्त थिङ्क ट्याङ्कले उनीहरू त्यसपछि बख्मुत घेर्न जान सक्लान् भन्नेमा आफूलाई विश्वास नलागेको जनाएको छ।

युक्रेनको पूर्वी सैन्य कमाण्डका प्रवक्ताले सोलेदारमा रुसले सबैभन्दा राम्रा भाडाका लडाकु र अन्य टुकडीहरू पठाएको जनाएका छन्।

तर ती प्रवक्ताले सहर रुसीहरूको नियन्त्रणमा गएको कुरालाई अस्वीकार गरे।

उनले भने: "हामीले थप विवरण दिएर हाम्रा फौजको रणनीतिक अवस्थिति खुलाउन चाहन्नौँ।"